विनोद सापकोटा,
झापा ।

कोशी प्रदेशमा फेरि मन्त्री फेरबदलको तयारी हल्ला सुरु भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले हालै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेर राजनीतिक परिस्थिति बारे छलफल गरेका छन्।
प्रदेशमा लामो समयदेखि निरन्तरता पाइरहेका केही मन्त्रीलाई हटाउने र नयाँ अनुहारलाई अवसर दिने तयारी भएको छ। झापा क्षेत्र नम्बर ४ (क) बाट बहालवाला मन्त्रीलाई निर्वाचनमा पराजित गरि निर्वाचित प्रदेश सभा सदस्य राधाकृष्ण खनाल योग्य उम्मेदवारका रूपमा चर्चा चुलिनथालेको छ ।
राजनीतिक यात्राको लामो अनुभव
५८ वर्षका खनाल शिवसताक्षी नगरपालिका–१ धरमपुर निवासी हुन्। राजनीतिक यात्रा उनले झापा विद्रोह अर्थात २०३६ सालमै सुरु गरेका थिए । तत्कालिन धरमपुर गाउँ पञ्चायत स्थित मोती निम्न माध्यमिक विद्यालय अनेरास्ववियुको सचिव भएर सुरु भएको राजनीतिक यात्रा पार्टीको प्रदेश कमिटीको सदस्य भएर टुगिएको छ । खनाल अहिले पार्टीको झापा जिल्ला कमिटीको संयोजक हुन् ।
२०३८ सालमा जनआदर्श व्यावसायिक मावि शिवगञ्जमा अनेरास्ववियुको सचिव हुँदै २०३९ सालमा इलाका कमिटी सदस्य बने। त्यसपछि उनले क्रमशः युथ लिगको सचिव, माक्र्सवादी अध्ययन दलको सचिव, एक्टिभ ग्रुप सदस्य हुँदै २०५१ सालमा नेकपा एमाले इलाका कमिटी १२ को उपसचिवको जिम्मेवारी पाए।
२०५२ सालमा प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटीको सदस्य, २०५६ सालमा एमाले झापा जिल्ला कमिटी सदस्य, २०५८ सालदेखि सचिवालय सदस्य, २०६६ सालमा क्षेत्रीय कमिटी अध्यक्ष र २०७८ सालदेखि प्रदेश कमिटी सदस्य बने। अहिले उनी प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर ४ (क) का इन्चार्ज पनि हुन् ।
इमान्दार र संगठन सुदृढीकरणमा अग्रणी
खनाललाई इमान्दार, साधकी र कर्तव्यनिष्ठ नेताका रूपमा स्थानीयले चिन्छन्। संगठन सुधारका अभियानमा सूक्ष्म ढंगले अध्ययन गरेर कार्यक्रम सञ्चालन गर्ने उनी पार्टीभित्र अध्ययनशील नेताका रूपमा स्थापित छन्।
२०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले शिवसताक्षी क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी बनाउन ठूलो योगदान गरेका थिए। स्थानीय कमिटीले उनलाई दुईपटक नगर प्रमुखका लागि सिफारिस गरेको थियो। तर उनले पार्टीकै सुझावलाई आत्मसात गर्दै अन्य साथीलाई अगाडि बढाए। यसरी त्याग र इमान्दारिताका कारण उनी सबै तहमा विश्वसनीय बनेका छन्।
शिक्षण पेशाबाट राजनीति
खनालको प्रारम्भिक जीवन शिक्षण पेशासँग जोडिएको छ। २०४८ साल वैशाख ३ गते तत्कालिन पाँचगाछी गाविस हाल शिवसताक्षी ४ को त्रिभुवन माध्यमिक विद्यालयमा शिक्षक बनेर सेवा सुरु गरेका उनी भानु माध्यमिक विद्यालयसम्म पुग्दा २०७४ साल कार्तिक १० गतेसम्म निरन्तर शिक्षककै भूमिकामा रहे ।
शिक्षक हुँदा पनि उनी संगठन विस्तार र सामाजिक कार्यमा सक्रिय रहे। यही अनुभवले उनलाई जनतासँग नजिक बनाएको हो। स्कुल जाँदा स्कुलकै काम नजाँदा पार्टीको काममा उनको दिन चर्या वित्थ्यो भने राती सधै बैठक बसेर पछिल्ला दिनका योजना बन्थ्यो ।
अधिकांसले उनलाई आर के सर भनेर चिन्छन् । पार्टीका अधिकाँस कार्यक्रममा नपुगेका उनि हुदैनन् । मरुमराउँ, गाउँघरमा भएका पूजा पाठ पुराण लगायतका धार्मिक कार्यक्रम, सभा र समारोहमा पनि उनि पुगेकै हुन्छन् ।
भूमिसुधार अभियानमा देखिएको नेतृत्व
२०७५ सालको अन्त्यतिर साविक महारानीझोडा, लखनपुर, तोपगाछी, धरमपुर, शिवगञ्ज र सताक्षीधाम क्षेत्रको जग्गा दर्ता समितिको अध्यक्षमा खनाल नियुक्त भए ।
सिमित कर्मचारी र स्रोत साधनको अभाव हुँदाहुँदै पनि उनले ८ महिनाभित्रै करिब ११ हजार आवेदन फाराम संकलन, सधियारको सर्जमिन, सम्बन्धित वडा कार्यालयबाट जोतभोगको सिफारिस गराउने काम सफलतापूर्वक सम्पन्न गरे । साथै १ हजार ८७६ कित्ताको नापजाँच पनि सम्पन्न गरे ।
तर विश्वव्यापी रुपमा देखा परेको कोरोना महामारीका कारण बाँकी कामहरू रोकिए । लकडाउनकै अवधिमा समितिको म्याद सकियो। त्यसपछि राष्ट्रिय भूमि आयोग गठन हुँदा झापामा प्रेम गिरीको अध्यक्षतामा बनेको आयोगमा खनाललाई विज्ञ सदस्यका रूपमा मनोनयन गरिएको थियो।
प्रदेश सभा सदस्य हुँदै विकासमा सक्रियता
२०७९ सालमा खनाल कोशी प्रदेश सभामा निर्वाचित भए। उनले तत्कालीन कृषि तथा सहकारी मन्त्री झलकसिंह मगरलाई १,५७७ मतले पराजित गरेका थिए ।
निर्वाचनपछि उनले आफ्नो क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, नदी कटान नियन्त्रण, झोलुङ्गे पुल, शव दाह गृह निर्माण, कृषि तथा पशुपालनमा अनुदान जस्ता कामलाई प्राथमिकतामा राखे। स्थानीयले भनेका छन्, ‘खनाल मन्त्री भएमा विकास अझ व्यवस्थित हुने निश्चित छ। उनी जनताको आवाज बुझ्छन् र काम गर्ने क्षमता राख्छन् ।’
मन्त्री बन्ने सम्भावना किन बढ्यो ?
