“अबको सुन्दरहरैंचा” कार्ययोजना निर्माण गर्न उच्चस्तरीय छलफल हुँदै

0
64

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ),

मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको इन्दपुर जुनियर जेसीजको संरक्षक तथा नगरपालिकाको प्रबधकमा सुन्दरहरैंचा नगरको दीर्घकालीन विकासका सम्भावना, चुनौती र अवसरलाई पहिचान गर्दै भविष्यको स्पष्ट कार्ययोजना निर्माण गर्ने उद्देश्यले एक उच्चस्तरीय छलफल कार्यक्रम आयोजना हुन लागेको हो।

मुख्यतय शिक्षा तथा स्वास्थ्य, नीति तथा राजनीति,उद्यम, कृषि र संस्कृति र सुशासन र पारदर्शिता गरी चार क्षेत्रमा बहस हुने आयोजक इन्द्रपुर जुनियर जेसीजले जनाएको छ। अबको सुन्दरहरैंचामा शिक्षा तथा स्वास्थ्य “सिकाइ, सशक्तिकरण हुँदै समुन्नत जीवनसम्म” गुणस्तरीय शिक्षा, पहुँचयोग्य स्वास्थ्य सेवा र सशक्त नागरिक निर्माणका मार्गबारे केन्द्रित, तथ्याधारित बहस–विमर्श हुनेछ।

वक्ताहरू पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलिया, आई.एन.जी. ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, सामुदायिक चिकित्साशास्त्र विभाग (बीएमसीटीएच) का सह-प्राध्यापक डा. सूर्य बहादुर पराजुली र सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बहस गर्ने छन् भने सहजकर्ताको रुपमा डा. दिपक न्यौपाने रहेका छन्।

अबको सुन्दरहरैंचामा नीति तथा राजनीति “चुनौती, चेतना र चरित्रद्वारा उत्तरदायी नेतृत्वसम्म” नीति र व्यवहारबीचको दूरी घटाउँदै उत्तरदायी नेतृत्व निर्माणका मार्गबारे केन्द्रित, तथ्याधारित बहस–विमर्श हुनेछ। वक्ताहरु: पूर्व मेयर, सुन्दरहरैंचा नगरपालिका शिवप्रसाद ढकाल,पूर्व राज्यमन्त्री, कोशी प्रदेशका राज कुमार ओझा र राष्ट्रिय सभाका सदस्य गोपीबहादुर अछामीले बहस गर्ने छन् भने सहजकर्ता विनय बाहकोटी रहेका छन्।

अबको सुन्दरहरैंचामा उद्यम, कृषि र संस्कृति “स्थानीय सोच, उत्पादन र पहिचान हुँदै आत्मनिर्भर समाजसम्म” स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, कृषिमा नवीनता भित्र्याउने र सांस्कृतिक पहिचान सुरक्षित गर्ने विषयमा केन्द्रित उच्चस्तरीय बहस–विमर्श हुनेछ।

वक्ताहरु: पि.एल.ओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल,कार्यकारी निर्देशक, एग्रीग्रीन नेपालका डा. राजेन्द्र उप्रेती,प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय सहकारी बैंक लिमिटेडका बद्री गुरागाई र कला निर्देशक, शिल्पी नाट्य केन्द्रका युवराज घिमिरेले बहस गर्ने छन् भने सहजकर्ता निरज न्यौपाने रहेका छन्।

अबको सुन्दरहरैंचामा सुशासन र पारदर्शिता “जवाफदेहिता र पारदर्शिता हुँदै न्यायपूर्ण शासनसम्म” दिगो विकासका लागि आवश्यक जिम्मेवार, पारदर्शी र विश्वासिलो शासन व्यवस्थाबारे नीति–अभ्यासको नक्सा कोर्ने उच्चस्तरीय बहस–विमर्श हुनेछ। वक्ताहरु: महालेखापरीक्षक तोयम राया,उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल र सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले बहस गर्ने छन् भने सहजकर्ता बाबुराम निरौला छन्।

अबको सुन्दरहरैंचामा – सुन्दरहरैंचाको यात्रा” आजको अवस्था र भोलिको योजना” मा नगर प्रमुख केदार प्रसाद गुरागाईँले तथ्याधारित बहस–विमर्श गर्ने आयोजक इन्द्रपुर जुनियर जेसीजले जनाएको छ। कार्यक्रम भदौ १४, शनिबार बिराटचोकस्थित नेपालिरिका होटलमा बिहानको १०:३० बजे देखि सुरु हुनेछ। कार्यक्रम आमन्त्रित अतिथिहरूका लागि मात्र हुने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here