रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

भारतीय भूतपूर्व सैनिक पेन्सन कागजात प्रमाणिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ।
भारतीय राजदूताबास पेन्सन वितरण कार्यक्रम, धरानद्वारा जीवित प्रमाणिकरण, मरुवा, केश र अन्य भारतीय भूपू सैनिक तथा तिनका आश्रितहरुका कागजी कारवाही प्रक्रिया बिर्तामोडमा सम्पन्न भएको छ।
झापाको बाह्रदशी, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा, मेचीनगर र बिर्तामोड नगरपालिका निवासी भारतीय भूपू सैनिकहरुको पेन्सन कागजात प्रमाणिकरण प्रक्रिया सम्पन्न भएको हो।
भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, बिर्तामोडका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले वार्षिकरुपमा नियमित कार्यक्रम अन्तरगत बिर्तामोडमा झापाका पाँच पालिकाका ८८७ जना भारतीय भूपू सैनिकको पेन्सन प्राप्ति योग्य प्रमाणपत्र पेन्सन उपलब्ध गराउने कार्यालय(पीपीओ) धरानका टोलीद्वारा प्रमाणिकरण गरिएको जानकारी दिए।
उनले भूपू सैनिकका एकल महिला तथा ७० वर्षभन्दा बढी उमेरका सबैले वर्षमा दुई पटक पेन्सनसम्बन्धी कागजात प्रमाणिकरण गरिने नियम रहेको बताए। भारतीय गोर्खा भूपू सैनिक संघका कोषाध्यक्ष तारामणि श्रेष्ठले सहजरुपमा कार्यक्रम सञ्चालन गर्नका लागि संघका पदाधिकारी, सदस्य र आजीवन सदस्यहरुले सहजीकरण गरेको बताए।

हाल झापामा करीब तीन हजार पाँच सय भारतीय भूपू सैनिक तथा आश्रित परिवारहरुको बसोबास रहेको बताइएको छ। केही वर्ष यतादेखि झापाको भद्रपुर,बिर्तामोड, दूधे र दमकमा उक्त कार्यक्रम सञ्चालन हुने गरेको छ।
यसैबीच कार्यक्रमका बिच टोली प्रमुख एसटीओ(सह-कोषाधिकारी धनबहादुर क्षेत्रीले अवकाश प्राप्त भारतीय सैनिकका हकवाला परिवारले पेन्सन प्राप्त गर्न आवश्यक योग्यता, कागजी प्रक्रिया तथा सेवा सुविधाका बारेमा जानकारी गराएका थिए।
भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, बिर्तामोडका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षता तथा सह-कोषाधिकारी धनबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एडम सुपरभाइजर सुबेदार मेजर/ अनरी क्याप्टेन अनिलकुमार श्रेष्ठ, भारतीय गोर्खा भूपू सैनिक संघ, झापाका अध्यक्ष सलबहादुर गुरुङ, बिर्तामोड नगर उपाध्यक्ष लक्ष्मी राई, निवर्तमान उपाध्यक्ष तथा कियाचु जिल्ला सचिव भीममाया नेम्वाङ कन्दङ्वा, एसडीसी श्रीमती इन्दु राई, प्रशान्त श्रेष्ठ, एसएसओ पटील सागरलगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर मादेनले गरेका थिए।





























