विनोद सापकोटा
झापा, बिहान ४ः३० बजे अलार्म बज्छ । ३९ वर्र्षीय नारायण प्रसाद शिवाकोटीको निद्रा त्यै अलार्मले तत्कालै खुलाउँछ । आँगनमा राखिएको पुरानो साइकल उनले मिच्दै गरेको आँखाले देख्ने पहिलो चिज हो । त्यही साईकलमा भर पर्छ उनको बिहान, परिवार र जीवनभरको संघर्ष । 
घाम होस् या बादल, हुरी होस् या पानी । बिहान ६ बज्न नपाउँदै उनी झिलझिले पश्चिम बस स्टेन पुग्छन् । त्यही ठाउँमा एक मुठो पत्रिकाले उनलाई प्रतीक्षा गरिरहेका हुन्छ । सडकमा रहेकोे एक मुठो पत्रिका उठाउनेबित्तिकै सुरु हुन्छ उनको दिन चर्या । शिवसताक्षी नगरका डुँडामारी, धरमपुर, दुधे हुँदै झिलझिले बजारका गल्ली–गल्लीका घर र पसलमा पत्रिका लिएर उनि साईकलमा पुग्छन् ।
यो यात्रा उनले २०६२ सालदेखि सुरु गरेका हुन् । दुई दशक बितिसक्दा पनि उनका हातमा अझै पत्रिका र जीवनको साइकल नै भरपर्दो साथी बनेका छ । पत्रिका वितरणकार्य उनको रोजगारी हो । कुनै समय उनले कान्तिपुर, नागरिक, नयाँ पत्रिका, अन्नपुर्ण पोष्ट मात्र होइन मोफसलका पूर्वाञ्चल, ब्लास्ट टाइम्स, विवेचना, अर्जुनधारा, औजारलगायत दर्जनौँ दैनिक पत्रिकाको वितरण गर्थे ।
बिहान ४ः३० बजे उठ्ने । गाडिले छाडिदिएको पत्रिकाको मुठो सडक किनारबाट खोज्ने उठाउने । च्यातिएको मिलाउने । धुलो पुछ्ने अनि साइकल चढेर घर–घरमा पुर्याउने उनको नै उनको दिनचर्या थियो ।
‘पानी परोस्, अँध्यारो होस्, बाटो हिलो होस मलाई कुनै बहाना थिएन । पत्रिका त घर–घर पुग्नैपर्छ,’ उनी विगतलाई सम्झदै भन्छन् ।
अन्नपुर्ण पोष्ट मात्र दिनहुँ १ सय ५० थान बाँड्थे । कान्तिपुर १ सय प्रति बाँड्थे । नयाँ पत्रिका ३०, नागरिक ५, ब्लास्ट टाइम्स २५, औजार २० का दरले दिनहुँ बाँड्थे । झिलझिलेका सडकमा नारायणलाई देख्ने जो कोहीलाई थाहा थियो– ‘पत्रिकावाला आयो । अब पत्रिका पढ्न पाईने भयो ।’
तर समय बदलियो । अनलाइन खबरले बजार कब्जा गर्न थाल्यो । काठमाडौँ र विराटनगरबाट छापिने पत्रपत्रिकाहरू बन्द भए । एक–एक गर्दै पत्रिकाका पाठकका हात खाली हुन थाले ।
आज उनीसँग नियमित एउटै मात्र पत्रिका बाँकी छ, त्यो हो पूर्वाञ्चल दैनिक । उनले यतिबेला पनि १ सय ५० प्रति पत्रिका बाँढेर त्यसबाट उठेको थोरै रकमले घर व्यवहार चलाउँछन् । हुन त यो संख्याले उनको जीवन धान्न सक्दैन । तर पाठकहरूको मोह र सन्तुष्टिले उनलाई गहिरो ढँगले बाँधेको छ । ‘अब प्रिन्ट मिडिया हराउँदै छ । तर वृद्ध पुस्ता अझै पनि कागजमा छापिएको खबरको गन्धमा रमाउँछन । यही कारणले म अझै पत्रिका बाँडिरहेको छु,’ उनी भन्छन् ।
शिवशताक्षी–८ का ९५ वर्र्षीय रत्नकुमार लावती पूर्वाञ्चल दैनिकका पुराना पाठक हुन् । उनी भन्छन् ‘१५ वर्ष भयो यो पत्रिका पढ्दै आएको । बिहान घरमा पत्रिका आएन भने के छैन, के छैन जस्तो लाग्छ ।’ उनका छोरा योगेन भन्छन् ‘बुबा बिहानदेखि बेलुकीसम्म चश्मा लगाएर पत्रिका पढिरहनुहुन्छ । पाहुना आए पनि पहिले गफ गर्नुहुन्छ । गफ सकेरे दिनभरि पत्रिका पढ्नुहुन्छ ।’ मेरो बुवाको पत्रिका नै यतिबेला खालि समयको साथी हो ।’
यस्तै ७० वर्षीँय नेत्रप्रसाद ढकाल पनि दिनहुँ पत्रिका पढ्छन् । उनि भन्छन् ‘अरु जुनसुकै पत्रिका भए पनि, पूर्वाञ्चल नआएका दिन दिनै जाँदैन । शिवसताक्षी ११ का ८४ वर्षीय मोहन कडरिया त अझै भावुक छन् । ‘पत्रिका नपढी दिनै बित्दैन । भोक लाग्दैन र प्यास लाग्दैन । जीवनको उत्तरार्धमा सबैभन्दा ठूलो औषधि यही बनेको छ ।’
