मदिरा–सूर्तीजन्य प्रायोजन अस्वीकार गर्दै झापा महिला गोल्डकप चर्चामा

0
171

बिनोद सापकोटा,
झापा ।

आगामी कात्तिक १५ गतेदेखि २२ गतेसम्म झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण झापा महिला गोल्डकप आयोजना तयारीमा मात्र नभई केही महत्त्वपूर्ण निर्णयका कारण पनि देशव्यापी चर्चामा छ।

झापामा यसअघि हुने अन्य गोल्डकपहरूले प्रायः मदिरा वा सूर्तीजन्य उत्पादन बेच्ने उद्योगका सहयोगमा प्रतियोगिता सम्पन्न गर्दै आएका छन्। तर, यसपटक झापा महिला गोल्डकपले त्यस्तो ‘परम्परा’लाई तोड्दै स्वास्थ्यप्रति जिम्मेवार निर्णय गरेको छ।

‘मदिरा र सूर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि प्रत्यक्ष हानिकारक भएकाले यसको प्रचार–प्रसार हाम्रो प्रतियोगितामा हुनेछैन,’ आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले भने। उनका अनुसार केही प्रतिष्ठित मदिरा कम्पनीले आकर्षक रकमको प्रायोजन प्रस्ताव पेश गरे पनि आयोजकले अस्वीकार गरेको हो।

उनका अनुसार मुलुकका विभिन्न ठाउँका नौवटा मदिरा र चारवटा सुर्तीजन्य कम्पनीले अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम झापा महिला गोल्डकप प्रायोजनको प्रस्ताव गरेका थिए। थोप्राले थपे, ‘हामीलाई तत्काल १५ लाख रुपैयाँ सजिलो हुने थियो तर दीर्घकालीन असरमा युवामाझ गलत सन्देश पुग्छ। त्यसैले हामीले त्यसलाई स्वीकारेनौँ।’

यसअघि झापामा भएका अधिकांश गोल्डकपहरू मदिरा वा सूर्तीजन्य उत्पादनकै सहयोगमा सम्पन्न हुने गरेका थिए। सम्भवतः पहिलोपटक कुनै गोल्डकपले यस्तो प्रकारको प्रायोजन नलिने निर्णय गरेको हो।

आयोजकको यो निर्णयले सामाजिक सन्देश प्रवाह गरेको भन्दै खेलप्रेमी र स्थानीय समाजमा प्रशंसा गरिएको छ। महिला खेललाई स्वास्थ्यमैत्री सन्देशसँग जोडेर अगाडि बढाउने आयोजकको अठोटले झापा महिला गोल्डकपलाई ‘फुटबल मात्र होइन, चेतनाको गोल्डकप’ बनाएको खेल पत्रकार हिमाल खरेलले बताए । खरेल झापा महिला गोल्डकप का मिडिया को-अर्डिनेटर हुन् ।

थप सहयोगका लागि विभिन्न संघसंस्था, कर्पोरेट हाउसहरू सकारात्मक भएका छन्। आयोजकले प्रायोजन कसरी र कुन शर्तमा स्वीकार गर्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको जनाएको छ।

झापामा पहिलोपटक महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा ल्याउने यो प्रतियोगिता स्वास्थ्यप्रति सचेत निर्णय का कारण अझै विशेष बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here