विनोद सापकोटा,
झापा ।

एसियन हाइवेको माटो फिलिङ गर्ने ठेकेदारहरूले आफूहरूले काम सम्पन्न गरे पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । कालिका कन्स्ट्रक्सन कम्पनीले रकम नदिएपछि शनिबार ठेकेदारहरूले शिवसताक्षी–१ डुडामारी स्थित कम्पनीको सम्पर्क कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कमल गाउँपालिकाको सीतापुरीदेखि केर्खा खोलासम्मको पूर्व–पश्चिम राजमार्गको दुवैतर्फ माटो फिलिङ गर्ने काम स्थानीय ठेकेदारले कालिका कन्स्ट्रक्सन सँग सम्झौता गरेर जिम्मा लिएका थिए । उक्त सडक खण्डको करिब ३०० मिटर फिलिङ अब गर्न बाँकी छ । ठेकेदारले काम सम्पन्न भएको रकम पनि कालिका कन्स्ट्रक्सन कम्पनीले नदिएको गुनासो गरेका छन् ।
कालिका कन्स्ट्रक्सन कम्पनीले प्रतिघन मिटर ५३४ रुपैयाँ ८७ पैसा दरमा स्थानीय ठेकेदारलाई कामको जिम्मा दिएको थियो । ठेकेदारका अनुसार ४३ हजार घनमिटर माटो फिलिङ गरिएको छ । करिब २ करोड ३० लाख रुपैयाँ भुक्तानी पाउनुपर्नेमा कम्पनीले १ करोड १० लाख मात्र दिएको आरोप ठेकेदारको छ । बाँकी १ करोड २० लाखभन्दा बढी भुक्तानी नपाएको गुनासो ठेकेदारको छ । उनीहरूले पटक–पटक काम गरेको रकमको भुक्तानी दिन आग्रह गर्दा पनि कम्पनीले अटेरी गरेको बताए ।

यसअघि ठेकेदारहरूले इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका थिए। प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा कम्पनीले रकम दिनुपर्ने सहमति भए पनि भुक्तानी भने रोकिएको ठेकेदारहरूको भनाइ छ।
तर कालिका कन्स्ट्रक्सनका व्यवस्थापकीय प्रमुख उज्वल प्रसाईले भने ठेकेदारहरूको आरोप असत्य रहेको दाबी गरे। ‘कामअनुसार भुक्तानी भइसकेको छ । केही काम बाँकी छ । बाँकी काम पूरा भएपछि मात्रै बाँकी रकम दिइनेछ,’ प्रसाईले भने । ‘उहाँहरुले गरेको कामको रकम एक रुपैयाँपनि हराउँदैन साथीहरु ढुक्क भए हुन्छ ।’
उनले ठेकेदारहरूले ९ हजार घनमिटरभन्दा बढी काम भएको दाबी गरेकाले यसको नापजाँचपछि मात्र अन्तिम रकम निर्धारण हुने स्पष्ट पारे । ‘सरकारले नै नदिएको रकम हामी कसरी दिन सक्छौ ं? नेपाल सरकारले दिएको रकम एक रुपैयाँ पनि तलमाथी नभई उहाँहरुले गरेको कामको रकम पाउनुहुन्छ,’ उनले भने ।
स्थानीय ठेकेदारले २०८१ साल वैशाखमा सम्झौता गरेर १६ महिनादेखि काम गर्दै आएका थिए । सम्झौता अनुसार अझै आठ महिना समय बाँकी भए पनि अहिलेसम्मको कामकै रकम भुक्तानी नपाएको ठेकेदारहरूको गुनासो छ ।
कालिका कन्स्ट्रक्सन कम्पनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको स्वामित्वमा रहेको छ ।





