मुख्यमन्त्री कार्कीले आगामी भदौ तेस्रो सातासम्म मन्त्री फेरबदल गर्ने संकेत गरेका छन्। पार्टी स्रोतका अनुसार, कम्तीमा एक वर्ष पूरा गरेका र विवादमा तानिएका मन्त्रीलाई बिदा दिने तयारी उनको छ।त्यसैबेला इमान्दार र संगठनसँग बलियो सम्बन्ध भएका व्यक्तिलाई अगाडि बढाउने सोच मुख्य मन्त्रीले बनाएको बुझिएको छ । यस हिसाबले खनाल उपयुक्त उम्मेदवारका रूपमा अघि सरिरहेका छन् ।
उनी पार्टीप्रति निष्ठावान, संगठनसँग गहिरो सम्बन्ध भएको र जनताबीच लोकप्रिय नेता मानिन्छन्। खनाल पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका झापामा रहेका विश्वासका नेता मध्ये ‘टप टेन’ मा पर्छन् ।
खनालको व्यक्तिगत पृष्ठभूमि
खनालको जन्मतेह्रथुमको साबिक सोल्मा–२ मा भएको हो। बुबा उमानाथ र चन्द्रकला को कोखमा ०२४ सालमा उनि जन्मिए थिए । ०२८ सालमा झापाको धरमपुरमा जग्गा किनेपछि उनी लगायत परिवार ०३२ सालमा पूर्णरुपमा झापामा बसोबास गर्न थाले।उनकी श्रीमती सावित्रा खनाल घरेलु तथा सामाजिक क्षेत्रमा सक्रिय छिन्। १ छोरा र २ छोरीका पिता रहेका खनालका हाल १ छोरा र १ छोरी छन् ।
शिक्षामा उनले जनआदर्श माविबाट एसएलसी, धनकुटा बहुमुखी क्याम्पसबाट आइ.एड., सुकुना बहुमुखी क्याम्पस मोरङ्गबाट बी.एड. र गौरादह बहुमुखी क्याम्पसबाट एम.एड. उत्तीर्ण गरेका छन् ।
प्रदेश राजनीतिको चुलिँदो बहस
कोशी प्रदेशमा अहिले मन्त्री फेरबदल हुने चर्चा मात्र छैन, यसको तयारी पनि तीव्र भएको छ। पार्टीभित्र असन्तोष कम गर्ने र संगठनलाई व्यवस्थित बनाउने रणनीति अन्तर्गत नयाँ अनुहार ल्याउने सोच मुख्य मन्त्रीले बनाएको मुख्य मन्त्री सचिवालय श्रोतको दावि छ । यसैपनि पार्टी अध्यक्ष संगको निकटताका कारणले पनि खनाल अब छानिने मन्त्री मध्ये पहिलो रोजाईमा पर्छन् भन्ने आंकलन नेताको छ ।
नेकपा एमाले बाहेकका दलले समेत खनाललाई संभावित मन्त्रीका रूपमा आँकलन गर्न थालेका छन् । राधाकृष्ण खनाल लामो अनुभव, इमान्दार छवि र संगठनात्मक क्षमताका कारण अहिले कोशी प्रदेशको नयाँ मन्त्री बन्न सक्ने योग्य उम्मेदवारको रूपमा उदाएका छन् ।
जनताले उनलाई एकपटक शिक्षक, एकपटक भूमिसुधार अभियानको अगुवा, र अहिले विकासप्रेमी प्रदेश सांसदका रूपमा अनुभव गरिसकेका छन्।यदि यसपटक मन्त्री बन्ने अवसर पाए भने खनालले प्रदेशभरि विकास र व्यवस्थापनलाई अझ गति दिने विश्वास जनताले गरेका छन् ।

























