जनताका दुःख हटाउन सिंगापुरबाट सिकौं

0
92

नेपाल सामन्ती राजको चङ्गुलबाट मुक्त हुन शुरु गरेको २००७ सालको परिवर्तनपछि मात्र हो । तर सात दशकपछि पनि नेपालले आशातित प्रगति गर्न सकेन । आर्थिक, भौतिक, शैक्षिक सबै क्षेत्रमा नेपाल अन्य देशको तुलनामा पछाडि परेको छ । विकासका सूचकहरू हेर्दा देश धेरै पछि छ । साना राष्ट्रहरूले कसरी परिवर्तनशील अर्थतन्त्रहरूमा छिटो अनुकूलन गर्न सक्छन् भन्ने रोचक आर्थिक सिद्धान्त सिङ्गापुरको हकमा लागू भयो । वास्तवमा, जापानको पाइला पछ्याउँदै तीव्रगतिमा औद्योगिकीकरण हुने एसियाका चार सबल अर्थतन्त्र भएका मुलुकमा सिङ्गापुर, हङकङ, दक्षिण कोरिया र ताइवान पर्छन् । हुन त हङकङ र ताइवानलाई अलग राष्ट्रको रूपमा मान्यता दिन चीन अस्वीकार गर्दछ । यी देशहरूलाई एसियाका चार ड्रागनहरूको उपनाम पनि दिइन्छ ।

सिङ्गापुर सरकारले जनताका पुराना व्यवसायहरू भत्काउन र तिनीहरूलाई थप लाभदायक व्यवसायहरू प्रदान गर्न अथक प्रयास ग¥यो । साँच्चै भन्ने हो भने सिङ्गापुरले शून्यबाट आफ्नो विकास प्रक्रिया शुरु गरेको हो । सिङ्गापुरको एक उच्च विकसित बजार अर्थतन्त्र छ, ऐतिहासिक रूपमा विस्तारित उद्यम र व्यापारमा आधारित । हङकङ, दक्षिण कोरिया र ताइवानसँगै सिङ्गापुर ‘चार एसियाली बाघ’ मध्येको एक हो र यसले प्रतिव्यक्ति कूल घरेलु उत्पादन (जीडीपी)को हिसाबले आफ्ना मित्र देशलाई उछिनेको छ । विकास दर प्रति वर्ष औसत छ प्रतिशतले बढिरहेको सिङ्गापुरको अर्थतन्त्रलाई स्वतन्त्र, नवीन, गतिशिल र व्यापार–अनुकूल मानिन्छ । यतिबेला नेपाली जनता असीम दुःख, अवर्णनीय अभाव, सुरसाको मुख झैं विशाल महँगीको मार, पुराणमा वर्णित निर्दयी दैत्य झैं वेरोजगारीको बज्रप्रहार खपेर बाँच्न बाध्य छन् ।

प्राकृतिक स्रोतसाधनमा धनी नेपाल संसारका एक दर्जन विपन्न मुलुकको सूचीमा पर्दछ । यो विषय धेरै पीडादायी छ । १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको सात दशक भइसकेको छ, तर हामी आर्थिक अभाव, सामाजिक असन्तुलन र निराशा बोकेको मन लिएर बाँचिरहेका छौं । सिङ्गापुरबाट हामीले सिक्ने धेरै कुरा छन् । दक्षिण–पूर्व एसियाली मुलुक सिङ्गापुर आज संसारका विकसित देशहरूको सूचीमा पर्छ । लगभग सात सय ३५ वर्ग किलोमिटर क्षेत्रफल र ५९ लाख जनसङ्ख्या भएको सिङ्गापुर प्रतिव्यक्ति आय (क्रयशक्ति समानता)का आधारमा विश्वको तेस्रो धनी देशमा पर्दछ । धेरै राजनीतिक नेता तथा संसारका धेरै देशहरू सिङ्गापुरको विकासको मोडललाई अनुशरण गर्न चाहन्छन् । यो मोडल न पूँजीवादी मुलुकको जस्तो हुबहँु छ, न समाजवादी बाटोमा अग्रसर हुन खोजेका देशहरूको जस्तो छ ।

