धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

0
56
काठमाडौँ,
सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर नीति, सादा प्याकेजिङ र कडा अनुगमन प्रणाली प्रभावकारी उपाय हुन सक्ने विज्ञहरुले सुझाएका छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज यहाँ ‘धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव नियन्त्रणमा कर वृद्धि’ विषयक अन्तरक्रिया आयोजना गरेको थियो । सो अन्तरक्रियामा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य डा जयकुमार गुरुङले भन्नुभयो, “उच्च कर दरले उपभोग घटाउन, युवालाई सुरु गर्नबाट रोक्न र सरकारलाई स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकिने अतिरिक्त राजस्व सङ्कलन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।” उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कर नीति सबैभन्दा शक्तिशाली रणनीति मानिने उल्लेख गर्नुभयो ।
कर प्रणालीलाई सरल बनाएर अन्तःशुल्क, स्वास्थ्य जोखिम कर र भ्याटमा समानुपातिक संरचना लागू गर्दा प्रशासनिक अनुगमन सजिलो हुने उहाँको भनाइ छ । “अन्तःशुल्क र स्वास्थ्य जोखिम करलाई निरन्तर र उल्लेखनीय रुपमा वृद्धि गर्नुपर्ने अपरिहार्यता छ”, उहाँले भन्नुभयो, “जसले सुर्तीजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्छ ।” कर प्रणालीलाई थप प्रभावकारी बनाउन विलासिता कर, वातावरण कर, खुद्रा व्यापार दर्ता शुल्क जस्ता अतिरिक्त माध्यम  अपनाउन सकिने उहाँले सुझाव दिनुभयो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य सचेतना तथा सुर्तीजन्य नियन्त्रण शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नकालागि सादा प्याकेजिङ नीति प्रभावकारी देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सादा प्याकेजिङले सुर्तीजन्य पदार्थको ब्रान्डिङ र डिजाइन हटाउँछ जसले गर्दा उत्पादनहरु कम आकर्षक देखिइ युवाहरुमा यसको लोभ्याउने क्षमता घटाउँछ । आकर्षक ब्रान्डिङ नहुँदा प्याकेटमा छापिएका स्वास्थ्य चेतावनीहरु अझ स्पष्ट देखिने हुन्छ र उपभोक्ताले स्वास्थ्य जोखिमबारे राम्ररी बुझ्न सक्छन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here