सुन्दरहरैंचा (मोरङ),

मोरङका स्रष्टा डा. छवि वैैरागी घिमिरेको १२ औँ कृति ‘विविशारा’ (उपन्यास) को लोकार्पण भएको छ । अनामनगरस्थित युनियन हाउसको सभा हलमा एक भव्य समारोहका बिच उक्त कृतिको लोकार्पण गरिएको हो ।
प्रकाशक संस्था फिनिक्स बुक्सद्वारा आयोजना गरिएको एक विशेष कार्यक्रममा आख्यानकार अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक र उनकी धर्मपत्नी तारा ढकाल घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए । सभापति तथा प्रमुख अतिथिबिनाको एउटा फरक खालको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको थियो ।
लोकार्पण कार्यक्रममा समालोचक अनुपमा रेग्मी तथा आख्यानकार अमर न्यौपानेले पुस्तकको बारेमा चर्चा गरेका थिए । दर्शकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा आख्यानकार अमर न्यौपानेले विविशारा उपन्यासभित्रका विषयहरू निकै सरल र मार्मिक रहेको बताए । विविध पात्रहरूको कोलाजका रूपमा बाहिर आएको यो उपन्यास पढिरहूँ लाग्ने रहेको बताउँदै यसले पाठकको मन जित्ने आशा पनि व्यक्त गरे । भाषाशैलीका हिसाबले पनि यो कृति निकै सुन्दर रहेको उनको भनाइ रहेको थियो ।
यसैगरी समालोचक अनुपमा रेग्मीले यसभित्रका पात्रहरू समाजका यथार्थता भएको र यो उपन्यास पढ्दा आफैँ भित्रको पात्र भएको महसुस हुने कुरा बताउँदै यस दुनियाँमा रहेका तमाम अनाथप्रति आस्था देखाएको बताइन् । त्यस्तै उनले पुस्तक पढ्दै गर्दा आफू भावुक बन्न पुगेको सन्दर्भ पनि उल्लेख गरिन् ।
कृतिकार वैरागीले आफूले यस उपन्यासलाई समाजको एउटा विषय र यथार्थता भएको कुरा बताए।
कार्यक्रम सञ्चालन भने बाबु त्रिपाठीले गरेका थिए । साबिकको लेखर्क गापं ६, काभ्रे, भोजपुर (हालको टेम्केमयुङ गाउँ ५, मा) मा पिता कृष्णप्रसाद घिमिरे र माता माया घिमिरेका तेस्रो सन्तानका रूपमा जन्मिएका घिमिरेको पछिल्लो समय सुन्दरहरैँचा –९, विराटचोक, मोरङमा बसोबास रहेको छ । २०५२ सालमा ‘के हुन्छ यो मानव’ शीर्षकको छन्द कविता प्रकाशित गरेर साहित्याकाशमा प्रवेश गरेका उनी कविता, उपन्यास, बालसाहित्य आदि विधामा कलम चलाउँदै आएका छन् । विभिन्न विधाका एक दर्जन कृति प्रकाशित भएका छन् ।































