
लेख्छु भनेको कविता
बुवाको स्मृतिमा
तर,
आँशुमा कविता नलेखिँदोरहेछ
त्यसैले लेख्न सकिनँ
बुवाको कथामा कविता
हो,
प्रत्येक पल्ट लेख्न खोज्दा
आँशुको बतासले
कापीको पन्ना उडाइ लान्छ
सक्तिनँ म लेख्न फेरि पनि
बुवाको कथामा एउटा कविता
म जतिबेला
जीवनको सबैभन्दा धेरै
आँशु रोएको थिएँ मुटुमा
म
यतिबेला पनि लेख्न नसकेर
बुवाको कथामा एउटा कविता
केवल बुवाले सधैं खाने
एउटै थाल र गिलास हेरेर
मुटुमा मुटुकै आँशु रोइरहेछु
सम्भवतः सक्तिनँ होला म
लेख्न, बुवाको कथामा
एउटा कविता !



























