गौरीगञ्जबाट तस्करी बढ्यो, भारतीय सुरक्षाकर्मीद्वारा वीऊ लोड भएको चारवटा गाडीसहित छ जना पक्राउ

0
114

पार्थ मण्डल,
झापा ।

झापाको गौरीगञ्ज नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको एउटा घटना सार्वजनिक भएको छ ।

भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाँदै गरेको फर्सीको वीऊ लोड भएको चार वटा गाडीसहित ६ जना तस्करलाई पक्राउ गरेसँगै गौरीगञ्ज नाकाबाट हुने गरेको तस्करी धन्दाको पर्दाफास भएको हो । भारतीय एसएसबी १२ बटालियन माफिटोला क्याम्प र फत्तेपुर पुलिस थानाको संयुक्त टोलीले स्थानीयको सहयोगमा विशेष सूचनाको आधारमा ७५ बोरा फर्सीको वीऊ, दुईवटा पिकअप, दुई वटा ट्याक्टरसहित ६ जनालाई सोमवारराति पक्राउ गरेको हो ।

एसएसबीका इञ्चार्ज इन्स्पेक्टर राजेश कुमारका अनुसार नेपालबाट भारततर्फ वीऊ लगायत सामानको तस्करी भइरहेको सूचना प्राप्त भएको थियो । त्यही सूचनाको आधारमा लालापानी–खनियावाद सीमा नाकामा सोमवार राति तस्करहरूलाई गाडीसहित घेराउ गरी ठूलो मात्रामा वीऊ बरामद गरेको इन्स्पेक्टर कुमारले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन । पक्राउ पर्नेमध्ये एक÷दुई जना नेपाली नागरिक भएको आशङ्का गरिएको छ । बरामद गरिएको वीऊ, चार वटा गाडीसहित ६ जनालाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइसकेको जनाइएको छ ।

केही दिनअघि मात्र फत्तेहपुर पुलिस थाना टेढागाछले फर्सीको वीऊ र चाइनिज स्याउ बरामद गरेको थियो । सीमा नाकाबाट तस्करी धन्दा बढेसँगै त्यहाँका स्थानीय गाउँले राति सुत्न नै पाउँदैन थिए । रातिको समयमा गाडीका गाडी सरसामान ओहोरदोहोर गर्दा गाउँलेलाई समस्या भइरहेको उनीहरूले एसएसबीलाई गुनासो पोखेका थिए ।

भारतीय सुरक्षा निकायले बरामद गरेको लालापानी–खनियावाद सीमा नाका पारिपट्टि गौरीगञ्ज गाउँपालिका पर्छ । गौरीगञ्जको पनि खादमगाछी र खगुरगाछी नाका पर्छ । स्थानीय स्रोतका अनुसार गौरीगञ्ज नाकाबाट बिगत केही महिनादेखि नेपालबाट भारततर्फ पठाउने वीऊ, चाइनिज स्याउ, मरीच, पपकन, मटर लगायतको काम ठूलो मात्रामा भइरहेको थियो ।

भारतबाट नेपालतर्फ लत्ताकपडा लगायत विभिन्न सरसामान भन्सार छलेर दिनहुँ भित्रिरहेको थियो । भारतीय सुरक्षा निकायले बरामद गरेको वीऊको काम गौरीगञ्जका विनोद र सञ्जीव नाम गरेका व्यक्तिले गर्दै आइरहेको स्रोतको दाबी छ । सो वीऊको मुख्य मान्छे झापा गाउँपालिकाका जीवन भन्ने व्यक्तिको भएको बताइन्छ । उनीहरूको समूहले त्यहाँका स्थानीय, सशस्त्र र नेपाल प्रहरीसँग राम्रै सेटिङ मिलाएर बिगत लामो समयदेखि ट्याक्टर र पिकअपमै सरसामानको ओसारपसार गर्दै आइरहेको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जका डीएसपी सुमन थापाले भारतीय सुरक्षा निकायले नेपालबाट गएको वीऊसहितको गाडी र केही मान्छे पक्राउ परेको स्वीकारेका छन् । तर, गौरीगञ्जको सीमा नाकाबाट गएको हो वा मोरङको नाकाबाट भित्र्याइएको बारेमा हामीले पनि अनुसन्धान गरिरहेको बताउँदै उनले भने– ‘यस घटनाको बारेमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका गणपतिलाई जानकारी गराइसकेका छौँ ।’

दक्षिण झापाको गौरीगञ्ज, झापा र मोरङको आमवारी, रङेली, नोचा, सोह्रघाट र सुनसरीको भान्टाबारी, कम्तानगञ्जतिरबाट पछिल्लो समयमा तस्करी धन्दा मौलाएपछि भारतीय सुरक्षा निकायले त्यसतर्फ चासो देखाए पनि नेपाल सुरक्षा निकाय भने मौन देखिएका छन् । जसका कारण भन्सार कार्यालयहरू सुनसान बन्न थालिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here