जातीय भेदभाव गरेको भन्दै सशस्त्र प्रहरी श्रेष्ठलाई कार्वाहीको माग

0
103

बिर्तामोड, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाको मातहतमा रहेको टिमाई चेकपोष्टका प्रमुख केदार श्रेष्ठलाई कार्वाहीको माग गरिएको छ ।
राजवंशी समाज विकास समिति बिर्तामोड नगर समितिले विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरी नायव निरीक्षक श्रेष्ठलाई कार्वाहीको माग गरेको हो ।

समाजका अध्यक्ष सिरतलाल राजवंशीले जारी गरेको विज्ञप्तिमा सशस्त्र प्रहरी नायव निरीक्षक श्रेष्ठले जातीय भेदभाव गर्दै व्यवसायी राजु राजवंशी सन्तोषको सुष्मा काष्ठ उद्योगका कर्मचारी रवीन राजवंशी र रत्नबहादुर बस्नेतलाई दुव्र्यवहार गरेको आरोप छ । उनले गत साउन १६ गते बुद्धशान्ति गाउँपालिका–५बाट गोलिया काठ ल्याउने क्रममा गाडी रोकी चेकजाँचको नाममा अनावश्यक दुःख दिएको र जातीय विद्वेष र घृणा ल्याउने गरी गालीगलौज गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– ‘तेरो साउजी राजवंशी मधेशी होइन अब तेरो साहु राजवंशी मधेशीले बाउको बिहे देख्ने भयो’ जस्तो निकृष्ट शब्द प्रहार गरेको उल्लेख छ । सिंगो जातीय समुदायमाथि प्रहार गर्ने निज श्रेष्ठलाई जातीय भेदभाव तथा छवाछूत (कसुर सजाय) ऐन अनुसार कार्वाही गरिनुपर्ने र अब आइन्दा कोही, कसै र कुनै जाति समुदायमाथि त्यस किसिमका व्यवहार गर्न नहुने वातावरण सृजनाका लागि पहल गरिदिन सरोकारवाला निकायसँग माग गरिएको छ ।


सुष्मा काष्ठ उद्योगका सञ्चालक राजु राजवंशी सन्तोषले निजी वनसँग खरिद गरेको काठ ल्याउने क्रममा आवश्यक कागजात पत्र हुँदाहुँदै सशस्त्र प्रहरीले अनावश्यक रुपमा दुःख दिएको र पैसामा वार्गेनिङ गरेको भन्दै विहीवार प्रमुख जिल्ला अधिकारी गोपालकुमारी अधिकारीको ध्यानाकर्षण गराएका थिए भने बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै घटना विवरण सार्वजनिक गरेका थिए । यसअघि उनले सशस्त्र प्रहरी प्रमुख तुलबहादुर भण्डारीसहितलाई कार्यालयमै पुगेर जानकारी गराए पनि सुनुवाई नभएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण गराएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here