अर्जुनधारा ।

मिस नेपाल २०२५की प्रतियोगी झापाको अर्जुनधारा नगरपालिका–१ निवासी दिपशिखा नेपाल(प्रतियोगी नं. ७)लाई जिताउन अर्जुनधारा–१ नं. वडा कार्यालयले सबैसँग अपिल गरेको छ ।
वडा कार्यालयद्वारा कार्यालयमा आइतबार आयोजित पत्रकार भेटघाटमा हाल प्रतियोगिताको बन्द शिविरमा रहेकी उनलाई जिताउन वडाध्यक्ष उपेन्द्र बस्नेतले अपिल गरेका हुन् ।
वडाध्यक्ष बस्नेतले दिपशिखा केवल वडाको मात्र नभई नगर, क्षेत्र र सिङ्गो जिल्लाको लागि प्रेरणाको स्रोत हुने हुँदा उसको जितको लागि आफूहरुले अपिल गरेको वडाध्यक्ष बस्नेतले बताए । “यही भदौ १४ गते हुने फाइनल प्रतियोगिताको प्रतियोगीको रुपमा समेत चयन भएकी दिपशिखाको प्रतिभा र छवि झापा जिल्लाले गर्व गर्ने किसिमको रहेको छ ।”–उनले दावी गरे ।
त्यसैगरी वडाले उनको जितको लागि अभियान सञ्चालन गरि प्रत्यक्ष सम्पर्कमार्फत् घरदैलो, हाटबजारमा प्रचार गर्ने, सामाजिक सञ्जालका विभिन्न माध्यम, ब्यानर, समुदायमा आधारित प्रचारमार्फत् स्थानीय क्लब, टोल विकास समिति, संघसंस्थाहरुसँग समन्वय गरि कार्यक्रम गरिरहेको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।
को हुन् दिपशिखा नेपाल(२३) ?
आमा प्रभा भण्डारी र बुबा भीम नेपालको दुई सन्तानमध्ये पहिलो सन्तानको रुपमा उनको जन्म वि.सं. २०५९ साल वैशाख १० गते भएको हो ।
प्रारम्भिक शिक्षा स्थानीय सिंहदेवी माध्यमिक विद्यालयबाट शुरु गरेका उनले क्रमश बुद्धशान्तिस्थित ज्योती माध्यमिक विद्यालय हुँदै अर्जुनधारा नगरपालिका–७स्थित रुपरत्न अङग्रेज आवासीय विद्यालयबाट एसईई तहको शिक्षा पूरा गरेकी हुन् । त्यसपछि बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा–१२ उत्र्तीण गरेकी उनले काठमाण्डौंस्थित त्रिचन्द्र कलेजबाट विज्ञान विषयमा स्नातक तह उत्र्तीण गरेकी हुन् ।

हाल जलवायु परिवर्तनको अनुसन्धानकर्ताको रुपमा काम गरिरहेकी उनले युवा अभियन्ताको रुपमा जलवायु न्याय र बाल अधिकारको क्षेत्रमा सेभ दी चिल्ड्रेन र नेपलीज युथ फर क्लाइमेट एक्सन जस्ता संस्थासँग काम गर्दै युवा र महिलाले नेतृत्व गरिरहेको परियोजना सञ्चालन गरिरहेकी छिन् ।
उनले युथ इनोभेसन ल्याबमार्फत् जलवायु परिवर्तनका कारण हुने क्षती तथा हानी र विपद् जोखिम सञ्चार सम्बन्धी अनुसन्धानरत् परियोजनाहरुको पनि नेतृत्व गरिरहेकी छिन् । मिस नेपाल २०२५मा सहभागी हुनुको उनको उद्देश्य जलवायु संकटसँग जुधिरहेका आम नेपाली समुदायलाई स्वर दिनु र प्रकृतिमा आधारित समाधानमा प्रोत्साहन गर्नु रहेको छ ।
विद्यार्थी जीवनमा जिल्लास्तरिय कार्यक्रमहरु अन्र्तगत अङग्रेजी भाषण प्रतियोगितामा भाग लिई विराटनगरस्थित विज्ञान प्रयोगशालाको अनुसन्धान शिविरमा सहभागी हुन सफल भएकी उनी यस अघि सन् २०१८की मिस प्रोभिन्सकी फस्ट रनर अप पनि रहेकी छिन् ।


























