झापा ।

झापाको मेचीनगरमा सडक कालोपत्रे गर्ने क्रममा कञ्चन निर्माण सेवाको अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा एकजना घाइते भएका छन् ।
मेचीनगर –९ दुर्गा मन्दिरस्थित भित्री सडकखण्डमा पिच गर्ने क्रममा मे १ ख ३१३७ न।को अलकत्राको ट्यांकरमा तातिएर अचानक आगलागी भएको हो । आगो निभाउने क्रममा कञ्चन निर्माण सेवाका कामदार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ बस्ने ३१ वर्षीय उमेशकुमार राय घाइते भएका छन् ।
अनुहार, दुवै हात र खुट्टामा आगोको रापले पोलेर घाइते भएका रायलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ । अलकत्राको ट्यांकर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिव २० लाखको क्षति भएको कंचन निर्माण सेवाका सञ्चालक केदार गिरीले बताए ।
प्रहरी , स्थानीयबासी र मेचीनगर नगरपालिकाको दमलकको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । ट्यांकर चालक सिन्धुली सुनकोशी ७ बस्ने ४२ वर्षीय गणेश दाहाल भने सकुशल रहेका छन् ।






























