झापा जिल्लाको सदरमुकाम भद्रपुर देशका पुराना शहरमध्येको एक हो । भद्रपुरमै पूर्वी नेपालका जनसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न वि.सं. २०१५ सालमै अस्पताल स्थापना भएको थियो । पच्चीस शय्याबाट शुरु भएको सेवा अस्पतालको स्तरोन्नति हुँदै अहिले प्रादेशिक अस्पताल भएको छ । तत्कालीन मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरी अञ्चल अस्पतालका रुपमा सञ्चालित थियो । अहिले तिनै चार जिल्लाको सबैभन्दा ठूलो र कोशी प्रदेशको दोस्रो ठूलो अस्पतालका रुपमा यो परिचित छ । उक्त अस्पताललाई दुई सय शय्याको पु¥याउने घोषणा सरकारले गरिसकेको छ र त्यही अनुसारको पूर्वाधार पनि थपिँदैछ ।

प्रादेशिक अस्पताल भद्रपुरमा आवश्यक जनशक्तिको जहिल्यै अभाव छ । उपलब्ध उपकरणहरु प्रयोगमा ल्याउन जनशक्तिको अभावका कारण बिरामीलाई निजी अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता आज पनि यथावत छ । अस्पताल विकास समिति र अन्य सरोकारवाला निकायले आफ्नै तर्फबाट केही जनशक्ति थपेको भए पनि तह अनुसारको सेवा अस्पतालले प्रदान गर्न सकेको छैन यसबीचमा तत्कालीन मेडिकल सुपरिन्टेडेन्टले दरबन्दी, उपकरण लगायत अत्यावश्यक जनशक्ति पठाइदिन मन्त्रालयलाई तागेता गरे, तर आवश्यक दरबन्दीको व्यवस्था नहुँदा सेवा अझै पूर्ण हुन सकेको छैन । एकातिर जनसंख्या वृद्धि भएसँगै सेवाग्राहीको चाप बढेको छ, अर्कातिर प्राविधिक तथा चिकित्सक लगायत स्वास्थ्यकर्मीको कमी छ ।
बाह« वर्षअघि नवजात शिशु सघन हेरचाह इकाई (एनआइसीयु) सेवा सञ्चालन गर्न आवश्यक उपकरण अस्पताललाई प्राप्त भएको थियो । तर, अझै उक्त सेवा सञ्चालन गर्न नसक्दा ती उपकरण त्यत्तिकै थन्क्याइएका छन् । अस्पतालको गोदाममा थन्किएका उपकरणहरु बाह« वर्षपछि उपयोगमा ल्याउने तयारी गरिएको अस्पतालका निमित्त मेसु डा. सञ्जयकुमार गुप्ताले बताएका छन् । केन्द्रबाट प्रदेश सरकारलाई व्यवस्थापन हस्तान्तरण गरिएको सो अस्पतालको सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्दा खासगरी विपन्न वर्गका जनताले सास्ती व्यहोर्नु परेको छ । एनआइसीयु सेवा सञ्चालनका लागि तीन जना बालरोग विशेषज्ञ, नर्सिङ स्टाफसहितको जनशक्ति आवश्यक हुने र सबै व्यवस्था गरेर हप्तादिनभित्रमा सेवा सञ्चालन गर्ने नि.मेसु डा. गुप्ताले बताएका छन् । भौतिक संरचना, पूर्वाधार तथा जनशक्ति अभावले थन्किएर रहेको उपकरण यथाशीघ्र सञ्चालन भए सम्बन्धित बिरामीलाई राहत हुनेछ । त्यसतर्फ स्थानीय तह र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।




























