विदेश जाने बाध्यता हटाऊ

0
76

वैदेशिक रोजगार आमनेपालीको बाध्यता बनेको छ । व्यक्तिका आधारभूत आवश्यकता पूरा नभएपछि आयको विकल्प खोज्नुपर्छ, त्यो मानवीय चरित्र नै हो । देशमा त्यस्तो विकल्प दिने आधार र वातावरण नै नभएपछि आमनेपालीको अन्तिम उपाय वैदेशिक रोजगार बन्न पुगेको छ । खासगरी बहुदलीय शासन प्रणालीको प्रारम्भ भएपछि वैदेशिक रोजगारको बाटो खोलियो र क्रमशः रोजगार खोज्न विदेश जानेहरुको संख्या बढ्दै गयो । त्यसो त वैदेशिक रोजगार आममानिसका लागि रहर होइन निर्विकल्प आधार र बाध्यता हो । परिवार, समाज र देशलाई छाडेर अरुको देशमा पसिना बगाउन कसैलाई रहर लाग्दैन, तर स्वदेशमा रोजगारको अवसर सृजना गर्नेतर्फ सरकार कहिल्यै अघि सरेन । जसका कारण अनेक अवरोध, समस्याका बीच विदेशिनु परेको छ ।

विश्वका धेरै देशका मानिसहरु रोजगारीका लागि अर्को देशमा जाने गरेका छन् । तर, धेरै जनशक्ति, सिप, दक्षता र क्षमताका आधारमा वैदेशिक रोजगारीमा गएका छन् । नेपालको सन्दर्भमा दक्षता हासिल नगरेका र शारीरिक श्रम गर्नसक्ने युवाहरुको संख्या उच्च छ । त्यसकारण पनि विदेशमा रोजगारीमा रहँदा विभिन्न किसिमका दुर्घटनामा परी अङ्गभङ्ग हुनेदेखि मृत्यु हुनेसम्मका घटना निरन्तर बढ्दैछन् । फेरि रोजगारीका लागि पठाउने म्यानपावर व्यवसायी र दलालहरुले आर्थिक शोषण गरेर अवैध बाटोबाट विदेश पठाउने गरेका उदाहरण पनि त्यत्तिकै छन् । महिला हिंसा, असमानता, विभेद र शोषणबाट खासगरी महिलाहरु प्रताडित छन् । युवा जनशक्तिलाई वैदेशिक रोजगारमा प्रोत्साहित तथा व्यवस्थित गर्ने भन्दै ल्याइएको वैदेशिक रोजगार ऐन कामदारको हितमा नभएको टिप्पणी गरिन्छ । अनि पनि वैदेशिक रोजगारी नेपाली युवाको बाध्यता बनिएकै छ । सरकारले आजसम्म पनि युवालाई स्वदेशमै रोक्नेतर्फ प्रभावकारी पहल गरेकै छैन ।

राजनीतिक दलहरु प्रत्येक निर्वाचनमा युवा लक्षित, कार्यक्रम ल्याउने आश्वासन मात्र होइन प्रतिबद्धता जनाउँछन् । तर, जितिसकेपछि वाचा पूरा गर्नेतर्फ सोच्न पनि भ्याउँदैनन् । सरकारको यस्तो अनुत्तरदायी व्यवहारबाट सिर्जित यो अवस्था हाम्रो भविष्यका लागि शुभ संकेत होइन । वैदेशिक मोहले देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पु¥याउँछ । पढे–लेखेका युवाहरुको उच्च शिक्षाका लाग्ने लर्कोले देश रित्तिने जोखिम बढेको छ । कमाउँदै–पढ्दैको नीति अख्तियार नगर्दा अध्ययनकै नाममा अर्बौं रुपैयाँ बाहिरिएको छ । यसले देश अशक्त, असहाय, वृद्ध र निराधार मानिसको बनिने खतरा पनि त्यत्तिकै छ । त्यसैले यस्तो अवस्था रोक्न सरकारले नै शिक्षा र स्वरोजगारका क्षेत्रमा प्रभावकारी नीति र योजना ल्याउनुपर्छ । जसले कम्तीमा पढे–लेखेका युवाहरुको पलायन रोक्न सक्छ, होइन भने वैदेशिक रोजगारका कारण देशकै भविष्य दुर्घटनामा पर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here