म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

0
61
दमौली (तनहुँ), 
तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले  कृषकलाई कोदो खेतीमा आकर्षित गराउन विभिन्न नीति अगाडि सारेको छ ।
यहाँस्थित दुई रोपनी जग्गामा कोदोको बीउ राखिएको वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअगाडि यस ठाउँमा कृषकले एक्लाएक्लै रूपमा कोदो रोप्ने गरेपनि यसपटकदेखि भने सामूहिक रूपमा कोदो खेतीलाई अगाडि बढाइएको उहाँको भनाइ छ ।
उहाँका अनुसार यहाँ गाउँपालिकाको सहयोगमा आठ प्रजातिका रैथाने कोदोको बीउ रोपिएको छ । उहाँले भन्नुभयो, “पहिला पनि यहाँ मकै र कोदो खेती हुन्थ्यो, तर अहिले कृषकलाई सङ्गिठत रूपमा कोदो खेतीमा आकर्षित गर्न खोजेका हौँ ।” माझिलाङ र हर्षपुरमा कोदो खेती हुने गरेको छ ।
म्याग्देका अन्य वडामा भन्दा यस क्षेत्रमा कोदो राम्रो उत्पादन हुने गरेको छ । यहाँका कृषकलाई आवश्यक उपकरण पनि प्रदान गरिएको छ ।
बजारमा कोदोको राम्रो माग रहेको जनाउँदै उहाँले भन्नुभयो, “पहिला पहिला कोदो लुकेर खाने प्रचलन थियो, आजभोलि परिस्थिति फेरिएको छ, हुने खानेले पनि कोदोको प्रयोग गर्ने अवस्था बढेको छ ।”
माझिलाङ कृषक समूहका अध्यक्ष श्याममाया नाम्जाली दुई रोपनी जग्गा भाडामा लिएर सामूहिक रूपमा कोदो रोपिएको जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा छुट्टाछुट्टै रूपमा कोदो खेती गर्ने गरिएको थियो ।
म्याग्दे गाउँपालिकाकाले कोदो खेतीलाई प्राथमिकतामा राखेको जनाउँदै अन्य वडामा पनि यसलाई विस्तार गरिने स्पष्ट पारेको छ । कम लागतमा उत्पादन गर्न सकिने र भण्डारणमा अन्य बालीको तुलनामा कम क्षति हुने भएकाले यसको खेतीमा फाइदा रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here