झापा ।

इलामको सीमा नाकाबाट भारतीय सिक्किम ब्रान्डका मदिरा (रक्सी) तस्करी अझै रोकिएको छैन ।
पशुपतिनगर लगायत सीमा नाकाबाट अवैध रुपमा भित्रिएको भारतीय रक्सी झापा प्रहरीले बरामद गरेसँगै यस्तो तथ्य खुलेको हो । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले मेची राजमार्ग सडक खण्ड अन्तरगत बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेबाट १५ कार्टुन अर्थात् १५० पिस सिक्किमे गोल्ड मेलन ब्रान्डी नामक रक्सी बरामद गरेको छ ।
इलामबाट झापा आउँदै गरेका सवारीसाधन चेकजाँचको क्रममा बरामद गरिएको रु ६१ हजार ६३२ रुपैयाँ मुल्य बराबरको रक्सी बरामद गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको रक्सी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ । यसअघि पनि पटक पटक इलामबाट ल्याएको सिक्किम ब्रान्डका रक्सी झापा प्रहरीले बरामद गरिसकेको छ ।





























