धरमपुर सहकारीको १६औँ साधारण सभा

0
91

शिवसताक्षी,

सदस्यलाई सेवा र गाउँलाई सहकार्य गर्ने उद्देश्यसहित धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिवसताक्षी नगरपालिका–१, ले शनिबार आफ्नो १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

धरमपुर चौकमा सम्पन्न सभामा प्रमुख अतिथि वडा अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ्ग, अतिथि वडा सदस्य नारायण प्रसाद रिजाल, संस्थापक अध्यक्ष सूर्य किरण ढकाल, पूर्व अध्यक्ष दिप कुमार श्रेष्ठलगायतको उपस्थिति थियो।

सभामा सहकारीले आफ्नो आर्थिक विवरण सार्वजनिक गर्दै वर्षभरका गतिविधिहरू प्रस्तुत गर्‍यो। सहकारीको वासलात रु. ७ करोड ८७ लाख ९९ हजार ३००.३० रहेको छ भने खुद बचत रु. १७ लाख ९१ हजार ०५७.५० छ। संस्थाले रु. ५ करोड ५७ लाख ७१ हजार ३८२.४३ बचत संकलन गरी रु. ७ करोड ०७ लाख ४१ हजार ७५९ ऋण लगानी गरेको छ।

सेयर पूँजी रु. ९० लाख ६६ हजार ८००, जगेडा कोष रु. ८९ लाख ६७ हजार ८९६.९९, जम्मा आम्दानी रु. १ करोड ०२ हजार १६९ र जम्मा खर्च रु. ८२ लाख ३७ हजार ११२.११ रहेको प्रतिवेदन प्रस्तुत गरिएको छ।

सहकारीले सदस्यलाई लक्षित गर्दै मृत्यु संस्कारमा रु. १० हजारदेखि ३० हजारसम्मको सहयोग, प्राणघातक रोग उपचारमा रु. १० हजार, दुर्घटना बीमा बापत रु. १ लाख, जेष्ठ भत्ता, रक्तदान शुल्क सुविधा, सुत्केरी भेटघाट कार्यक्रम जस्ता नयाँ सुविधा ल्याएको छ।

त्यससँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका बालबालिकालाई जाडोमा लगाउने १५० थान न्यानो कपडा वितरण, जङ्गलबाट गाउँ पस्ने हात्ती नियन्त्रणका लागि कमलखोला र फूलबारी चोकमा होलिजेन बत्ती जडान, धरमपुर प्रहरी बिटको स्तर उन्नतिका लागि रु. ५० हजार विनियोजनजस्ता काम अघि सारेको छ।

सभामा उत्कृष्ट बचतकर्ताका रूपमा भिम बहादुर थापा, फुलकुमारी चेम्जोङ्ग, कुमारी लिम्बू र उत्कृष्ट ऋणीका रूपमा दिपक श्रेष्ठ, देवेन्द्र आङ्देम्बे, शान्ता खापुङलाई सम्मान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष कुमार संकरले गरेका थिए भने सञ्चालन सचिव नारदमणी रिमाल र व्यवस्थापक विनोद ढकालले गरेका थिए। स्वागत मन्तव्य उपाध्यक्ष चन्द्र कुमार खड्काले दिएका थिए।

सभामा प्रस्तुत योजनाहरूले सहकारीलाई आर्थिक संस्थामा सीमित नराखी, गाउँ र समाजलाई प्रत्यक्ष फाइदा पुर्‍याउने संस्थाको रूपमा विकास गर्ने सहकारीको सोच र कार्यक्षमता उजागर गरेको कार्यक्रममा सहभागी सदस्यहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here