भारतसंग खुला सिमाका कारण झापाले थुप्रै चुनौतिको सामना गर्दै आएको छ । भारतसंग करिब १४४ किलोमिटरको खुला रहेको झापामा पछिल्ला केहीबर्ष यता लागू औषध दुव्र्यसन, कारोबार, भण्डारण र ओसारपसार मुख्य चुनौतिका रुपमा देखिएको छ ।
भारतको पश्चिम वंगाल र विहार राज्यसंग सिमा जोडिएको झापाले अन्य थुप्रै चुनौतिहरुको सामना गर्दै आएपनि पछिल्लो केही वर्ष यता लागू औषध युवा पुसताका लागि बिकराल बन्दै गएको छ । खुला सिमाका कारण जिल्लामा लागू औषधको सहज प्रवेशलाई थप सहज बनाइदिएको छ । विशेषगरी काँकडभिट्टा, भद्रपुर, कचनकवल, कुमरखोद, गौरीगञ्ज जस्ता नाका र आसपासका क्षेत्रमा भारतबाट लागू औषध सहजै भित्रिने प्रवृत्ति देखिएको छ । यसले गर्दा जिल्लामा लागू औषधजन्य गतिविधि र दुव्र्यसनको समस्या झन जटिल बन्दै गएको छ ।
पछिल्ला महिनाहरूमा जिल्लामा लागू औषधसँग सम्बन्धित घटनाहरू तीव्र रूपमा वृद्धि हुँदै गएका छन् । प्रहरी तथ्यांक अनुसार, प्रयोगकर्ता र खपत दुवैको दर वर्षेनि उकालो लागिरहेको छ । गत आर्थिक वर्षमा प्रहरीले गोली समेत फायर गरी ठूलो मात्रामा लागू औषध बरामद तथा कारोबारी पक्राउ गरेको छ । दुव्र्यसनको शिकार हुनेमा किशोर तथा युवा वर्ग सबैभन्दा बढी छन् । विशेष गरी विद्यालय र कलेज पढ्ने विद्यार्थीहरू जोखिममा रहेको देखिन्छ ।
एक समयमा सम्पन्न परिवारका केही सदस्यहरुले मात्र लागू औषध सेवन गरेको कुरा सुन्न पाइन्थ्यो । तर, आजको दिनमा अवस्था यति भयावह भइसकेको छ कि “एक घर, एक प्रयोगकर्ता” भन्न सकिने स्थिति सिर्जना भएको छ । झनै चिन्ताजनक कुरा के छ भने, अहिले दैनिक ज्याला मजदुरी गर्ने वर्ग समेत लागू औषध दुव्र्यसनको सिकार बन्न थालेका छन् ।
झापा जिल्लामा युवावर्ग सबैभन्दा बढी प्रभावित देखिएको छ । तथ्यांकहरूले स्पष्ट देखाउँछन् कि प्रत्येक वर्ष प्रयोगकर्ताको सख्या र लागू औषधको खपत दुबै उल्लेखनीय रुपमा बढ्दै गइरहेका छन् । यस्तो प्रवृत्तिले हाम्रो समाजमा दीर्घकालीन संकटको संकेत दिन थालेको छ । यदि यो समस्याको समाधानका लागि समयमै सम्बन्धित निकाय, स्थानीय समुदाय, सुरक्षा अङ्ग, विद्यालय तथा अभिभावकहरू सचेत र सक्रिय भएनन् भने निकट भविष्यमा ठूलो संख्यामा युवा जनशक्ति लागू औषध दुव्र्यसनमा फस्नेछ । साथै, सम्भावनायुक्त युवा शक्ति देशमै अवसर नपाएर विदेश पलायन हुने क्रम बढ्नेछ, जसले राष्ट्रलाई आवश्यक उत्पादनशील जनशक्तिको अभावमा पारेको संकट थप गहिरिने सम्भावना रहन्छ ।
लागू औषध [Drugs] सेवनका तथा ओसार पसारका कारणहरु ?
