भद्रपुर । 
‘मिस्टर नेपाल २०२५’ का लागि छनोट भएका ३० युवामध्ये झापा भद्रपुरका गिरिशरत्न शाक्य उपाधिको दौडमा रहेका छन् ।
नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको प्रतियोगितामा भद्रपुर–६ निवासी गिरिशरत्नसहित ३० युवा डिजिटल अडिसनबाट छनोट भएका हुन् ।
गिरिशरत्नसहित छानिएका सबै प्रतियोगीहरू ‘मिस्टर नेपाल २०२५’को उपाधिका लागि अहिले कडा प्रशिक्षणमा रहेको गिरिशरत्नका बुबा सुभाषरत्न शाक्यले जानकारी दिए । उनका अनुसार छोरा गिरिशरत्न झापा जिल्लाकै प्रतिनिधित्व गरिरहेका छन् ।
छोरा सानैदेखि मोडेलमा रुची राखेको र डिजिटल अडिसनबाटै छनोटमा परेको उनको भनाई छ । प्रतियोगी नम्बर १२ का गिरिशरत्न शाक्यलाई भोट दिन उनले आह्वान समेत गरेका छन् ।
प्रतियोगितामा उनीहरू बीच पौडी, फुटबल, चट्टान आरोहण, समाजसेवा, छोटो पदयात्रा, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जनभन्दा बढी विषयको प्रशिक्षण जारी छ ।
प्रतियोगितामा मुलुकको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने जनाइएको छ । फिनालेमा मिस्टर वल्र्ड नेपाल, मिस्टर ग्लोबल नेपाल र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर तीन विजेता छानिने छ ।
विजेताले ‘मिस्टर वल्र्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अवसरका साथै पाँच लाख रुपैयाँ बराबरको पुरस्कार जित्ने छन् । प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिपमा प्रशान्त ताम्राकार छन् । फिनाले सोल्टी होटेलमा १२ सेप्टेम्बर अर्थात् भदौ २७ मा आयोजना हुनेछ ।






























