धेरै मानिस गर्मी बढेपछि चिसोको खोजीमा भौंतारिन्छन् । कति उच्च पहाडी भू–भागमा पुग्छन् भने कति पानीका स्रोतहरु नदी, तलाउ, झरनातर्फ त कति स्वीमिङ पुलमा पौडी खेल्न पुग्छन् । स्वीमिङ पुल पौडी खेल्ने सुरक्षित र भरपर्दो हुन्छ भन्ने मान्यता छ । त्यहीकारण शरहबजारमा व्यावसायिक उद्देश्यले सञ्चालित स्वीमिङ पुलहरुमा मानिसको घुइँचो हुने गर्छ । पौडी खेल्नु भनेको व्यायाम गर्नु पनि हो । हात, खुट्टा र शरीरका अन्य अङ्गहरु समेत सक्रिय हुन्छन् र पानीमा चल्छन्, जसले गर्दा पौडी खेल्दा शरीर लचकदार हुन्छ । अन्य अङ्गहरु जस्तै पेटको पनि व्यायाम हुन्छ, रक्त सञ्चालनको गति सक्रिय रहन्छ । त्यस्तै यसले निद्रा लाग्न, मांसपेशी र हड्डी बलियो हुन्छ, थकान मेटदा रगतमा भएको विकारलाई हटाउन र शरीरको तौल सन्तुलित राख्न पनि पौडीले मद्दत गर्छ ।

चिकित्सकहरुले समेत स्वस्थ रहन आवश्यक ठानेको पौडीले रक्तचाप नियन्त्रण गर्नेदेखि क्यालोरी नष्ट गर्न समेत सघाउ पु¥याउने बताएका छन् । खोला, झरनाहरुमा पौडी खेल्दा र स्वीमिङ पुलमा फरक–फरक सतर्कता अपनाउनुपर्ने पौडी क्षेत्रका जानकारहरुले बताएका छन् । पौडीलाई अन्तर्राष्ट्रिय जगतमा प्रतिष्पर्धात्मक खेलका रुपमा लिइन्छ र प्रायः सबै देशहरुमा पौडी प्रतियोगिता पनि सञ्चालन हुन्छ । विश्वकै आकर्षणका रुपमा रहेको स्वीमिङ पुलका लागि सरकारले मापदण्ड समेत निर्धारण गरेको हुन्छ । खेलकुद सम्बद्ध संस्था वा सरकारी संस्थाले चलाएका स्वीमिङ पुलमा पानीको स्वच्छता, पोखरीको गहिराइ, लम्वाइ वा चौडाइ, पानीको निर्मलीकरण लगायतको गुणस्तरमा ध्यान दिइएको हुन्छ । तर, आजभोलि व्यावसायिक हिसाबले वा निजी रुपले बनाइएका पुलहरुमा भने सामान्य मापदण्ड पनि पूरा गरिएको छैन । जसका कारण पौडी खेल्ने क्रममा बर्सेनि मानिसको अकाल मृत्य हुनेक्रम बढ्दै गएको छ ।
झापाको बिर्तामोडस्थित एउटा निजी पार्कमा रहेको स्वीमिङ पुलमा बिर्तामोडकै एक युवाले पौडी खेल्ने क्रममै ज्यान गुमाए । पौडी खेल्ने समय गर्मीयाममै हो र शहरबजारमा गर्मीमा पौडी खेल्नेहरुको स्वीमिङ पुलमा भीड हुन्छ । अनुमित लिएरै सञ्चालनमा रहे पनि आवश्यक मापदण्ड निर्धारण नगरिएको र अनुगमन नहुँदा न्यूनतम् मापदण्ड पनि पूरा हुँदैन । जसका कारण झापामै पाँच महिनाको अवधिमा तीन जनाको ज्यान गइसकेको छ । स्वीमिङ गर्न जाँदा सुरक्षाका दृष्टिले निर्धारित कपडा, टोपी र चस्मा लगाउनु पर्दछ । सामान्य स्वास्थ्य परीक्षण, सेफ्टी गार्ड र प्रशिक्षक लगायतका पूर्वाधारसहित स्वीमिङ पुलको नित्य सरसफाई पनि गरिनु पर्दछ । त्यसो त सरकार आफैंले स्वीमिङ पुल निर्माणका लागि मापदण्ड नै बनाएको छैन । मापदण्ड छैन र कानून पनि छैन यस्तोमा दुर्घटना हुनु स्वभाविकै हो । त्यसैले यस्तो दुर्घटना रोक्न सरकारले कानून र मापदण्ड बनाएर नियमन र अनुगमन गर्नुपर्छ ।




