लागू औषध सेवनका कारणहरू बहुआयामिक हुन्छन् । जसमा व्यक्तिगत, पारिवारिक, सामाजिक, मनोवैज्ञानिक, र आर्थिक पक्षसँग सम्बन्धित हुन्छन् । लागू औषध दुव्र्यसन केवल व्यक्तिको इच्छा शक्तिको कमजोरी होइन, यो सामाजिक, पारिवारिक, मनोवैज्ञानिक र सांस्कृतिक कारकहरूको जटिल संयोजन पनि हो । अधिकांश अवस्थामा, दुव्र्यसनको सुरुआत जिज्ञासा र प्रयोग गर्ने चाहनाबाट हुन्छ । साथीहरूले सेवन गरेको देख्दा “एकचोटि त टेस्ट गरौं” भन्ने सोच विशेष गरी १६ देखि २५ वर्ष उमेर समूहमा अत्यधिक पाइन्छ, यस्ता व्यक्तिहरू खराब साथीसंगत र सामाजिक दबाबमा परी लागू औषध सेवनतर्फ आकर्षित हुन्छन् जहाँ ‘कूल’ देखिनुपर्ने मानसिकता हावी हुन्छ । पारिवारिक अशान्ति, बाबुआमाको हेलचेक्राई, एकल परिवारको असहजता जस्ता समस्या थपिँदा युवा मार्गभ्रष्ट हुने सम्भावना झनै बढ्छ । पढाइको दबाब, प्रेम विफलता, बाल्यकालको दुव्र्यवहार, चिन्ता, डिप्रेशन जस्ता मानसिक अवस्थाले पनि लागू औषधलाई ‘भावनात्मक भागदौड’को माध्यम बनाउने गर्छ ।
त्यस्तै बेरोजगारी, आर्थिक अभाव र भविष्यप्रति निराशा भएका युवाहरू लागू औषध दुव्र्यसन मात्र होइन, यसको कारोबारमा समेत संलग्न हुने जोखिममा हुन्छन् । खुला सीमा, कमजोर निगरानी, तथा मेडिकल स्टोरबाट लागू औषध सजिलै उपलब्ध हुनुले प्रयोगलाई थप सहज बनाएको छ । थप रूपमा, ड्रग्स सेवनले ‘टेन्सन बिर्सिन्छ’, ‘ऊर्जा आउँछ’, ‘रचनात्मक सोच बढ्छ’ भन्ने नक्कली धारणा सोच विचार पनि फैलिएको पाइन्छ । कतिपय समुदायमा गाँजा, रक्सी, चरेसजस्ता पदार्थलाई सांस्कृतिक रूपमा स्वीकृत मान्ने चलनले पनि दुव्र्यसनलाई प्रश्रय दिएको देखिन्छ ।
आजभोलि सामाजिक सञ्जाल, गीतसंगीत, फिल्म, युट्युब वा टिकटक जस्ता अनलाइन मिडिया प्लेटफर्महरूमा लागू औषध सेवनलाई सामान्य वा ‘फ्यासनेबल’ रूपमा प्रस्तुत गरिनु पनि युवामाझ भ्रम सिर्जना गर्ने प्रमुख कारण हो ।
एकपटक सेवन गरेपछि शरीरमा यसको शारीरिक र मानसिक निर्भरता उत्पन्न हुन्छ, जसले गर्दा मानिस आफूले चाहेर पनि त्यसबाट छुट्कारा पाउन सक्दैन त्यसै गरी छिटो धनी बन्ने र सहज तरिकाले पैसा कमाउने सोच तथा कानूनको अज्ञानता पनि यसको मुख्य कारण हो । यसरी लागुऔषध दुव्र्यसनको समस्या सतहमा देखिने भन्दा निकै गहिरो र बहुआयामिक छ, जसको समाधान पनि त्यही अनुसार बहुक्षेत्रीय र समन्वय युक्त हुन आवश्यक छ ।
कसरी हुन्छ लागू औषध ओसार पसार ?
