सुन्दरहरैंचा (मोरङ) :
मोरङको सुन्दरहरैचा–७ मा रहेको सामाजिक मिलन केन्द्र प्रतिष्ठानद्वारा आयोजित नगर स्तरीय तीज विशेष नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्टस् ग्राममा भएको तीज विशेष नृत्य प्रतियोगिता कौसीका भजन समूहले प्रथम स्थल हासिल गर्न सफल भएको छ।
कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु रातो साडी, चोलो तथा विभिन्न किसिमका गरगहना लगाएर सहभागी भएका थिए । तीजको भाकामा छमछमी नाँचेर सहभागीहरुले रमाईलो गरेका थिए भने स्थानिय कलाकरहरुले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो ।
कार्यक्रममा जनचेतनामुलक नाटक समेत देखाईएको थियो। कार्यक्रममा सामाजिक क्षेत्रमा योगदानपुर्याउने संस्थालाई तथा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष गंगानाथ पोख्रेलको अध्यक्षता तथा सामाजिक व्यक्तित्व मित्रसेन योन्जनको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथि पूर्व प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती, स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाईं, आश्रय सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्री लगायतको उपस्थिति रहेको थियो।






























