भद्रपुर ।

श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल, नगर समिति भद्रपुरले यही भदौ २१ गते नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
सनातन धर्मका अमूल्य संस्कार, जीवनदर्शन र नैतिक मूल्यहरूलाई वर्तमान पुस्तामा पुनर्जीवित गराउन उद्देश्यले ‘श्री वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता’ विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको समितिले भद्रपुर–७ स्थित नवदुर्गा मन्दिरमा बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
जिल्ला समन्वय समिति झापाको सभा हलमा हुने वक्तृत्वकला प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा निजी गरी २९ वटा विद्यालयका विद्यार्थीले सहभागी जनाउने समितिका अध्यक्ष नवीन भट्टराईले जानकारी दिए ।
झापा ३ बाट निर्वाचित सङ्घीय सांसद तथा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहने कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः १० हजार, ७ हजार र ५ हजारसहित ट्रफि र प्रमाणपत्र वितरण गरिने अध्यक्ष भट्टराईले बताए । प्रतियोगिताको निर्णायकमा साङ्गवेद संस्कृत विद्यालय चारपानेका प्राध्यापक सोमनाथ गौतम, अधिवक्ता लक्ष्मी खनाल कोइराला र मेची बहुमुखी क्याम्पसका प्रमुख देवीप्रसाद आचार्य रहने समितिका उपाध्यक्ष उत्तम नेपालले जानकारी दिए ।
२०८० साल पुस ९ गते भद्रपुरमा गठन गरिएको यस समितिले हालसम्म विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रम अन्तरगत वृहत् रक्तदान, प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरिसकेको छ । साथै आगामी दिनमा अपाङ्ग आश्रम भद्रपुरमा खाना खुवाउने र छठ पर्वको दिन मेची नदीमा निःशुल्क चिया वितरण जस्ता कार्यक्रम गर्ने लक्ष्य राखेको जनाइएको छ ।
श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपालका केन्द्रीय सदस्य पं.शेषराज रिजालको प्रमुख अतिथिमा भएको कार्यक्रममा अध्यक्ष नवदुर्गा मन्दिर समितिका अध्यक्ष यादवप्रसाद पोखरेल, कार्यक्रमका आर्थिक संयोजक हेमन्त पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रममा कार्यक्रम संयोजक कमलनयन निरौलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालक समितिका सचिव उदय खनालले गरेका थिए ।































