
रुग्ण ती जीवनका साँसहरु
भरोसामा त्वरित छन् जहाँ,
विलीन हुनेछन् शब्दहरु अनि
स्मृतिहरु मात्रै रहने छन् यहाँ,
तस्वीर रहने छ आँखाभरी नै
अनि कुराहरु सबै बग्नेछन्,
दम्भ ताजको सारा अवशिष्ट
विच्छिन्न हुनेछ क्षणभरी मै,
कारुणिक परिदृश्य हेर्ने छन्
आफन्त रुन्छन् जब वरिपरि,
मर्मज्ञविहीन शब्दांशहरूले
हृदय भेद गर्दछन् घरिघरि,
मनको स्तब्धतालाई हटाऊ
एकांकी बोल न है क्यै तिमी !
अर्थपूर्ण तिम्रो निःशब्द मुहार
अनेक प्रश्नको किताब बन्दछ,
मनमा खेल्छन् उत्तरको तरंग
तथापि सन्देहको धारा बग्दछ,
अनायास कलुषित उत्कण्ठाहरु
विसर्जन गर्देउ अबदेखि पनि,
नैराश्य नै हारको पराकाष्ठा हो
जब स्नेह, करुणा अन्तरमा छ
अरुमा खोज्दै हिँडनु छ कहाँ ?
रुग्ण ती जीवनका साँसहरु
भरोसामा त्वरित छन् जहाँ,
विलीन हुनेछन् शब्दहरु अनि
स्मृतिहरु मात्रै रहने छन् यहाँ ।
बाह्रदशी, झापा



























