अवैध गतिविधि रोक

0
60

झापा जिल्लाका भारतसँग सीमाना जोडिएका क्षेत्रका नाकाहरु चोरी तस्करी गर्नेहरुका लागि सहज बन्दै गएका छन् । ती नाकाबाट भइरहेको अवैध ओसारपसारका कारण भन्सार राजश्व पनि प्रभावित हुन थालेको छ । भारतीय बजारबाट नेपाल भित्रिने व्यापारीक सामान मात्र होइन नेपालबाट पैठारी हुने वस्तुका कारण राजश्व संकलन घट्दै गएको अनुमान गर्न गाह«ो छैन । भारतीय बजारबाट नेपाल भित्रिने सामानहरु पनि अवैध बाटोबाट भित्र्याउन सहज हुन थालेपछि वैध बाटो अर्थात् भन्सार कार्यालयहरु सुनसान देखिन थालेको समाचार सार्वजनिक भइरहेका छन् ।

यद्यपि सरकारले सीमानाकाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरी बल चेकपोस्ट खडा गरेको छ । चोरी तस्करी नियन्त्रणकै लागि परिचालित सशस्त्र प्रहरी नै तस्करको सेटिङमा अलमलिएको समाचार विवरण र टिप्पणी सामान्य जस्तै हुँदै गएको छ । झापा जिल्लाको काँकरभिट्टास्थित भन्सार कार्यालयले इलामस्थित पशुपतिनगर नाकादेखि झापाका सबै सीमा क्षेत्रका छोटी भन्सार कार्यालयहरुलाई निर्देशन, नियन्त्रण र अनुगमन गर्नुपर्छ । आयात–निर्यातलाई वैध र व्यवस्थित गर्दै राजश्व चुहावट रोक्ने, सीमाना क्षेत्रमा हुने आपराधिक क्रियाकलाप निस्तेज पार्न कै लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ । तर, झापाका सबै नाकाहरु तस्करहरुका लागि कसरी सहज भयो, यो खोजीको विषय हो ।

पूर्वी नेपालका सीमानाकाबाट गाईगोरु, लागूऔषध, लत्ताकपडा, माछाको भुरा लगायतका वस्तु अवैध ढंगले ओसारपसार हुने गरेको छ । त्यसका लागि तस्करहरुले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसम्म सेटिङ मिलाएको स्रोतले दाबी गरेको छ । यसक्रममा पछिल्लो पटक गौरीगञ्ज नाकाबाट भारतर्फ लगिँदै गरेको फर्सीको बीऊ लोड गरिएका चारवटा गाडीसहित छ जना पक्राउ परेका छन् । भारतीय सुरक्षाकर्मीहरुको टोलीले विशेष सूचनाका आधारमा भारत लगिँदै गरेको पचहत्तर बोरा फर्सीको बीऊ, दुईवटा पिकअप, दुईवटा ट्याक्टरसहित तस्करीमा संलग्न छ जनालाई नियन्त्रणमा लिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । खुल्ला सीमानाका हरेक दृष्टिले संवेदनशील हुन्छ । जहाँबाट आपराधिक घटनादेखि अवैध ओसारपसार पनि भइ आएका छन् । त्यसैलाई नियन्त्रण गर्न गठन गरिएको प्रहरीले कर्तव्य पूरा नगर्दा यस्ता घटना बढ्दै जान्छन्, तसर्थ राष्ट्रिय हित प्रतिकूलका यस्ता घटना हुन नदिन सरकारले चासोसहितको अग्रसरता बढाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here