भारतको बाटो हुँदै हङकङसम्म मानव तस्करी

0
112

-पूर्वजनप्रतिनिधि नै यस्तो धन्दामा
-दुई जना भारतीय प्रहरीको फन्दामा

बिर्तामोड।

पूर्वी नाका काँकरभिट्टा हुँदै हङकङतर्फ घरेलु कामदारको रुपमा मानव तस्करी हुने गरेको खुलेको छ ।

नेपालबाट घरेलु कामदारका रुपमा हङकङ जान नपाएपछि तस्करले भारतीय प्रमाणपत्र तयार गरी हङकङतर्फ पठाउने गरेको खुलेको हो ।

भारतीय प्रहरीले पानीट्याङ्कीबाट संखुवासभाका सात जना युवतीको उद्धार गर्नुका साथै दुई जना तस्करलाई पक्राउ गरेसँंगै भारतको बाटो भएर मानव तस्करी हुने गरेको खुलेको हो ।

संखुवासभाका पूर्व जनप्रतिनिधिसमेत रहेका जापान गुरुङले युवतीहरुलाई रोजगारीको प्रलोभन देखाई भारतको बाटो हुँदै लैजाने गरेको खुलेको उक्त घटनाल पुष्टि गरेको छ । ४१ औं बटालियन सशस्त्र सीमा बल, रानीडाङ्गाको विशेष गस्ती टोलीले नेपाल–भारत सीमामा अवस्थित पानीट्याङ्कीबाट सात जना युवतीको गत साउन १६ गते उद्धार गरेको थियो ।

भरतीय सीमा सुरक्षा बल एसएसबीको टोली नेपालबाट तस्करीका लागि ल्याइँदै गरेका सात नेपाली युवतीहरूलाई तस्करहरूको पञ्जाबाट उद्धार गर्न सफल भएको हो । उद्धार गरिएका युवतीहरू संखुवासभा जिल्लाका बासिन्दा भएको खुलेको छ । उनीहरुको उमेर १६ देखि २१ वर्षका बीचमा रहेको छ ।

तस्करीमा संलग्न ६१ वर्षीय जापान गुरुङ र ४१ वर्षीय दीपेश गुरुङलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । उनीहरु नेपाल र भारत देशमा मानव तस्करी गर्न सक्रिय रहेको प्रहरीले जनाएको छ । जापान पूर्वजनप्रनिधि भएको खुलेको छ । गाउँमा ‘दादा’ भनेर चिनिने जापानले युवतीहरूका आमाबाबुलाई प्रलोभनमा पारेर उनीहरूबाट एक लाखदेखि डेढ लाखसम्म नेपाली रुपैयाँ असुलेको बताइएको छ । तर, युवतीका अभिभावकले यो कुरा खुलाएका छैनन् । तीन जना युवतीको भारतीय ठेगानामा नक्कली आधार कार्ड, प्यान र मतदाता परिचय पत्र बनाइसकेको खुलेको छ । भारतीय कागजात तयार पारेर उनीहरुलाई हङकङ पठाउने योजना रहेको प्रहरी स्रोत बताउँछ ।

भारतीय प्रहरीले थप गम्भीर ढंगबाट अनुसन्धान गर्न भन्दै सात नेपाली युवती र दुई जना मानव तस्करलाई खोरीबारी प्रहरी चौकीमा राखेको छ । भारतीय प्रहरीले कानूनी कारबाही शुरु गर्दै अदालत मार्फत युवतीलाई भने मंगलबार राति पानीट्याङ्कीमा बोलाएर अभिभावकको जिम्मा लगाएको थियो । एक जना भने नाबालिका रहेको भन्दै उनलाई छुट्टै राखिएको र केही दिनमा नै सबै कानूनी प्रक्रिया पूरा गरेर अभिभावकको जिम्मा लगाउने बताइएको छ ।

यता मानव तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका जापान र दीपेशविरुद्ध थप अनुसन्धान भइरहेको बताइएको छ । प्रहरीको अनुसन्धानबाट युवतीरूलाई जागिरको नाममा हङकङ र अन्य देशहरूमा तस्करी गर्ने योजना अनुरुप पूर्वी नाका कांँकरभिट्टाबाट भारततर्फ लैजाँदै गरेको खुलेको हो । पक्राउ परेका दीपेश ट्याक्सी चालक हुन् ।

यता संखुवासभाको खाँदवारी नगरपालिका नगर प्रमुख महेश थपलियाले पहाडी जिल्लाका स्थानीय तहमा सचेतना अभियान सञ्चालन गरे पनि आफन्तबाटै मानव तस्करी हुने गरेको यस्ता घटनाले पुष्टि गर्ने बताए । उनले भने – विश्वास र रोजगारीको प्रलोभनमा परेर उनीहरु भारतीय बाटो जान राजी भएको हुनसक्छ, जुन अवैध हो । नगर प्रमुख थपलियाले यस्ता विषयमा अझ सशक्त कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

त्यस्तै माइती नेपालका कोशी प्रदेश प्रमुख गोविन्द घिमिरेले रोजगारीको प्रलोभन देखाएर आफन्तबाटै मानव तस्करी हुने गरेको बताए । पूर्वाञ्चलसँग कुरा गर्दै घिमिरेले भने–गुरुङले युवतीलाई धुलावारी, इँटाभट्टा लगायतका स्थानमा ल्याएर राख्ने र समय अनुकूल भएसँगै भारत पु¥याउने गरेको खुलेको छ । काँकरभिट्टामा दर्जनौं संघसंस्था रहे पनि निगरानी गर्दा–गर्दै पनि युवतीहरु बेचिनु दुःखद भएको उनको भनाइ छ । आफन्त र चिनजानको विश्वास र राम्रो कमाइ हुने प्रलोभनमा भारतको बाटो हुँदै विदेश जान तयार हुनु मानव तस्करका लागि सहज भएको उनको भनाइ छ ।

यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले मानव तस्करहरुले विभिन्न जुक्ति अबलम्बन गर्ने भएकाले खुल्ला सीमानाको फाइदा उठाउँदै युवतीहरु भारत पु¥याउने गरेको बताए । उनले पानीट्याङ्कीमा पक्राउ परेका युवतीहरुले आफूहरु घुम्न गएको भन्दै नेपाली नागरिकता देखाएर नै गएकाले त्यस्तो शंका नगरिए पनि भारतीय प्रहरीले पक्राउ गरेपछि तस्करीमार्फत गएको खुलेको बताए । उनले भारतीय प्रहरीले उद्धार गरेका युवतीहरुका अभिभावकलाई भारतमै बोलाएर जिम्मा दिइएको र इलाका प्रहरी कार्यालय कांँकरभिट्टामा सामान्य सोधपुछ गरेर छाडिएको जानकारी दिए ।

सामाजिक अभियन्ता विष्णु आचार्यले आफन्त र चिनजानकै भरमा भारतको बाटो हुँदै विदेश जानु तस्करको जालोमा पर्नु भएको बताए । उनले मानव तस्करहरुले विभिन्न बहानामा चेलीहरु भारत पु¥याउने र भारतीय दलालसँगको समन्वयमा भारतीय प्रमाणहरु तयार गरेर हङकङ लगायतका देशमा घरेलु कामदारका रुपमा पु¥याउने गरेको दावी गरे । उनले मानव तस्करको विषयमा गम्भीर बन्दै सचेतना अभियान सञ्चालन गर्न र वैदेशिक रोजगारीका लागि जाँदा आफ्नै देशको बाटो भएर जान सुझावसमेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here