बिर्तामोड, नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउँदै गरेका बाल प्रतिभा हुन् संस्कार सापकोटा ।
निजानन्द सम्प्रदाय अन्तर्गत श्रीकृष्ण प्रणामी धर्ममा दिक्षित सापकोटा राष्ट्रिय स्तरको प्रतिष्ठित रियालिटी शो सारेगमप लिटल च्याम्स सिजन २ मा सहभागी बन्दै नेपालका चर्चित गायकका कर्णप्रिय गीत र भजन गाउँदै चर्चाको शिखरमा छन् ।
बिर्तामोड– ५ निवासी संस्कारले. सनलाइट म्युजिक स्टुडियोबाट संगीतको यात्रा प्रारम्भ गरेका थिए । न्यूटन्स एजुकेशन एकाडेमीमा कक्षा ८ मा अध्ययनरत् उनी सारेगमप लिटल च्याम्स सिजन २ को फाइनल राउण्डमा छन् ।
बिर्तामोड नगरपालिका–५ बुद्धनगर टोल निवासी भरत सापकोटा र रत्नाकुमारी ओझा सापकोटाका पुत्ररत्नका रुपमा २०७० साल साउन २३ गते जन्मिएका उनी संगीतमा रूची राख्ने विलक्षण कला भएका बाल प्रतिभा हुन । चार वर्षसम्म वाद्यबाधन तबलाको तालिम लिएर निरन्तर तबला बजाउँदै आएका उनी गायनसँगै बाध्यबाधनमा समेत उत्तिकै निपूर्ण छन् । बिर्तामोडस्थित सप्तक सङ्गीतालयमा तबला र भोकल (गायन) दुबै विधामा अभ्यासरत उनी पछिल्लो समय गायन क्षेत्रमा बढी सक्रिय छन् ।
समाजमा आफ्नो कलालाई प्रस्तुति देखाउने गर्नेक्रममा संस्कारले छोटो समयमा विभिन्न प्रतियोगितामा उल्लेखनीय सफलता हात पारिसकेका छन् । यसैक्रममा २०८१ असार ८ गते बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रममा एकल खुल्ला मादल प्रतियोगितामा उनले प्रथम स्थान हासिल गर्न सफल भए ।
त्यस्तै उनले न्यूटन्स एजुकेशन एकेडेमी बिर्तामोडले आयोजना गरेको न्यूटन्स आइडलमा समेत गायनतर्फ प्रथम स्थन हासिल गर्दै आफ्नो प्रतिभालाई अझ सशक्त रूपमा स्थापित गरे ।
केबल एक वर्षदेखि मात्र गायन सिक्न थालेका संस्कारले तबला जस्तो गहन र साधनापूर्वक सिकिने वाद्ययन्त्रमा भने आश्चर्यजनक निपूर्णता प्राप्त गरिरहेका छन् । यस्तो प्रतिभा केवल अभ्यासले मात्र सम्भव हुँदैन परमात्माको कृपा र सन्त मनिषीहरूको आशीर्वाद एवम् पूर्वजन्मको सत्कर्म, अनि यसजन्मको आध्यात्मिक सङ्गत र सत्सङ्गको प्रतिफल हो भन्ने अनुभूति दिलाएका छन् ।
सांगीतिक यात्रातिर उन्मुख नवप्रतिभाले प्राणनाथ सदन बिर्तामोड, देवचन्द्र सदन बिर्तामोड, प्रणामी मन्दिर चारपाने, प्रणामी मन्दिर चारआली, प्रणामी मन्दिर धुलाबारी जस्ता आध्यात्मिक स्थलहरूमा आयोजित विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा तबला वादनको सेवा गर्दै नाम अनुसार काम भन्ने युक्तिलाई पुरा गर्दै आएका छन् ।
साहित्यिक चौतारी बिर्तामोडको साहित्यिक–सांस्कृतिक कार्यक्रमदेखि लिएर छठ पर्व जस्ता विशेष समारोहमा झापा तथा आसपासका थुप्रै कार्यक्रममा उनी तबलावादकको रूपमा आकर्षणको केन्द्र बनेका छन् ।
संस्कारको तबला बजाउने कलाले केवल लय वा तालको प्रदर्शन गर्ने नभई, त्यो त एकप्रकारको भक्तिपूर्वक साधना हो । जहाँ प्रत्येक तवला वजाँउदाका चोटमा भगवानको स्मृति, श्रद्धा र समर्पण समाविष्ट हुन्छ । यसरी संस्कारको सांगीतिक समर्पणले भविष्यमा उनी एक महान तबला वादक तथा सांस्कृतिक हिरो बन्ने संकेत दिइरहेको छ ।
यो यात्रामा उनले देखाएको मेहनत, आत्मविश्वास र सुरिलो स्वरले दर्शक तथा निर्णायकको मन जित्न सफल भएको छन । संस्कार भन्छन्– ‘यो मञ्च केवल मेरो लागि मात्र नभई पूर्वी नेपाल, प्रणामी समाज तथा सम्पूर्ण नेपालीहरूको संगीतको पहिचान लिएर अघि बढ्ने एउटा ठूलो अवसर हो । त्यसैले म यो यात्रालाई सफल बनाउनु चाहान्छु ।’
उनको यो उपलब्धि केबल व्यक्तिगत उचाइ मात्र होइन, यो एउटा प्रेरणा पनि हो । जसको प्रस्तुतिले देखाउँछ साधना, समर्थन र दृढ इच्छाशक्तिका साथ कुनै पनि कार्यमा लाग्यो भने बालप्रतिभाले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा समेत आफूलाई वास्तवमै कलाकार दर्जामन प्रमाणित गर्न सक्छ । संस्कारको यस यात्राले नेपाली संगीत क्षेत्रमा बाल प्रतिभाको उज्यालो भविष्यको संकेत दिएको छ । जहाँ स्वर केवल मनोरञ्जनको माध्यम नभई, पहिचान, संस्कार र समाजको आवाज बन्न सक्छ ।
संगीतप्रतिको समर्पण, लगनशीलता र निष्ठाले गर्दा संस्कार आज नेपाली सांगीतिक क्षेत्रमा एक उदाउँदो बालप्रतिभाको रूपमा चिनिँदै गएका छन् । विशेषतः नेपालको अत्यन्तै लोकप्रिय रियालिटी शो सारेगमप लिटल च्याम्स सिजन २ मा फाइनालिष्ट बन्न सफल भएका छन् ।




























