चिया श्रमिकको दैनिक ज्याला अब रु. ५६५, मासिकतर्फ रु. १५६९९, श्रम ऐन र सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने सहमति

0
77

झापा ।

रोजगारदाता चिया उत्पादक र श्रमिकहरुको तर्फबाट ट्रेड युनियनहरुवीच चिया श्रमिकको न्यूनतम् पारिश्रमिक निर्धारणमा सहमति जुटेको छ ।

चिया उत्पादक र श्रमिकवीच न्यूनतम् पारिश्रमिकका विषयमा लामो समयदेखि रहेको विवाद सहमतिमा टुंगिएको हो । नेपाल चिया उत्पादक संघ र विभिन्न ट्रेड युनियनबीच विभिन्न चरणमा भएको वार्तापछि सोमबार लिखित सहमति भएको थियो ।

अब चिया बगानमा कार्यरत श्रमिकहरुले दैनिक ज्यालातर्फ पाँच सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् । श्रमिकहरुले हाल खाइपाइ आएको न्यूनतम् पारिश्रमिकमा आधारभूततर्फ रु. ३९, महंगी भत्तातर्फ रु. २६ थप गरी दैनिक आधारभूत पारिश्रमिक रु. ३६२ र महंगी भत्ता रु. २०३ गरी जम्मा रु. ५६५ पाउने भएका हुन् ।

त्यस्तै मासिकमा आधारभूततर्फ रु. ११६२, महँगी भत्तामा रु. ६४४ थप गरी आधारभूत पारिश्रमिक रु. १००९६ र महंगी भत्ता रु. ५६०३ गरी जम्मा रु. १५६९९ प्राप्त गर्ने भएका छन् । यसअघि मजदुरले दैनिक पारिश्रमिकतर्फ रु. पाँच सय र मासिक पारिश्रमिकतर्फ रु. १३ हजार ८९३ पाउँदै आएका थिए । झापा नेपालमै सबैभन्दा बढी चिया बगान रहेको जिल्ला हो । बगानमा नियमित र मौसमी गरी दुई प्रकारका मजदुर रहँदै आएका छन् ।

सहमति अनुसार चिया प्रशोधन कारखानामा काम गर्ने श्रमिक र बगानका सरदार, चौकिदारको समेत दैनिक भत्ता रु. ७० निर्धारण भएको छ ।

उक्त सहमति ०८२ साउन १ गतेदेखि लागू हुने गरी नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा सिफारिस गर्ने सहमति जुटेको छ । उक्त समितिले रोजगारदाता र श्रमिकबीचको सहमति बमोजिमको ज्याला र तलब राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया अगाडि बढाउने छ ।

त्यस्तै श्रम ऐन र सामाजिक सुरक्षा कोषलाई कार्यान्वयन गर्ने सहमति समेत जुटेको छ । जसअन्तर्गत सबै प्रतिष्ठानहरुमा आवश्यक पर्ने कामदार यकिन गरी श्रम ऐन २०७४को दफा ११ अनुसार यही भदौ मसान्तसम्ममा नियमित र समयगत रोजगार सम्झौता गरी काममा लगाउने, नियमित रोजगारीमा रहेका कामदारहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने प्रक्रिया शुरु गरी ०८२ असोज मसान्तसम्ममा सूचीकृत गरिसक्ने सहमति भएको छ ।

श्रमिकको ज्याला–तलब वृद्धि तथा श्रम ऐन र सामाजिक सुरक्षाकोष कार्यान्वयनका सम्बन्धमा संवाद समूह र प्रादेशिक चिया सरोकार समन्वय समितिले समेत लामो समयदेखि संवाद, छलफल र लविङ गर्दैै आएको थियो ।

त्यस्तै चिया बगानमा गरिने दैनिक काम कुनै नयाँ प्रकृति वा प्रविधिबाट गर्नुपर्ने भएमा टे«ड युनियन र रोजगारदाताको आपसी सहमतिबाट ठेक्का निर्धारण गर्ने सहमति जुटेको छ । सहमति कार्यान्वयनमा दुबै पक्षले अनुगमन गरी पूर्ण कार्यान्वयनका लागि जिम्मेवार रहने प्रतिबद्धता समेत जनाइएको छ ।

सहमतिमा रोजगारदाताको तर्फबाट संयोजक जयप्रकाश शर्मा, सदस्यहरु विनय गोयल, समिर पोखरेल, शुक्र दाहाल, राजेन्द्रकुमार राजवंशी र चण्डीप्रसाद पराजुलीले हस्ताक्षर गरेका छन् । ट्रेड युनियनहरुको तर्फबाट नेपाल चिया कफी श्रमिक युनियनका सन्तकुमार राई, सहीकुमार राई र विक्रम गिरी, नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, टे«ड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारी र मिलन राई, अखिल नेपाल चिया मजदुर संघको तर्फबाट सीतादेवी सापकोटा, भूपाल सापकोटा र उमाकान्त रेग्मीले हस्ताक्षर गरेका छन् ।

पारिश्रमिक वृद्धिका लागि मजदुरको ट्रेड युनियनहरूले साउन १८ गतेदेखि आन्दोलनको शुरु गरेपछि नेपाल चिया उत्पादक संघसँग वार्ता थालिएको थियो । सहमतिसँगै आगामी दुई वर्षका लागि पारिश्रमिक विवाद टुङ्गिएको छ ।

चिया श्रमिक र रोजगारदातावीचको सहमतिले लामो समयदेखिको विवाद हल भएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले खुशी व्यक्त गरे । अधिकारीले अब चिया क्षेत्रका साझा समस्या हल गर्न सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here