बिनोद सापकोटा,
झापा।

शुक्रबार बिहानैदेखि शिवसताक्षी नगरपालिकामा क्षेत्रमा पानी पर्न सुरु भयो। आकाश मा बादल मडारिएर धमिलो भएको थियो । हावा हावा पनि जोडले निस्सासिएको जस्तो थियो ।
यो सबै हुँदा, लाग्थ्यो — प्रकृतिलाई पनि कुनै ठूलो वियोगको खबर प्राप्त भएको छ।
शिवसताक्षी नगरपालिका वडा नं. ३ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा न त घण्टी बजेको उत्साह थियो, न विद्यार्थीको हाँसो। बरु शिक्षक र विद्यार्थीमा धमिलो मौनता थियो । त्यो धमिलो र गहिरो मौनता चिर्न नसकिने अवस्था बनेको थियो।
त्यो मौनतालाई तोड्दै विद्यालय व्यवस्थापन समिका अध्यक्ष गणेशबहादुर राईले माइक समातेर भने, ‘आज हामी कानुनको नियमलाई पालना गर्दै एकजना जीवन समर्पित शिक्षकलाई विदाई गर्दैछौं। यो हाम्रो चाहना होइन, बाध्यता हो।’
पूर्णबहादुर बस्नेत, झापा शिवसताक्षी–२ बस्नेत टोलका स्थायी बासिन्दा हुन् । तत्कालीन प्राथमिक तहमा २०४७ साल जेठ ७ गते शिक्षा सेवामा प्रवेश गरेका शिक्षक जसले भानु माध्यमिक विद्यालयमै तीन दशकभन्दा बढी जीवन बालबालिकाको भविष्य उज्यालो पार्न खर्चिए।

शिक्षा सेवामा सरकारी, निजी स्रोत र राहत दरबन्दीका नाममा कति–कति स्वरुप फेरिँदा पनि विद्यालय भने फेरेनन्। उनी यहीँ टिकिरहे, यहीँ जीवन बिताए, अनि शुक्रबार दिउँसो १२ बजेपछि विदाईका लागि अन्तिमपटक उभिँदैछन्।
कक्षा १, २, ३ मा पढ्ने नानीहरू घरमै उनेर ल्याएका माला लिएर पूर्ण सरको गलामा पहिर्याउँथे। माला लगाउने तिनै कलिला हात काँप्थे, रुण्ठ्याउँथे, तर आँसु रोकिन्थेन। अविरको पोका, हातैले उनेर ल्याएका फूलका माला सबैले लगाइदिएर पूर्ण सरलाई रातै बनाए। कक्षा कोठा र कलिला बालबालिका सम्झेर पूर्ण सर आफ्नै गलामा लगाइएको खादा निकालेर आँसु पुस्थे। आँसुले भरिएका आँखा अरूले नदेखोस् भनेर कोल्टे हुन्थे । उनका सहकर्मी अन्य शिक्षकले पनि टाउको झुकाएर आँसु पुछेका दृश्य देखिन्थे।
अधिकांश विद्यार्थी घोप्टिएर रोए । कसैले वियोगको पीडाले पेशाब रोकिन सकेन । शौचालयतिर जान्थे । विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक कसैको अनुहारमा उज्यालो थिएन। सारा विद्यालय रोएको थियो।
कार्यक्रम सञ्चालक संजय राईको आवाज पनि काँप्थ्यो, ‘आज प्रकृति पनि रोइरहेको छ। उहाँको विदाई स्वैच्छिक होइन, कानुनको बाध्यता हो। हाम्रो चाहनाले त पूर्ण सर अझै यतै बसून् भन्ने थियो।’
कक्षा १० का विद्यार्थी मञ्जिल नेपाल पोडियममा उक्लिएर बोल्दै गर्दा शब्द टुट्यो । आवाज भासियो । उनले घुटुक्क घाँटी भिजाउँदै भने, ‘पूर्ण सर बिना यो विद्यालय अधुरो हुन्छ, हाम्रा दिनहरू अधुरा हुन्छन्।’ उनको भाषणले सारा विद्यालयलाई फेरि भङ्गालो पारिदियो।
विद्यालयका प्रधानाध्यापक विजयकुमार चौधरीले बोल्दै गर्दा शब्द अड्किए । स्वर टुट्यो । उनका आँखाबाट आँसु बग्यो। ‘पूर्ण सरले नै मलाई आज यो स्थानमा पुर्याउनुभयो। उहाँसँग लामो समय बिताउँदा एकपटक पनि तुच्छ शब्द सुनिनँ। विद्यालयको गुणस्तर र पूर्वाधार सुधारमा उहाँको योगदान अमूल्य छ,’उनले भने।

त्यो भीडमा वडा नं. ३ का वडाध्यक्ष भास्कर न्यौपाने पनि चुपचाप बसेका थिए। पछि भावुक हुँदै भने, ‘पूर्ण सरले पढाएर हामी जनप्रतिनिधि भयौँ, उहाँले पढाएका साथीहरू नेपाल सरकारका उच्च पदमा पुगे। तर सर जीवनको उर्वर समय हामीलाई दियेर आज रित्तो हात फर्कनुपर्दा मन कुडिन्छ। शिक्षकले पाउने माया भनेको यति नै हो जस्तो छ। अब बन्ने शिक्षा विधेयकमा करार र राहत शिक्षकलाई उचित व्यवस्था गरियोस्।’
पूर्णबहादुर बस्नेत सरको विदाईको क्षण अझ बिनासकारी थियो । पूर्ण सरसँगै उनीकी धर्मपत्नी गोमा खड्का बस्नेतले आँसु पुछ्दै वरिपरि सबैको मौन प्रशंसा सुनेकी थिइन्। जिन्दगीको तीन दशक विद्यालयको घण्टीसँग बाँधिएको पुरूषको वियोग, आज उनले पनि मूक वाक्यले भोगिरहेकी थिइन्।
आफ्ना श्रीमानको यत्तिको प्रशंसा हुन्छ भन्ने सायदै उनले ठानेकी थिइनन् । ‘पूर्ण सर वास्तवमै विद्यालयको लागि आँखामा हाल्दा पनि नभिजाउने लालगडी जस्तै हुनुहुन्थ्यो ।’शालिन, सरल, मिजासिला, अङ्ग्रेजी विषयमा स्नातकोत्तर, अध्यापनलाई आत्माको पेशा बनाएका पूर्णबहादुर बस्नेत कानुनले ‘सेवानिवृत्त’ बनायो, तर विद्यालय, विद्यार्थी, अभिभावक र सहकर्मीको हृदयबाट उहाँलाई कुनै कानुनले पनि हटाउन सक्दैन।






