लागू औषध ओसारपसार गर्न तस्करहरूले साना बालबालिका, महिला तथा दैनिक यात्रीहरू प्रयोग गर्ने गरेका छन् साथै तस्करहरूले लागू औषध मुखमा निलेर, शरीरका गोप्य अङ्गहरूमा लुकाएर वा लगाएको कपडामै सिलाएर तस्करी गर्ने गरेका छन् । सवारी साधनहरू कार, बस, मोटरसाइकल, साइकल, अटो, टेम्पो, ट्रक र मालबाहक गाडीहरूको सिटमुनी, ड्यासबोर्ड, स्पेयर टायर वा अन्य भागहरूमा लुकाएर लागू औषध ल्याउने प्रवृत्ति व्यापक देखिएको छ । त्यति मात्र होइन, खाद्यान्न ल्याउने बाहनामा चामल, चिनी, तरकारीहरू, फोहरमैला टिप्ने झोलाहरू तथा पुनः प्रयोग हुने सामग्रीहरू भित्र पनि लागुऔषध लुकाइएको पाइन्छ । यसले लागू औषध नियन्त्रण कार्यलाई थप चुनौति पूर्ण बनाएको छ ।
झापा जिल्ला केवल एक प्रवेश मार्ग मात्र नभई वितरण केन्द्रको रूपमा पनि क्रियाशील हुँदै गएको छ । काठमाडौं, नुवाकोट, दोलखा, धादिङ, सुनसरी, मोरङ लगायतका जिल्लाबाट लागुऔषध खरिद गर्न मानिसहरू झापा पुग्ने गरेको खुलेको छ । यसले झापामा उत्पादन वा भण्डारणभन्दा पनि ‘आपूर्ति सञ्जाल’को रूपमा यस जिल्लाको भूमिका देखाउँछ ।
जिल्ला प्रहरी झापाको पछिल्लो दुई वर्षको लागू औषधसम्बन्धिका तथ्याङलाई हेर्दा
पछिल्लो दुई आर्थिक वर्षको तथ्यांक हेर्दा, २०८०/०८१ मा २९७ वटा कसुर दर्ता भई ४६२ जना पक्राउ परेका थिए भने २०८१/०८२ मा कसुर दर्ता ३४६ पुग्दा ५५९ जना पक्राउ परेका छन्, जसमा १ जना भारतीय महिला र २७ जना भारतीय पुरुष पनि परेका छन् ।
ब्राउन सुगर २ केजी ८८२ ग्राम ४४७ मि.ग्रा. र गाँजा १६५१ केजी ७२ ग्राम २७० मि.ग्रा. बरामद गरिएको छ। साथै, ट्रक २ वटा, कार ३ वटा, अटोरिक्सा ३ वटा र मोटरसाइकल ५१ वटा नियन्त्रणमा लिइएका छन्।
२०८१/०८२ मा जिल्ला प्रहरी कार्यालय झापाले ४४७ वटा लागू औषध विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्लाका १५ स्थानीय तहमध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै मुद्दा दर्ता भएको छ भने भद्रपुर, दमक, विर्तामोड, झापा गाउँपालिका, अर्जुनधारा र शिवसताक्षी पालिकामा पनि यस्ता घटना उल्लेख्य छन् ।
पक्राउ परेका व्यक्तिहरू प्राय १६ देखि ३५ वर्ष उमेर समूहका छन् । बढ्दो खपतका कारण करोडौं रुपैयाँको लागुऔषध कारोबार छिमेकी भारतमा हुने गरेको र झापा यस कारोबारको प्रमुख प्रवेशद्वार तथा वितरण केन्द्र बन्दै गएको छ ।
झापा जिल्लामा लागू औषध दुव्र्यसन तथा तस्करी नियन्त्रण गर्न सकिने केही उपायहरू
सिमा सुरक्षाको सन्दर्भमा, संवेदनशील सीमा नाकाहरूमा थप चेकपोस्टको आवश्यकता देखिएको छ । निगरानी प्रविधिहरू जस्तै सीसीटीभी, स्क्यानर, र ड्रोनको प्रयोग मार्फत सीमामा निगरानी सुदृढ गर्नुपर्छ । प्रहरी, सशस्त्र प्रहरी, भन्सार, र अनुसन्धान निकायहरूबीच समन्वयात्मक कार्यप्रणाली आवश्यक छ ।
