युद्धबहादुर बोहोरा,
इलाम:

फाकफोकथुम गाउँपालिका ७, दोकानडाँडामा अवस्थित जनकल्याण माध्यमिक विद्यालयले भौतिक पूर्वाधार सुदृढीकरणदेखि विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा उदाहरणीय कार्य गर्दै आएको छ। हालै, विद्यालयका पूर्व विद्यार्थीहरूबाट प्राप्त सहयोगले विद्यालयको शैक्षिक वातावरण अझ प्रभावकारी बन्ने आशा जगाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार योङहाङले प्रस्तुत गरेको आय–व्यय विवरण अनुसार, ३७ जना पूर्व विद्यार्थीहरूबाट जम्मा ६ लाख ८१ हजार २३९ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको सार्वजनिक गरेका छन् । सो रकमबाट विभिन्न भौतिक सामग्री खरिद गरिनुका साथै केही रकम विद्यालयको खातामा बचत राखिएको जनाए ।
सहयोग रकमबाट विद्यालयले आवश्यक सामग्री खरिद तथा व्यवस्थापन गरेको छ । फर्निचर र पूर्वाधारमा लगानी गर्दै विद्यालयलाई थप आकर्षक बनाएको छ । २० सेट ग्रिलसहितको डेक्स-वेञ्च (कक्षा ६–१० का लागि), १८ सेट डेक्स-वेञ्च (कक्षा १–५ का लागि, सखुवाको काठ, प्लाई र फर्माइका प्रयोग), १० थान पुस्तक कर्नर (कक्षा १–१०), पोडियम १ थान, स्यानिटरी प्याड बक्स २ थान, ट्र्याकसुट (बालविकासदेखि कक्षा ५ सम्म) वितरण गरेको छ । विद्यालय वृत्तचित्र निर्माण, नयाँ भवनको चेन, गेट र रेलिङ जडान, ढुवानी र सम्मानपत्रको खर्च गरी जम्मा ५ लाख ९३ हजार खर्च भई ८८ हजार २३९ रुपैयाँ बचत रहेको तथ्याङ्क प्रस्तुत गरेका छन् ।

यसैबीच, विद्यालयले “प्रविधि र पत्रकारिता सम्बन्धी शैक्षिक संवाद कार्यक्रम” सम्पन्न गरेको छ। कार्यक्रममा पत्रकार युद्धबहादुर बोहोरा र भगीरथ भण्डारीले प्रशिक्षण दिए । पत्रकारिता के हो? पत्रकार को हुन्? साथै पत्रकारिताको मुख्य उदेश्य, पत्रकारमा हुनु पर्ने गुण र विद्यालयमा विद्यार्थीले पत्रकारितासँग सम्बन्धिक के काम गर्न सक्छन् भन्ने विषयमा पत्रकार बोहोराले सहजीकरण गरे । प्रविधि, सामाजिक संजालको प्रयोग समाचार लेखन, सूचना सङ्कलन, डिजिटल पत्रकारिता लगायतका विषयमा पत्रकार भण्डारीले प्रशिक्षण दिए । विद्यार्थीले संचार र यससँग सम्बन्धित ज्ञान प्राप्त गरेको प्रधानध्यापक गणेश पौडेलले बताए ।
२०२३ सालमा स्थापना भएको यस विद्यालयमा हाल १७ जना शिक्षक तथा स्टाफ कार्यरत छन्। विद्यालयले समुदाय–विद्यालय साझेदारीलाई सुदृढ गर्दै पूर्व विद्यार्थीको सहयोगमा सकारात्मक रूपान्तरणको अभियान थालेको छ। यसअघि ‘विद्यार्थीसँग प्राध्यापक’ कार्यक्रम पनि सम्पन्न गरिएको छ । विद्यालयमा डा. प्रेम फ्याकको सहभागितामा ‘विद्यार्थीसँग प्राध्यापक’ कार्यक्रम सम्पन्न भयो। उनले विद्यार्थीलाई शिक्षा बुझ्ने र प्रश्न गर्न प्रेरणा दिँदै, सिकाइमा जागरुकता बढाउने सन्देश दिए। अध्यक्ष योङहाङले कार्यक्रमलाई प्रेरणादायी भएको बताए।
आगामी दिनमा अन्य व्यवहारिक ज्ञानसँग विद्यार्थीलाई संवाद गराइदै लैजाने कार्यक्रम रहेको जनाइएको छ । उक्त कार्यक्रम ७ नम्बर वडाध्यक्ष छत्र बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष खगेन्द्र लायो मगर, पूर्व विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष गोविन्द कोइराला, वर्तमान विव्यस सदस्यहरू, शिअसं सदस्यहरु, स्थानीय अभिभावकहरू, शिक्षकगण तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।





