सन् १९६५ अगस्ट ९ मा स्वतन्त्र भएको सिङ्गापुर पाँच दशकको अन्तरालमा यति विकसित र दुनियाँका लागि पछ्याउनै पर्ने मुलुक कसरी बन्न सफल भयो भन्ने जिज्ञासा आम नेपालीका बीचमा पनि छ र यो सङ्कथन र बहस समय–समयमा घनीभूत रूपमा उठ्ने गर्छ । सिङ्गापुरको यति ठूलो सफलताका पछि जनताको ठूलो मेहनत, लगनशिलता, समर्पण, त्याग र बलिदानीले काम गरेको छ । त्यो भन्दा पनि महŒवपूर्ण एक जना दृढप्रतिज्ञाका धनी, निःस्वार्थी, देशभक्त, स्वप्नदर्शी राजनेताको योगदान छ यसमा । जुगजुगसम्म सिङ्गापुरबासीका हृदयमा चम्किरहने र मुलुकलाई निरन्तर विकासको उज्यालो बाटोमा डो¥याउन प्रेरणा दिइरहने व्यक्ति हुन् ली क्वान यु । गरीब सिङ्गापुरलाई विश्वको आर्थिक केन्द्र बनाउने महारथी ली यो धरतीमा छैनन् । तर, विश्व राजनीतिक रङ्गमञ्चमा आशा, विश्वास र प्रेरणाको दियो जलाउन सफल ली क्वान युले अनुशरण गरेको बाटोको बारेमा विश्वव्यापी रुपमा छलफल, बहस र तर्क उठिरहेका छन् ।

ली क्वान युलाई सिङ्गापुरका नागरिकले फादर अफ नेशन अर्थात् राष्ट्रपिताका रूपमा पनि सम्मान गर्छन् । सिङ्गापुर विश्वमा एक्लै रहेका बेला र विश्वमा विकासको गतिमा यसको मापन नभएको समयमा देशको नेतृत्व गरेर वर्तमान सिङ्गापुर निर्माण गरे उनले । वर्तमान सिङ्गापुरको निर्माणमा उनको योगदानको उच्च मूल्याङ्कन गर्दै विकासप्रेमी र देशभक्त नागरिकको रुपमा जुगजुगसम्म उनको स्मरण गरिरहनेछन् देशबासीले । सन् १९९० सम्म ३१ वर्ष मुलुकलाई नेतृत्व दिएको अवधिमा उनले एसियाकै गरिब द्विपीय राष्ट्र सिङ्गापुरलाई समृद्ध र बलियो आर्थिक केन्द्रका रूपमा रूपान्तरण गर्न योगदान दिए । नेता ली वर्तमान एवम् आधुनिक सिङ्गापुरका संस्थापक र प्रारूप तयार पार्ने व्यक्तिको रुपमा र हालको संसारमा चिनिएको सिङ्गापुर निर्माणमा प्रमुख योगदानकर्ताको रूपमा सम्मानित छन् । सिङ्गापुरको आमूल परिवर्तनमा उनको विशिष्ट योगदान रहेको भनी सिङ्गापुरका नागरिक मान्ने गर्छन् ।

वर्तमान सिङ्गापुरको एक सच्चा निर्माता लीले एसिया र विश्वलाई नै सफलता र इमान्दारिताको पाठ सिकाउन सफल भए । आजको मूल प्रश्न छ– नेपाल किन पछि प¥यो ? नेपाल पछि पर्नुका धेरै कारणमध्ये सहभागितामूलक विकासको अवधारणालाई नपछ्याउनु पनि हो । विकासका कार्यक्रममा स्थानीयलाई नै जवाफदेही बनाउन सकिएको भए दिगो हुन्थ्यो र स्थानीय सहभागितामा सामुदायिक वन, कृषि, व्यवस्थित सिँचाइका योजना तथा कार्ययोजना अघि बढाइनुपथ्र्यो । पूर्वाधार निर्माणमा राष्ट्रको आवश्यकता पहिचान गरी त्यसअनुसार अघि बढ्नुपर्नेमा विदेशी दातृ निकायको निर्देशनमा हामी हिँड्यौं । नेपालमा नेतृत्वमा दूरदृष्टिको अभाव छ । लक्ष्य निर्धारण पूरा गर्ने सङ्कल्पतिर लाग्ने स्वप्नद्रष्टा नेता आजको नेपालको आवश्यकता हो । तर, हाम्रो देशमा पालो दिने परम्पराले जरा गाड्न थालेको छ । सामन्ती संरक्षकत्ववादी नीतिले मुलुक प्रगतिको बाटोमा लाग्न सक्दैन ।

