झापा, नेपाल एभरेष्ट कार्डमम प्रोसेसिङ एण्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्वल विमली ट्याली एमएसएमई हनर्ष अन्तरगत नवपर्वतक व्यवसायीका रुपमा पुरस्कृत भएका छन् । उनलाई सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुशन्स प्रालि वैंलोर भारतले काठमडौंमा आयोजित विशेष समाारोहकाबीच पुरस्कृत गरेको हो ।
झापा बिर्तामोड ५ स्थायी घर भएका उनी झापामा युवा व्यवसायीका रुपमा परिचित छन् । कम्पनीले उनलाई नयाँ पुस्ताका स्टार्टअप व्यवसायीका रुपमा पुरस्कृत गरेको हो । विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध उनी समाज सेवामा समेत सक्रिय छन् । उनी रोटरी क्लव अफ बिर्तामोडका पाष्ट प्रेसिडेन्ट हुन् । उनी झापा साइक्लिङ संघका उपाध्यक्ष , नेपाल अलौची व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् ।
ट्याली सोलुशन्स प्रालिका कार्यकारी निर्देशक नुपुर गोयन्का र नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले विमलीलाई सम्मानपत्र प्रदान गरेका थिए ।
ट्याली सोलुशन्स प्रालिले छनौटमा परेका नेपालका ५ सय व्यवसायी मध्ये २५ जनालाई पुरस्कृत गरेको थियो । पूर्वमा पुरस्कृत हुने व्यवसायी बिमली एक मात्र रहेका छन् ।
छुट्टा छुट्टै पाँच विधामा वर्गीकृत गरी ट्याली सोलुशन्स प्रालिले रहेक वर्ष साना मझौला तथा सुक्ष्म उद्योगको पहिचान गर्दै व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्ष नेपालका २५ जना व्यवसायी पुरस्कृत भएका हुन् ।
विश्वका विभिन्न देशमा रहेका साना मझौला तथा सुक्ष्म उद्योग सञ्चालन गर्दै आएका व्यवसायीलाई यो कम्पनीले पुरस्कृत गर्दै आएको छ । कम्पनीको यो पाँचैं संस्करणको कार्यक्रम हो । यो कार्यक्रमका लागि विश्वका २० हजार भन्दा बढी ब्यवसायीले आवेदन गरेका थिए । जसमाा ५ सय व्यवसायको मात्रै छनौट गरिएको र त्यसमा पनि २५ जनालाई मात्र पुरस्कृत गरिएको ट्याली सोलुशन्स प्रालिका कोशी प्रदेशका लागि साझेदार सम्पनी आइडीयल एकाउन्टिङ सोलुशन्स प्रालिका सञ्चालक राज नारायण साहले जनाकारी दिए ।
कोशी प्रदेशका लागि ट्याली सोलुशन्सको आधिकारिक विक्रेता समेत रहेका साहका अनुसार नव प्रर्वतक व्यवसायीका रुपमा झापाका विमली सहित गणेश पुनुवार, ऋणिराम अधिकारी, जेम्स श्रेष्ठ, विद्यानन्द झा पुरस्कृत भएका छन् ।
त्यस्तै पुरस्कृत २५ व्यवसायी मध्ये ५ जना महिला उद्यमी रहेका छन् । जसमा अनिता तिम्सिना वस्नेत, संगीता कडरिया, सृजना खड्का, सुनिता शेर्पा, र संगीता पाण्डे पुरस्कृत भएका हुन् ।
कम्पनीले अनुभवी व्यवसायीका रुपमा डा. रञ्जनकुमार दाहाल, डा, मनिता तिम्सिना, राजेन्द्रवहादुर सिंह, दिपककुमार झा, विनोदकुमार श्रेष्ठ, प्रकाश आचार्य र प्रत्युस आचार्यलाई पुरस्कृत गरेको हो ।
प्रविधि अपनाएर व्यवसाय गर्ने नेपाालका पाँच व्यवसायीलाई समेत कम्पनीले पुरस्कृत गरेको छ । जसमा राजु ढकाल, रुपक शाक्य, डा. सुरेश कुमार मानन्धर, दिनेशप्रसाद पौडेल र हरि ढकाल रहेका छन् ।
त्यस्तै कम्पनीले सामाजिक प्रभाव पार्ने व्यवसायीका रुपमा मनोज विक्रम साह, मनोहर कार्की, अञ्जल निरौला, सुमिता राउत र सवलचन्द साहलाई पुरस्कृत गरेको हो ।
विश्वव्यापी रुपमा अर्थतन्त्र चलायमान बनाउन उनीहरुले पु¥याएको योगदानको सम्मान गर्दै व्यवसायीलाई पुरस्कृत गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।
प्रत्येक वर्ष ट्याली एमएसएमई हनर्षले पहिचान, प्रेरणा र वृद्धिका लागि व्यवसायीहरुको पहिचान गर्दै पुरस्कृत गर्दै आएको बताइएको छ ।






























