विनोद सापकोटा
झापा,
कोशी प्रदेशमा फेरि मन्त्री फेरबदलको तयारी हल्ला सुरु भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले हालै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेर राजनीतिक परिस्थिति बारे छलफल गरेका छन् ।
प्रदेशमा लामो समयदेखि निरन्तरता पाइरहेका केही मन्त्रीलाई हटाउने र नयाँ अनुहारलाई अवसर दिने तयारी भएको छ । झापा क्षेत्र नम्बर ४ (क) बाट बहालवाला मन्त्रीलाई निर्वाचनमा पराजित गरी निर्वाचित प्रदेश सभा सदस्य राधाकृष्ण खनाल योग्य उम्मेदवारका रूपमा चर्चा चुलिन थालेको छ ।
राजनीतिक यात्राको लामो अनुभव
५८ वर्षका खनाल शिवसताक्षी नगरपालिका–१ धरमपुर निवासी हुन् । राजनीतिक यात्रा उनले झापा विद्रोह अर्थात २०३६ सालमै सुरु गरेका थिए । तत्कालिन धरमपुर गाउँ पञ्चायत स्थित मोती निम्न माध्यमिक विद्यालय अनेरास्ववियुको सचिव भएर सुरु भएको राजनीतिक यात्रा पार्टीको प्रदेश कमिटीको सदस्य भएर टुगिएको छ । खनाल अहिले पार्टीको झापा जिल्ला कमिटीको संयोजक हुन् ।
२०३८ सालमा जनआदर्श व्यावसायिक मावि शिवगञ्जमा अनेरास्ववियुको सचिव हुँदै २०३९ सालमा इलाका कमिटी सदस्य बने । त्यसपछि उनले क्रमशः युथ लिगको सचिव, माक्र्सवादी अध्ययन दलको सचिव, एक्टिभ ग्रुप सदस्य हुँदै २०५१ सालमा नेकपा एमाले इलाका कमिटी १२ को उपसचिवको जिम्मेवारी पाए ।
२०५२ सालमा प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटीको सदस्य, २०५६ सालमा एमाले झापा जिल्ला कमिटी सदस्य, २०५८ सालदेखि सचिवालय सदस्य, २०६६ सालमा क्षेत्रीय कमिटी अध्यक्ष र २०७८ सालदेखि प्रदेश कमिटी सदस्य बने । अहिले उनी प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर ४ (क) का इन्चार्ज पनि हुन् ।
इमान्दार र संगठन सुदृढीकरणमा अग्रणी
खनाललाई इमान्दार, साधकी र कर्तव्यनिष्ठ नेताका रूपमा स्थानीयले चिन्छन् । संगठन सुधारका अभियानमा सूक्ष्म ढंगले अध्ययन गरेर कार्यक्रम सञ्चालन गर्ने उनी पार्टीभित्र अध्ययनशील नेताका रूपमा स्थापित छन् ।
२०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले शिवसताक्षी क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी बनाउन ठूलो योगदान गरेका थिए । स्थानीय कमिटीले उनलाई दुईपटक नगर प्रमुखका लागि सिफारिस गरेको थियो । तर उनले पार्टीकै सुझावलाई आत्मसात गर्दै अन्य साथीलाई अगाडि बढाए । यसरी त्याग र इमान्दारिताका कारण उनी सबै तहमा विश्वसनीय बनेका छन् ।
शिक्षण पेशाबाट राजनीति
खनालको प्रारम्भिक जीवन शिक्षण पेशासँग जोडिएको छ । २०४८ साल वैशाख ३ गते तत्कालिन पाँचगाछी गाविस हाल शिवसताक्षी ४ को त्रिभुवन माध्यमिक विद्यालयमा शिक्षक बनेर सेवा सुरु गरेका उनी भानु माध्यमिक विद्यालयसम्म पुग्दा २०७४ साल कार्तिक १० गतेसम्म निरन्तर शिक्षककै भूमिकामा रहे ।
शिक्षक हुँदा पनि उनी संगठन विस्तार र सामाजिक कार्यमा सक्रिय रहे । यही अनुभवले उनलाई जनतासँग नजिक बनाएको हो । स्कुल जाँदा स्कुलकै काम नजाँदा पार्टीको काममा उनको दिन चर्या वित्थ्यो भने राती सधै बैठक बसेर पछिल्ला दिनका योजना बन्थ्यो ।
अधिकांसले उनलाई आर के सर भनेर चिन्छन् । पार्टीका अधिकाँस कार्यक्रममा नपुगेका उनि हुदैनन् । मरुमराउँ, गाउँघरमा भएका पूजा पाठ पुराण लगायतका धार्मिक कार्यक्रम, सभा र समारोहमा पनि उनि पुगेकै हुन्छन् ।
भूमिसुधार अभियानमा देखिएको नेतृत्व
२०७५ सालको अन्त्यतिर साविक महारानीझोडा, लखनपुर, तोपगाछी, धरमपुर, शिवगञ्ज र सताक्षीधाम क्षेत्रको जग्गा दर्ता समितिको अध्यक्षमा खनाल नियुक्त भए ।
सिमित कर्मचारी र स्रोत साधनको अभाव हुँदाहुँदै पनि उनले ८ महिनाभित्रै करिब ११ हजार आवेदन फाराम संकलन, सधियारको सर्जमिन, सम्बन्धित वडा कार्यालयबाट जोतभोगको सिफारिस गराउने काम सफलतापूर्वक सम्पन्न गरे । साथै १ हजार ८७६ कित्ताको नापजाँच पनि सम्पन्न गरे ।
तर विश्वव्यापी रुपमा देखा परेको कोरोना महामारीका कारण बाँकी कामहरू रोकिए । लकडाउनकै अवधिमा समितिको म्याद सकियो । त्यसपछि राष्ट्रिय भूमि आयोग गठन हुँदा झापामा प्रेम गिरीको अध्यक्षतामा बनेको आयोगमा खनाललाई विज्ञ सदस्यका रूपमा मनोनयन गरिएको थियो ।
प्रदेश सभा सदस्य हुँदै विकासमा सक्रियता
२०७९ सालमा खनाल कोशी प्रदेश सभामा निर्वाचित भए । उनले तत्कालीन कृषि तथा सहकारी मन्त्री झलकसिंह मगरलाई १,५७७ मतले पराजित गरेका थिए ।
निर्वाचनपछि उनले आफ्नो क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, नदी कटान नियन्त्रण, झोलुङ्गे पुल, शव दाह गृह निर्माण, कृषि तथा पशुपालनमा अनुदान जस्ता कामलाई प्राथमिकतामा राखे । स्थानीयले भनेका छन्, ‘खनाल मन्त्री भएमा विकास अझ व्यवस्थित हुने निश्चित छ । उनी जनताको आवाज बुझ्छन् र काम गर्ने क्षमता राख्छन् ।’
मन्त्री बन्ने सम्भावना किन बढ्यो ?