कडरियाको घरमा अझै पनि २० वर्षे पुराना पत्रिका छन् । मौषमी इतिहाँस हेर्नुपर्यो भने उनि थन्क्याएर राखेका पुराना पत्रिका पल्टाउछन् । उनको स्मरण शक्ति पनि तेज छ । ‘०२२ साल यताका हरेक दिनका घटना उनको मानस पटलमा छ । यसको एउटै कारण हो दिनहुँ पत्र पत्रिका पढ्नु,’ उनले यसै भने ।
यस्ता ग्राहकहरूको चाहनाले नारायणलाई अझै पनि साइकल चढ्न प्रेरित गरिरहेको छ ।
पत्रिकाबाट कमाइ खासै हुँदैन । ‘पाँच रुपैयाँको पत्रिका घर–घर र्पुयाउने मेहनतको मूल्य उनले पाउछन् । कतिपय ग्राहकले कहिले खुसीले पत्रिकाको पैसा दिन्छन, कतिले दिदैनन् । मासिक हिसाबले उठ्नुपर्ने रकम उठ्दैन । जोडजवरजस्त गरेर उठाउने कुरो भएन । जति उठ्छ । पत्रिका निकाल्दाको लागेको खर्च प्रकाशन गृहलाई पठाइदिएर बाँकी घर व्यवहार चलाउने गरेको छु, उनले भने ‘पत्रिका बाँडेर पैसा कमाउन सकिदैन । सन्तुष्टी भने अवस्य मिलेको छ ।’
पत्रिका घाटाबीच पनि उनले एउटा ठूलो नाफा कमाएका छन् । त्यो हो ग्राहकको खुसी । ‘ ाठकलाई सन्तुष्ट देख्दा मलाई ऊर्जा मिल्छ । त्यो नै मेरो असली कमाइ हो,’ उनी भन्छन् ।
नारायणका आँखामा अझै सपना बाँकी छ । ‘म मा गरिबी थिएन भने इलेक्ट्रिक साइकल किन्थें । अझ छिटो र ५सय भन्दा बढी पाठकको हातमा सबेरै पत्रिका पुर्याउन सक्थें ।’ २० वर्ष देखि नियमित साईकल कुदाईरहदा अहिले उनको पिठ्युको हड्ठी दुख्न थालेको छ । मेरुदण्ड पनि दुख्छ । शरिरका हड्डी चिलाउँछन् । तर पनि उनी बडो गर्वका साथ भन्छन्, ‘घाम, पानी, हुरी, बतास ले नछेकेको मेरो काम अब झन केले छेक्ला र ?’
उनले भने, ‘अब यो बाहेक मेरो अन्य रोजगार छैन । खेति गरौ, धेरै जग्गा छैन । विदेस जाँउ, उमेरले दिदैन । ईलेक्ट्रिक साईकल भए जीवन भर पत्रिका बाँढेर बुढा भएका बा आमालाई भात ख्वाउथे ।’ उनि एकोहोरो हुँदै भने ‘विनोद सर म संग सम्पती भइदिएको भए यो पत्रिका किन बाढ्नु पथ्र्यो र ?’
शिवाकोटीलाई चिन्ता लाग्छ, नयाँ पुस्ताले गाउँमा पत्रिका पढ्नै छोडिसकेका छन् । ‘आजका युवाले मोबाइल खोले एकैछिनमै समाचार पढ्छन् । त्यसैले पत्रिका पढ्ने बानी हराउँदै गएको छ । अब पठनसंस्कृतिको जगेर्ना नै ठूलो चुनौती हो,’ उनी भन्छन् ।
नारायणको जीवनलाई बाहिरबाट हेर्ने जो कोहीले भन्न सक्छन् ‘दिनहुँ काम त्यसमा पनि घाटामै घाटा’ । तर उनले भोगेका बिहान, साइकल कुदाउँदा चुइकिएको आवाज, पत्रिकाको गन्ध र पाठकको खुसीले उनको जीवनलाई अमुर्त नाफा दिइरहेको छ ।
काठमाडौँदेखि इटहरीसम्म उनले पत्रिका बोकेका छन् । पहिले त सडकमा पैदल यात्रुलाई समाचारको शीर्षक पढेर सुनाउँदै पत्रिका बेच्थे । सिमिति पत्रिकाका कारण अहिले त्यो परम्परा हटेको उनले बताए ।
बिहान सबेरै झिलझिलेका गल्लीमा पत्रिका बोकेको साइकल देख्दा मानिसहरू भन्छन्,‘ ए, नारायण आउँदैछन् । आज पनि यहाँको स्थानिय समाचार केही छापिएको छ की ?’
स्थानिय भन्छन्, ‘नारायणले पत्रिका बाँडेर कमाएको सम्पत्ति छैन । छ त उसको अहिले सम्मको जिन्दगी । उनले बोकेको पत्रिका मार्फत सयौँ परिवारमा पठन संस्कृतिको बिकास भईरहेको छ । यो निक्कै ठुलो सफल्ता हो ।’





























