आइसक्रिम र बेकरीका पारखीहरुको लागि शनिश्चरे बजारमा ‘मिस्टर बेकरी’को सेवा शुरु

0
95
अर्जुनधारा । 
आइसक्रिम र बेकरीका पारखीहरुलाई लक्षित गरि झापा जिल्लाकै ऐतिहासिक एवम् पूरानो बजार अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे बजारमा शुक्रबारदेखि ‘मिस्टर बेकरी’ सञ्चालनमा आएको छ ।
वैदेशिक रोजगारीको क्रममा आइसक्रिम र बेकरीका क्षेत्रमा लामो समयको अनुभव संगालेका व्यवसायी बुद्धशान्ति गाँउपालिका–२ जयपुर निवासी चिन्तामणि गौतमले तेस्रो शाखाको रुपमा उक्त ‘मिस्टर बेकरी’ सञ्चालनमा ल्याएका हुन् ।
आइसक्रिम र बेकरीका पारखीहरु आन्तरिक र बाह्य दुवै हुने हुँदा त्यसले अर्जुनधारा नगरपालिकामा आन्तरिक पर्यटनको पनि प्रबद्र्धन गर्ने सञ्चालक गौतमले दावी गरेका छन् । अर्जुनधारा नगरपालिकाको केन्द्र शनिश्चरे बजारदेखि डेढ सय मिटर उत्तरमा रहेको ‘मिस्टर बेकरी’को प्रारम्भिक लगानी अनुमानित २० लाख रुपैयाँ रहेको छ ।
‘मिस्टर बेकरी’मा बेकरी अन्र्तगत सबै प्रकारका केकहरु, बर्गर, ब्राउन ब्रेड, बिस्कुट, कुकीज, रोटी आदि र विभिन्न प्रकार एवम् स्वाद अनुसारका आइसक्रिमहरु पाइने बताइएको छ । विशुद्ध शाकाहारी दावी गरिएको ‘मिस्टर बेकरी’ले केकलगायतका सामग्रीहरु आफैले उत्पादन गर्ने भएको हुँदा ग्राहकहरुको लागि बजार मूल्य भन्दा केही सस्तो हुने बताइएको छ ।
जयपुरमा मुख्य केन्द्र रहेको ‘मिस्टर बेकरी’को दोस्रो शाखा छिमेकी इलाम जिल्लाको माई नगरपालिकास्थित शुक्रबारे बजारमा सञ्चालनरत रहेको छ । बेकरीमा हाल तीन जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
विदेशमा सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गरी आफ्नो ठाउँको प्रबद्र्धनसँगै रोजगारीको सिर्जना गर्न पाउँदा आफू खुसी भएको सञ्चालक गौतमले बताए । यसैबीच उक्त बेकरीको सञ्चालक गौतमकी छोरी सुप्रिया गौतमले उद्घाटन गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्का, उद्योग उपाध्यक्ष सूर्य लोहार, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष प्रेम आचार्य, ब्रीलीयन्ट पिपुल्स सेकेन्डरी स्कूलका संस्थापक सदस्य रमेश नेपाललगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here