मुख्यमन्त्री कार्कीले आगामी भदौ तेस्रो सातासम्म मन्त्री फेरबदल गर्ने संकेत गरेका छन् । पार्टी स्रोतका अनुसार, कम्तीमा एक वर्ष पूरा गरेका र विवादमा तानिएका मन्त्रीलाई बिदा दिने तयारी उनको छ ।
त्यसैबेला इमान्दार र संगठनसँग बलियो सम्बन्ध भएका व्यक्तिलाई अगाडि बढाउने सोच मुख्य मन्त्रीले बनाएको बुझिएको छ । यस हिसाबले खनाल उपयुक्त उम्मेदवारका रूपमा अघि सरिरहेका छन् । उनी पार्टीप्रति निष्ठावान, संगठनसँग गहिरो सम्बन्ध भएको र जनताबीच लोकप्रिय नेता मानिन्छन् । खनाल पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका झापामा रहेका विश्वासका नेता मध्ये ‘टप टेन’ मा पर्छन् ।
खनालको व्यक्तिगत पृष्ठभूमि
खनालको जन्म तेह्रथुमको साबिक सोल्मा–२ मा भएको हो । बुबा उमानाथ र चन्द्रकला को कोखमा ०२४ सालमा उनि जन्मिए थिए । ०२८ सालमा झापाको धरमपुरमा जग्गा किनेपछि उनी लगायत परिवार ०३२ सालमा पूर्णरुपमा झापामा बसोबास गर्न थाले । उनकी श्रीमती सावित्रा खनाल घरेलु तथा सामाजिक क्षेत्रमा सक्रिय छिन् । १ छोरा र २ छोरीका पिता रहेका खनालका हाल १ छोरा र १ छोरी छन् ।
शिक्षामा उनले जनआदर्श माविबाट एसएलसी, धनकुटा बहुमुखी क्याम्पसबाट आइ.एड., सुकुना बहुमुखी क्याम्पस मोरङ्गबाट बी.एड. र गौरादह बहुमुखी क्याम्पसबाट एम.एड. उत्तीर्ण गरेका छन् ।
प्रदेश राजनीतिको चुलिँदो बहस
कोशी प्रदेशमा अहिले मन्त्री फेरबदल हुने चर्चा मात्र छैन, यसको तयारी पनि तीव्र भएको छ । पार्टीभित्र असन्तोष कम गर्ने र संगठनलाई व्यवस्थित बनाउने रणनीति अन्तर्गत नयाँ अनुहार ल्याउने सोच मुख्य मन्त्रीले बनाएको मुख्य मन्त्री सचिवालय श्रोतको दावि छ । यसैपनि पार्टी अध्यक्ष संगको निकटताका कारणले पनि खनाल अब छानिने मन्त्री मध्ये पहिलो रोजाईमा पर्छन् भन्ने आंकलन नेताको छ । नेकपा एमाले बाहेकका दलले समेत खनाललाई संभावित मन्त्रीका रूपमा आँकलन गर्न थालेका छन् ।
राधाकृष्ण खनाल लामो अनुभव, इमान्दार छवि र संगठनात्मक क्षमताका कारण अहिले कोशी प्रदेशको नयाँ मन्त्री बन्न सक्ने योग्य उम्मेदवारको रूपमा उदाएका छन् ।
जनताले उनलाई एकपटक शिक्षक, एकपटक भूमिसुधार अभियानको अगुवा, र अहिले विकासप्रेमी प्रदेश सांसदका रूपमा अनुभव गरिसकेका छन् । यदि यसपटक मन्त्री बन्ने अवसर पाए भने खनालले प्रदेशभरि विकास र व्यवस्थापनलाई अझ गति दिने विश्वास जनताले गरेका छन् ।



