शिक्षा प्रणालीभित्र लागू औषध सम्बन्धी चेतनामूलक कार्यक्रम अनिवार्य रूपमा समावेश गर्नुपर्छ । विद्यालय र कलेजमा Peer–to–Peer अवधारणामा आधारित सचेतना कार्यक्रमले युवालाई सहकर्मीको माध्यमबाट प्रभाव पार्न सक्छ । विद्यार्थीहरूका लागि परामर्श सेवालाई पनि संस्थागत रूपमा मजबुत बनाउनु अपरिहार्य रहेको छ । सेवन र ओसार पसार गर्दा हुने सजायबारे जानकारी नहुँदा सजाय केही नहुने भए पनि सामान्य हुने भन्ने धारणा सोच विचारलाई चिर्न कानूनी ज्ञान बारे सचेत गराउन जरूरी देखिन्छ ।
समुदाय तहमा लागू औषध विरुद्ध सक्रिय भूमिका आवश्यक छ । प्रत्येक वडामा ऋयmmगलष्तथ ब्लतष्–म्चगनक न्चयगउ’ गठन गरेर स्थानीय नागरिकलाई प्रत्यक्ष सहभागी गराउनु आवश्यक छ । धार्मिक संस्था, क्लब, र सामाजिक संघसंस्थासँग सहकार्य गर्दै जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ ।
लागू औषध दुव्र्यसनीहरूलाई सुधार र उपचारको व्यवस्था गर्न गुणस्तरीय पुनःस्थापना केन्द्रहरू स्थापना गर्नुपर्ने आवश्यकता बढ्दो छ । कतिपय निम्न आर्थिक अवस्था भएकाहरुलाई सरकारी अनुदानमा सञ्चालित, पहुँचयोग्य र पुनःस्थापनाका विकल्पहरू विकास गर्नुपर्छ ।
कानूनी दृष्टिकोणले हेर्दा तस्करहरूलाई कडा सजाय र प्रयोगकर्तालाई सुधारमुखी दृष्टिकोणबाट पुनःस्थापनामा लैजानु उपयुक्त हुन्छ । मेडिकल स्टोर तथा फार्मेसीहरूको नियमन र निगरानी प्रणाली पनि मजबुत बनाउनुपर्ने देखिन्छ ।
झापा जिल्लामा बेरोजगारी र आर्थिक अभाव पनि लागू औषध दुव्र्यसनको कारण बन्न पुगेको छ त्यसैले युवाहरूलाई सीप विकास तालिममार्फत स्वरोजगारको अवसर सिर्जना गर्नु दीर्घकालीन समाधान हुन सक्छ, स्टार्टअप वा लघु उद्यमका लागि सहुलियत ऋण तथा सरकारको प्रोत्साहन कार्यक्रममार्फत आशा जगाउन सकिन्छ ।
सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा फैलिएको ’ड्रग्स फेसन’ को भ्रम चिर्न सकरात्मक सन्देशयुक्त सामग्री प्रवाह गर्न आवश्यक छ । युट्युब, फेसबुक, टिकटक जस्ता माध्यमहरूमा सचेतना अभिवृद्धि गर्ने नीति निर्माण गरेर मिथ्या धारणा विरुद्ध सचेतना अभियान सञ्चालन गर्न सकिन्छ ।
यस्तो छ सजायको कानूनी व्यवस्था
यसरी, बहुआयामिक समस्या भएका लागू औषध दुव्र्यसन र तस्करीको नियन्त्रणका लागि सुरक्षा निकाय, शिक्षा क्षेत्र, समुदाय, सरकार र न्याय प्रणालीबीच समन्वयात्मक प्रयास अपरिहार्य देखिन्छ। यदि यी सिफारिसहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने, झापा जिल्ला मात्र होइन, समग्र राष्ट्र यस समस्याबाट मुक्त हुने दिशामा अगाडि बढ्न सक्छ ।
सुझाव
विगत केही वर्षयता झापा जिल्लामा लागू औषध दुव्र्यसन तथा तस्करीका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् । युवावर्गमा लागूऔषधको प्रयोगले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । यद्यपि विभिन्न स्थानिय तह, विद्यालय, समाज र सुरक्षा निकायले लागूऔषध नियन्त्रणका लागि पहल गरेका छन्, यस्ता प्रयासहरू अपेक्षित परिणाम ल्याउन सकेका छैनन् । यस्तो अवस्थाले हामीलाई पुनर्विचार गर्न बाध्य बनाएको छ के हामीले सही रणनीति अपनाएका थियौ ?
