सिस्नेमा दोस्रो जिल्लास्तरिय खुला कराते प्रतियोगिता हुने

0
56
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–१स्थित सिस्ने कराते डोजोको आयोजनामा आगामी असोज ११ गते दोस्रो सिस्ने जिल्लास्तरिय खुला कराते प्रतियोगिता–२०८२ हुने भएको छ ।
अर्जुनधारा–१ नं. वडा कार्यालयको संयोजनमा हुने उक्त प्रतियोगिता खेलकुदको माध्यमबाट लागुपदार्थ मुक्त समाज निर्माण गर्न एवम् डोजोमा आबद्ध खेलाडीहरुको खेलस्तरलाई विकास गर्ने उद्देश्यले आयोजना गरिएको शनिबार आयोजित पत्रकार भेटघाटमा वडा सदस्य एवम् खेलकुद समितिका संयोजक मदन लिमेल मगरले बताए ।
प्रतियोगिता अन्र्तगत पुरुष र महिलातर्फ समान २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूहमा खेलहरु सञ्चालन हुने कराते महासंघ झापाका उपाध्यक्ष जीवन राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा जिल्लाका २५ वटा डोजोबाट अनुमानित २५० जना खेलाडी र ३० जना प्राविधिकको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई नगद पुरस्कार जनही दुई हजारसहित ट्रफी प्रदान गरिने छ । दुवै नगद पुरस्कार अर्जुनधारा–८ शनिश्चरे बजारस्थित अर्जुनधारा ज्वेलर्सका सञ्चालक सूर्य लोहारले प्रायोजन गर्ने बताइएको छ ।
स्थानीय मंगलबारे बजारको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न अनुमानित चार लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । त्यसको लागि वडा कार्यालय, विभिन्न दातृ संस्था र दाताहरुसँग समन्वय गर्ने आयोजकको लक्ष्य रहेको छ ।
खेलकुद संयोजक मगरको अध्यक्षता र वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बस्नेत, पूर्व जनप्रतिनिधि रामबहादुर निरौलालगायतले प्रतियोगिता सम्पन्न गर्न आवश्यक कुराहरुको व्यवस्थापन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य हेमलाल परियार, डोजोका प्रशिक्षक मथुरा तामाङलगायतले आफ्नो धारणा राखेका थिए । खेलकुद संयोजक मगरले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन टंक बरालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here