बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण

0
83

झापा, झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरीले विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरूलाई लक्षित गरी एकदिने बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षणमा सहभागी अभिभावकलाई बालबालिकाको मानसिक स्वास्थ्य, पढाइ–लेखाइमा देखिने चुनौती समाधानका उपाय, सकारात्मक सोच विकास र व्यवहारमैत्री वातावरण निर्माणका विषयमा विशेष जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले बालबालिकाको समुचित विकासका लागि अभिभावक, शिक्षक र विद्यालयबीच त्रिपक्षीय सहकार्य आवश्यक हुने उल्लेख गर्दै यस किसिमका प्रशिक्षणहरूले बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक वातावरण बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशिक्षक सोमाली मैनालीले अभिभावकलाई बालबालिकाको मनोवृत्ति, पढाइमा देखिने समस्या, व्यवहारगत परिवर्तन, मानसिक स्वास्थ्य, आत्मविश्वास विकास, घर र विद्यालयबीचको सहकार्य लगायतका विषयमा विस्तृत प्रशिक्षण दिएकी हुन् ।उनले बालबालिकालाई बुझ्न अभिभावक धैर्यवान् र सहजीकरणमा सक्षम हुनुपर्ने बताइन् ।

उक्त अवसरमा विद्यालयका सञ्चालक सरोज पौडेलले बालबालिकाको सीप र क्षमता पहिचान गरी उनीहरूलाई उचित दिशामा अघि बढाउन अभिभावक र शिक्षकबीच निरन्तर समन्वय अपरिहार्य रहेको बताएकी छन् । उनले यस किसिमका कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।
त्यसैगरी सोही अवसरमा विद्यालयले तीज विशेष कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले तीज गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा शान्ति टोल विकास समितिको नवनिर्वाचित कार्यसमितिलाई विद्यालय परिवारतर्फबाट शुभकामना दिइएको थियो । समितिको सफल कार्यकालको कामना गर्दै विद्यालयले समुदायसँग सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here