सिक्किमका कलाकार झापामा: ‘मेरो भ्वाइस र डान्स युनिभर्स’ फाइनलिस्टका लागि भोट अपिल

0
83

बिर्तामोड । विश्वभरका नेपालीहरूलाई लक्षित गरी आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय गायन तथा नृत्य प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फाइनलमा पुगेका सिक्किमका प्रतिभाशाली कलाकारहरूलाई जिताउन भोट माग्दै कलाकार तथा कन्टेन्ट क्रिएटरहरूको ठूलो टोली सोमबार झापामा आइपुगेको छ।

भारतको सिक्किमबाट गायन विधामा दीपराज राई र नृत्य विधामा अमृता राईले फाइनलमा स्थान बनाउन सफल भएका छन्। उनीहरूलाई जिताउन सिक्किमको विभिन्न क्षेत्रका कलाकार, सामाजिक सञ्जालमा चर्चित कन्टेन्ट क्रिएटर र शुभेच्छुकहरूको टोली झापामा आएको हो।

बिर्तामोडमा आयोजना गरिएको विशेष कार्यक्रममा टोलीले नेपाली समाजभित्र प्रतिभालाई सम्मान दिनुपर्नेमा जोड दिँदै दुवै कलाकारलाई भोट गर्न आग्रह गरेको छ। कार्यक्रममा सिक्किमका चर्चित कलाकार तथा कन्टेन्ट क्रिएटर पदम तामाङ, रक लामा, इन्स्टा मेन, सिक्किम गर्ल, दिपेश ट्वान्टीलगायतले प्रस्तुति दिँदै दीपराज र अमृताको पक्षमा भोट अपिल गरेका थिए।

कार्यक्रममा कलाकार पदम तामाङले “कलाकारको जात, रुप र रंग हुँदैन” भन्दै भारतीय भूभागमा बस्दापनि आफुहरू नेपाली नै भएको बताए। उनले नेपाली भाषा–संस्कृति जोगाउन सबै नेपाली एकजुट भएर सिक्किमका कलाकारलाई जिताउन आग्रह गरे।

अन्य कलाकारहरूले पनि सिक्किम सरकारको सहयोग र प्रोत्साहनबारे विशेष चर्चा गर्दै प्रतियोगितामा दीपराज र अमृताले जित हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका थिए।

झापामा आएको टोलीको नेतृत्व सिक्किमका फूर्वा रेन्जिङले गरेका थिए। उनले सिक्किम र नेपालबीच सांस्कृतिक सम्बन्ध अझ मजबुत बनाउन यस्ता कार्यक्रमले पुलको काम गर्ने बताए। बिर्तामोडको कार्यक्रमको सहजीकरण फूर्वा लामाले गरेका थिए भने सुनिता तामाङले संचालन गरेकी थिइन्।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को फिनाले यही भदौ ७ गते काठमाडौंमा हुने भएको छ। विजेताले १र१ करोड रुपैयाँ नगदसहित विभिन्न अवसर पाउनेछन्। नेपालमै अहिलेसम्म राखिएको सबैभन्दा ठूलो पुरस्कार राशी भएकाले पनि यो प्रतियोगिता चर्चामा छ।

गत सिजनमा ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि सिक्किमकै प्रितम राईले जितेका थिए। त्यस्तै ‘मेरो डान्स युनिभर्स’ की विजेता थाइल्यान्डकी खुसी कार्की बनेकी थिइन् भने सिक्किमकी मिग्मा डी लेप्चा सेकेन्ड रनरअप बनेकी थिइन्। यसपटक पनि सिक्किमका कलाकारहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने विश्वास गरिएको छ।

प्रतियोगिताको मूल उद्देश्य नेपाली गीत, संगीत र नृत्यलाई विश्वभर रहेका नेपाली समुदायबीच प्रोत्साहन गर्नु, आपसी सद्भाव बढाउनु र नेपाली भाषा–संस्कृति जोगाउनु रहेको आयोजकले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here