जैविक विविधता सम्पूर्ण प्राणीको बाँच्ने आधार हो । मानिस चेतनशील प्राणी भएकाले पृथ्वीमा भएका सम्पूर्ण जीवजन्तु र वनस्पतिको सन्तुलित उपस्थितिले मात्रै जीवनरक्षा सम्भव छ भन्ने जान्दछ । तर, बिना वैज्ञानिक अध्ययन र योजना गरिएको विकासले वन्यजन्तु जैविक विविधता र पर्यावरणलाई विनाश भएको छ । यसले भावीपुस्ता अत्यन्त ठूलो जोखिममा पर्दैछन् र अस्तित्व नै लोप हुने खतरा छ । सरदर चौडाइ दुई सय किलोमिटर पनि नभएको देशमा मेची–महाकाली जोड्ने चारवटा राजमार्ग निर्माण गरिएका छन् । जसले वनजंगलको विनाश गरेको छ र वन्यजन्तुको संरक्षित थलो संकटमा परेको छ । त्यसकै एउटा परिणाम हो जंगलमा विचरण गर्ने सबैभन्दा ठूलो जनावर हात्ती र मानवका बीच द्वन्द्व बढ्दै गएको छ ।

आहारबिहारका लागि जंगलमा निर्भर हात्ती भएका वनको विनाश भएपछि आहारको खोजीमा मानव बस्तीमा पुग्ने गरेका छन् । एउटा वयस्क हस्तीलाई प्रतिदिन एक सय पचास केजी घाँसपात चाहिन्छ र करिब दुई लिटर पानी पिउँछ । त्यसका लागि हात्तीलाई प्रशस्त चरन क्षेत्र र पानीको स्रोत चाहिन्छ । जनसंख्या वृद्धि भएसँगै मानिसले वनजंगल अतिक्रमण गर्दै बस्ती बसाउन थालेपछि हात्तीलाई आहार र बिहारका लागि समस्या भयो । त्यसक्रममा हात्तीले मानिसले लगाएका अन्नबाली र घरमा भण्डारण गरेको खाद्यान्नमा क्षति पु¥याउन थाले । मानिसले हात्ती नियन्त्रण गर्ने क्रममा द्वन्द्व बढ्दै जाँदा दुबैतर्फ क्षति हुन थाल्यो । बाली जोगाउने क्रममा हात्ती माथि आगो फ्याक्ने, बन्दुक हान्ने, विद्युतीय करेन्ट लगाउने गर्दा हात्ती आक्रमक भई मानवीय क्षति हुने गरेको छ । पछिल्ला दशकमा हात्तीको जैविक मार्ग तथा वासस्थानमा लाखौं मानिस बस्दा हात्तीको जीनवमा अवरोध भएको छ, जसका कारण हात्तीले मानव बस्तीमा गएर आर्थिक, भौतिक एवम् मानवीय क्षति गर्न थालेको छ ।
हात्ती र मानवबीचको द्वन्द्वका कारण विगत पच्चीस वर्षको अवधिमा तीन सय पैंतालीस जनाको मृत्यु भएको छ । सोही अवधिमा मानिसको आक्रमणबाट र करेन्ट लागेर पचपन्न वटा हात्ती मरेका छन् । यस बाहेक हात्तीबाट हुने कृषि, पशु, बाली र घरगोठको क्षतिको परिमाण पनि ठूलो छ । त्यसैले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न जंगल छेउछाउका बस्तीमा हात्तीले नरुचाउने बाली लगाउनुपर्छ । जंगलभित्रै उखु, केरा, मकै, कोदो जस्ता बालीको व्यवस्थापन गर्ने, वन अतिक्रमण रोक्ने, सचेतना अभियान सञ्चालन गर्ने जस्ता उपायहरु अवलम्बन गर्नुपर्छ । हात्ती द्वन्द्व भएका क्षेत्रमा हात्तीप्रति सकारात्मक व्यवहार बनाउन सकिए पनि द्वन्द्व न्यूनीकरण हुने हात्तीविज्ञ डा. नरेश सुवेदीको भनाइ छ । हात्तीको मार्गको पहिचान गरी त्यही अनुसारको व्यवहार गरिए पनि क्षति न्यूनिकरण गर्न सहयोग पुग्छ । त्यसका लागि स्पष्ट योजना र नीतिका साथ तीनवटै तहका सरकार लाग्नुपर्छ ।




