टोल–टोल, विद्यालय, क्लबहरूमा लागूऔषध विरोधी कार्यक्रमहरू आयोजना गरिए पनि यसको प्रभाव स्थायी बन्न सकेको छैन । लाखौंको बजेट खर्च हुँदा पनि दुव्र्यसनको दर नघटेर झन् बढिरहेको तथ्यहरूले नीति र कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। यस्ता प्रयासको मूल जड नबुझी गरिने प्रचारमुखी कामहरूले वास्तविक समाधान दिन सकेका छैनन ।
संचालनमा रहेका व्यक्तिगत पुनःस्थापना केन्द्रहरुले अत्याधिक शुल्क लिने, व्यसायिक सोच हुने भएकोले यसको नतिजा पनि खासै राम्रो पाईदैन काही कतै पुनःस्थापना केन्द्रका संचालकले उपचार गर्न बसेकालाई कुटपिट गरी ज्यान समेत गएको घटना बेला बेला आउने गरेका छन । त्यसकारण लागूऔषध दुव्र्यसनलाई केवल सामाजिक विकृति मात्र नभई, एक स्वास्थ्यसम्बन्धी गम्भीर समस्या का रूपमा बुझ्न आवश्यक छ । यसलाई नियन्त्रण गर्न हामीले वैकल्पिक सोच अपनाउनु जरुरी छ ।
झापा जिल्लाले १५ वटै स्थानीय तहको सहभागितामा सरकारी स्तरको एक साझा पुनःस्थापना केन्द्र स्थापना गर्नु अत्यावश्यक छ । जसले दुव्र्यसनीहरूलाई निःशुल्क उपचार, परामर्श, आत्मविश्वास विकास र सीपमूलक तालिम प्रदान गर्न सकोस् ।
उक्त पुनःस्थापना केन्द्रमा बसोबास गर्ने व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने सीप तालिम प्रदान गरी समाजमा सम्मानका साथ पुनःस्थापित गरिनुपर्छ । आज हामी गगनचुम्बी भवन, भ्युटावर र फराकिला सडक बनाउने सपना देखिरहेका छौं । तर, यदि यिनमा बस्ने मानिसहरू नै लागू औषधको चपेटामा छन् भने, ती भौतिक संरचनाको अर्थ के रहन्छ? लागू औषध दुव्र्यसन नियन्त्रण एक साझा जिम्मेवारी हो । यसमा सरकार, समुदाय, परिवार, विद्यालय र हरेक व्यक्तिको सक्रिय सहभागिता आवश्यक छ ।
झापा जिल्लाबाट सुरु गरिएको पुनःस्थापनामूलक प्रयास अन्य जिल्लाहरूका लागि पनि पाइलट मोडल बन्न सक्नेछ । परिणाम प्रभावकारी भएमा राष्ट्रिय स्तरमै यसको कार्यान्वयन सम्भव छ ।




























