बिर्तामोड । 
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष एवम् नेपाली कांगे्रस, केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागका सदस्य प्रेमलाल महर्जनले महंगीका कारण उपभोक्ता निरास भएको बताएका छन् ।
सरकारले बजार अनुगमनका नाममा नौटंकी मात्र गरेको आरोप लगाउँदै जताततै मिसावटजन्य क्रियाकलाप भइरहँदा समेत सरकार मुकदर्शक बनेको आरोप लगाए । उनले बजारमा विचौलियाको विगविगी रहेको धारणा राखे । संघीयतापछि नेपालमा तीन तहको सरकार छ– उनले भने– तर नियमनको अभावमा बजारमा अराजकता मौलाएको छ । उपभोक्तामा सचेतनाको अभावका कारण विचौलियाको रजगज चलेको उनको दावी छ ।
संविधान प्रदत्त मौलिक हकको रुपमा उपभोक्ताको अधिकार रहे पनि उपभोक्ता शिक्षा पाउने अधिकारबाट अझै पनि आम नागरिक बञ्चित भएको उनको दावी छ । स्वच्छ बजारका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा प्रभावकारी नियमन नगर्दा उपभोक्ता नुनदेखि सुनसम्ममा ठगिने गरेको उनको भनाइ छ ।
समतामूलक समाज निर्माणका लागि वस्तु तथा सेवाको समान पहुँचको व्यवस्था गरिनुपर्ने, कानूनी प्रक्रियामा नरहेका विचौलिया, तस्करी, कालोबजारी र मिसावटखोरहरुको कारण मूल्यबृद्धि हुने हुँदा तिनीहरुलाई नियमन र नियन्त्रण गर्नुपर्ने, म्याद नाघेका वा अखाद्य तथा मिसावट गरिएका वस्तुको विक्री वितरणमा नियन्त्रणका लागि सरकार सजग रहनुपर्ने उनको सुझाव छ ।
मानवजीवन स्वस्थ र सहज बनाउनका लागि ढककाँटा नापतौलमा ठगी, गुणस्तरहीन वस्तुहरु, हानिकारक विषादि र प्रदुषित वस्तुहरुको विक्री वितरण तथा भ्रमात्मक प्रचारमा नियन्त्रण गरिनुपर्ने उनको भनाइ छ ।
उपभोक्तालाई जागरुक बनाउन सरकारले भूमिका निर्वाह गर्नुपर्ने र विक्रेतालाई समेत जिम्मेवार बनाउँदै स्वच्छ बजार र समृद्धिको आधार तयार गर्न सरकार जिम्मेवारपूर्ण ढंगले लागीपर्नुपर्ने अध्यक्ष महर्जनको भनाइ छ ।





























