अर्जुनधारा ।

”युवाहरुको साझा आवाज, लागूऔषध रहित समाज” भन्ने मुख्य नारासहित यही भदौ २७ गतेदेखि दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ ।
अर्जुनधारा–९ स्थित गोलधाप युवा क्लबको आयोजनामा आयोजित उक्त प्रतियोगिताको विषयमा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता र अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्यमा आइतबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
असोज ६ गते सम्पन्न हुने प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ५१ हजार र ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष राईले जानकारी दिए । प्रतियोगिताका विजेताले प्राप्त गर्ने नगद पुरस्कार ५१ हजार मचिन्द्र सुब्बाका परिवारबाट सौजन्य हुने उनका भाइ एवम् अर्जुनधारा नगर सभा सदस्य बुद्धिमान लिम्बूले जानकारी दिए ।

स्थानीय नमूना खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र उत्कृष्ट प्रशिक्षकले जनही नगद पुरस्कार दुई हजार पाँच सय तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद पुरस्कार एक हजार प्राप्त गर्ने छन् ।
११ साइडको फर्मेटमा ४० वर्ष माथि उमेर समूहका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा तीन जना भने ३५ वर्ष माथि उमेर समूहका खेलाडी सहभागी हुन सक्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित तीन लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । क्लबका सचिव भूपाल कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सल्लाहकार किरण राईले गरेका थिए ।




























