रञ्जनाको जन्मदिन : खुसीको परम्परामा वियोगको छायाँ

0
318

विनोद सापकोटा,
मङ्गलबारे (झापा) ।

जन्मदिन भनेको प्रायः उत्सव, उमङ्ग र हाँसोको क्षण हो। तर शिवशताक्षी नगरकी स्वास्थ्यकर्मी रञ्जना खनालको जन्मदिन विगत सात वर्षदेखि उनको परिवारका लागि एउटा नबोलिएको पीडा बनेको छ।

साउन २८ रञ्जनाको जीवनकालमा हाँसो र रमाइलोको प्रतीक हुन्थ्यो। तर २०७६ साल जेठ २० गतेको एक भयावह कालो बिहानले खनाल परिवारको सच्चा प्रतीक क्षणभरमै उल्टाइदियो। धरमपुरस्थित घरबाट आफू कार्यरत शिवसताक्षी नगरपालिका कार्यालय जाँदै गर्दा उनी पूर्वपश्चिम राजमार्गमा यात्रु बहाक बसको निशानामा परिन् । बसको निशाना ले उनलाई सधैँका लागि चुडी लग्यो अर्थात् उनको घटनास्थलमै प्राण उड्यो। त्यस क्षणसँगै उनका आमा-बुबा, दाजु भाउजु दिदीबहिनी को आँखामा बस्ने उज्यालो माटो मात्र खोसिएन, दिन दुःखीका साधक पनि खोसियो। जुन कहिल्यै पूरा हुन सक्दैन ।

‘छोरीको त्यो दिनको पीडादायी घटनाको सम्झना मात्राले पनि आँखा रसाउँछ । मन रुन्छ । बिछौनमा परेको बुढो शरीर खटपटी हुन्छ। जसलाई पर्यो त्यसलाई मात्र थाहा हुने यस्तो घटना कसैलाई नहोस्,’ कोशी प्रदेश सांसद राधाकृष्ण खनाल बोल्दा शब्दहरूसँगै उनको स्वर काँप्थ्यो। ‘जन्मदिनलाई स्मृति दिवस बनाउन सकिन्थ्यो, तर त्यो दिन सम्झिँदा आङ नै जिरिङ्ग हुन्छ।’
आमा सावित्रा खनाल कार्यक्रमका सहजकर्ता प्रदीप चिमरियाले रञ्जनाको जीवनयात्रा स्मरण गर्दा भक्कानिएकी थिइन्। दिदी सुष्मा खनाल भण्डारीको अवस्था पनि उस्तै थियो। हरेक वर्ष उनीहरू यो दिनलाई ‘उनले रहँदा जस्तै’ सामाजिक सेवाको रूपमै मनाउने गर्छन् । रञ्जनाले आफ्ना जन्मदिनहरूमा आफू रहँदाअसहायका हातमा सहयोगका सामग्री थमाइदिन्थिन्।

यस वर्ष पनि खनाल परिवार शिवशताक्षी–२ का मृगौला पीडित बजारु राजवंशीको घर पुग्यो। ६५ वर्षदेखि सोही गाउँमा बसोबास गर्दै आएका राजवंशी परिवारको आर्थिक अवस्था यति दयनीय थियो । उपचारको खर्च त टाढाको कुरा, दैनिक गुजारा नै संकटमा थियो। उपचार खर्च नहुँदा उनी महिनौदेखि ओछ्यान परेका थिए। परिवारलाई दुई महिनासम्म पुग्ने खाद्यान्न हस्तान्तरण गर्दै खनाल परिवारले रञ्जनाको स्मृतिलाई जीवित राख्ने कोशिस गर्‍यो।

त्यो क्षणमा ५० भन्दा बढी छिमेकीहरू भेला भए। वडा अध्यक्ष भीम नेम्बाङले २० हजार मृगौला पीडित राजवंशीलाई नगद सहयोग गरे। स्थानीय पत्रकार बिनोद सापकोटाको पहलमा राजवंशीको उपचार भद्रपुरको अस्पतालमा हुने टुंगो लाग्यो।

रञ्जनाको जन्मदिनमा गरिएको यो कर्म विगतका वर्षहरूजस्तै निरन्तरता भएको खनाल परिवारले बताएको छ। छोरी रञ्जनाको कोरोनाका बेला स्थानीय सरकारलाई स्वास्थ्य सामग्री, त्यसपछि विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र लत्ताकपडा, खाद्यान्न वितरण यी सबै उनका अधुरो सपना पूरा गर्ने प्रयास वर्षेनी साउन २८ मा आउने गरेको छ । सांसद राधाकृष्ण खनालले भने म रहुन्जेल छोरी रञनाको स्मृति दिवस यसरी नै मनाउने छौं ।

पूर्व वडा अध्यक्ष कुलबहादुर बस्नेत, जनप्रतिनिधि कुमार राई र युवा नेता समर्पण खतिवडाले खनाल परिवारको यो कर्म अनुकरणीय रहेको बताए। ‘जन्मदिनमा गरिने फजुल खर्च कटाएर सामाजिक सेवामा लगाउनु, यही हो रञ्जनाको जीवित उदाहरण,” उनीहरूले भने।

तर यी सबै सहयोग र सम्मानका शब्दहरूबीच पनि राधाकृष्ण खनालको मनमा एउटा गहिरो चोट छ । जसलाई कुनै खाद्यान्न, कुनै नगद, कुनै सम्मानले भरिदिन सक्दैन। रञ्जना अब फर्केर आउँदिनन्। तर उनको जन्मदिन हरेक वर्ष एकैसाथ खुसी र वियोगको द्वन्द्वमा चलिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here