राजनीतिक भागबण्डाले नेतृत्व चयन हुने प्रवृत्तिप्रति आपत्ति

0
121

विनोद सापकोटा
झापा ।

विद्यालय जस्तो पवित्र प्रतिष्ठानमा नेतृत्व चयनका लागि भएको राजनीतिक हस्तक्षेप विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षीकी उपसभापति गोमा अधिकारी खरेलले खुलेर विरोध गरेकी छन् । शिवशताक्षी नगरका धेरै सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको कार्यकाल सकिएर नयाँ समिति गठन भइरहँदा राजनीतिक भागबण्डाले नेतृत्व चयन हुने प्रवृत्तिप्रति उनले आपत्ति जनाइन् ।

संचारकर्मीसंग कुरा गर्दे उनले भनिन्, ‘भविष्यका कर्णधार बालबालिका पढ्ने विद्यालयमा राजनीतिक पृष्ठभूमि भएका भन्दा पनि अभिभावकले नेतृत्व लिनु उपयुक्त हुन्छ ।’ यसो भनिरहँदा उनले साविकका केही व्यवस्थापन समितिले गरेका कामलाई भने उनले सकरात्मकरुपमा लिएकी छन् । उनले शिक्षा ऐन २०२८ र शिक्षा नियमावली, २०५९ (हाल सम्म भएका संशोधन सहित) आधार मानेर विद्यालयको पूर्वाधार र गुणस्तर सुधारका लागि सबै नगरवासी एकजुट हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अधिकांश विद्यालय पूर्वाधारयुक्त छन् तर गुणस्तर सुधारका लागि अब बन्ने समितिले राजनीतिक स्वार्थभन्दा माथि उठेर विद्यार्थी र अभिभावकको लक्ष्यका लागि काम गर्नुपर्छ ।’ शिवसताक्षीका कतिपय आधारभूत तहमात्र होइन, माद्यमिक तहका विद्यार्र्थी सावा अक्षर छुट्याउन सक्दैनन् ।

शिक्षक स्वयं राजनीतिक सक्रियतामा देखिने, व्यवस्थापन समिति पनि राजनीतिक भागबण्डामा बन्ने जस्ता कारणले गुणस्तर खस्किएकोे अभिभावकको गुनासो छ । यद्यपि, राजनीतिक दलसँग आबद्ध भए पनि कतिपय अध्यक्षले विद्यालयमा महत्वपूर्ण योगदान दिएका उदाहरण पनि शिवसताक्षीमा छन् । झिलझिले माध्यमिक विद्यालयमा नेपाली कांग्रेसका नेता पर्शुराम ढुङ्गाना पुनः अध्यक्षमा निर्वाचित भए । पूर्वाधार विकासमा उल्लेखनीय काम गरेका उनले अभिभावकको पहिलो रोजाइमा परे । ८ नम्बर वडाको अरुणोदय आधारभूत विद्यालयमा नेपाली कांग्रेसका मदन सिलवाल दोस्रो पटक अध्यक्ष भए । पहिलो कार्यकालमा विद्यार्थी संख्या ३७ बाट ९७ पुर्याउन सफल भएका उनी शिक्षक–अभिभावकको तालमेलका कारण निक्कै चर्चित बने । वडा नम्बर ७ को बाल सेवा आधारभूत विद्यालयमा एकीकृत समाजवादीका गोविन्द ल्वागुन पुनः दोश्रो कार्यकालका लागि अध्यक्ष भए । उनले विद्यालय बस खरिददेखि अभिभावकको योगदानमा लाखौँ रकम सङ्कलन गरी विद्यालयमा अतिरिक्त सुविधा थपे ।

अघिल्लो कार्यकालमा विद्यालय–अभिभावकबीचको वर्षौँ पुरानो जग्गा विवाद समाधानमा पनि उनी सक्रिय बने । भानु माध्यमिक विद्यालय लालझोडाको एकीकृत समाजवादीका घनेन्द्र इजम पहिलोपटक अध्यक्ष बने भने शुक्र माध्यमिक विद्यालय चन्द्रडाँगीको नेपाली कांग्रेसका मङ्गलसिंह राजवंशीको पहिलो नेतृत्व आयो । वडा नम्बर १ को मोती माध्यमिक विद्यालयमा नेपाली कांग्रेस कोशी प्रदेश महासमिति सदस्य बाबुलाल मड्डी र वडा नम्बर ८ को भगवती आधारभूत विद्यालयमा नेकपा एमालेका स्थानीय वडा कमिटिका अध्यक्ष केपी शेर्मा पहिलोपटक अध्यक्ष बने । वडा नम्बर ११ को राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा भने अभिभावकको चासो उच्च रह्यो । शिक्षा ऐन २०२८ र शिक्षा नियमावली,२०५९ (हाल सम्म भएका संशोधन सहित) आधारमा हलबाट छनौट वा निर्वाचित हुने चार पदका लागि ३४ जनाले उम्मेदवारी दिए । जसमा महिला र पुरुषको संख्या बराबरी थियो ।

अघिल्लो अध्यक्ष माओवादी केन्द्रका महेन्द्र भट्टराई पुनः आकांक्षी देखिए । उनले विद्यालयको पूर्वाधार सुधारका लागि गरेको काम अभिभावकको मनमस्तिस्कमा छ । सबै राजनीतिक दलले पनि भट्टराई नेतृत्वको समिति योग्य रहेको ठहर गरेको छ । नेपाली कांग्रेसका स्थानीय स्तरका एक नेताले राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा अब बन्ने समितिले गुणस्तर सुधारमा गम्भिर चासो दिनुपर्ने बताए ।

नगरमा ३५ सामुदायिक विद्यालय छन् । १२ माध्यमिक, ९ आधारभूत र १४ प्राथमिक तहका विद्यालय शिवसताक्षीमा छन् । यो समाचार तयार हुँदा ७ विद्यालयको समिति गठन भइसकेको छ । बाँकीमा प्रक्रिया जारी छ । वडा नम्बर ७ का वडा अध्यक्ष भवानी चेम्जोङ भन्छन्, ‘शिक्षा क्षेत्र बुझ्ने जो कोही पनि समितिको नेतृत्व गर्न सक्छन् । कानुनले पनि अनुमति दिएको छ । तर यसलाई राजनीतिक थलो बनाउनु हुँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here