वास्तवमा हामीलाई सपना देख्ने राजनेता चाहिएको छ । हामीलाई सपनाबाट नबिउँझिने रोगबाट ग्रस्त नेतृत्व चाहिएको छैन । विकृत संस्कारका कारण आर्थिक, सामाजिक, राजनीतिक लगायतका तमाम क्षेत्रहरूमा मुलुकले पीडा सहनु परिरहेको छ । विभिन्न प्रतिकूलताका बाबजुद पनि सिङ्गापुरले गरेको उन्नति इष्र्यायोग्य छ, तर कुनै पनि यसको अन्धानुकरण गरेर सिङ्गापुरको जस्तो सामाजिक–राजनीतिक रूपान्तरणका लागि आर्थिक परिवर्तनलाई निर्णायक बनाउन बहुतै कठीन छ । सिङ्गापुरको आर्थिक समृद्धिको सफलताको अनुभवलाई ग्रहण गर्ने हो भने नेपालको विकास प्रक्रियालाई सहजीकरण गर्न सक्छ । उदार लोकतान्त्रिक मूल्य–मान्यताभन्दा पनि नियन्त्रित राजनीतिक स्वतन्त्रतामा उदार अर्थतन्त्रको विकास गरेको सिङ्गापुर अन्य मुलुकका लागि हुबहँु अनुकरण गर्ने उदाहरण हुन सक्दैन । यो मात्र सहयोगी सन्दर्भ वा ‘रेफरेन्स्’ हुनसक्छ ।

महŒवपूर्ण कुरा, सिङ्गापुरमा राजनीतिक स्थायित्व रह्यो र अस्थिरता, भद्रगोल, सरकार परिवर्तनका नाटक, द्वन्द्व, युद्ध, बन्द–हड्ताल जस्ता नकारात्मक कुराहरू विगत पाँच दशकमा मुलुकले भोग्नु परेन । सफलताका यी सबै अनुभवलाई नेपाली माटोमा लागू गर्न त्यति सजिलो छैन । घिस्रँदो आर्थिक विकासका ठाउँमा गतिशिल विकासका लागि प्राप्त प्राकृतिक, मानवीय, आर्थिक स्रोतको पहिचान र परिचालन गर्दै निःस्वार्थ रूपमा लाग्ने नेतृत्व नेपाललाई चाहिएको छ । स्वप्नद्रष्टा नेता र नेतृत्व नेपालले पाउने हो र आमनेपालीले पनि कडा मेहनत गर्ने हो भने केही दशकमा नेपालले आफूलाई विकसित देशको हाराहारीमा उभ्याउन सक्छ ।

सिङ्गापुरको विकासका मूल आधार व्यवहारिक नेतृत्व, प्रभावकारी सार्वजनिक प्रशासन, भ्रष्टाचारको नियन्त्रण, मुलुकका सर्वोत्तम दिमागमा निर्भरता, शिक्षामा ठूलो लगानी, विकसित देशबाट सिक्ने आदि हुन् । तीव्र आर्थिक वृद्धिमा जोड, व्यापार उद्यमशीलताको लागि समर्थन र आन्तरिक लोकतन्त्रमा सीमितताहरूले अर्को आधा शताब्दीको लागि सिङ्गापुरको नीतिहरूलाई आकार दियो । धेरैजसो सिङ्गापुरबासीहरू वास्तवमा दक्षिण चीनका सन्तान हुन्, जसले आफ्नो जीवनलाई जोखिममा पारेर राम्रो जीवन खोज्न दक्षिणतिर बसाइँ सरेका थिए । यसले उनीहरूलाई मेहनत गर्न उत्प्रेरित ग¥यो । राजनीतिक तटस्थता सिङ्गापुरको विकासको मूल कारण हो ।

आर्थिक सल्लाहका लागि देङ सियाओपिङ पहिलोपटक सिङ्गापुर गए पनि उनीरूले चीनको राजनीति वा अर्थनीतिको अन्धानुकरण गरेनन् । सिङ्गापुरले धनी बन्ने प्रयास मात्र गरेको थिएन, तर अन्तर्राष्ट्रिय घटनाहरूका लागि आफूलाई एक प्रकारको ‘न्युट्रल प्लेटफर्म’ (तटस्थ मञ्च)को रूपमा स्थापित गर्ने प्रयास पनि गरिरहेको थियो । जनमुखी र सक्रिय सरकार, अग्रगामी नीति, स्वच्छ कार्यान्वयन, छिमेकीभन्दा राम्रो कानुनको शासन र मेहनती जनता विकासका मूल आधार हुन् । हामीले नेपाललाई मगन्ते मानसिकताबाट मुक्त गर्न आवश्यक छ । संक्षिप्तमा भन्नुपर्दा सिङ्गापुरको विकासको आधार समर्पित जनता र प्रतिबद्ध राजनेता नै हुन् । जनतालाई विकास निर्माणमा परिचालन गरेर मात्र अघि बढ्न र वास्तविक अर्थमा विकास गर्न सम्भव छ । सिंङ्गापुरेबाट हामी नेपालीले सिक्ने कुराहरू समर्पण, मेहनत, सकारत्मक सोच र ठूलो छाती बनाउने कुरा नै हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here