
जन्मेका सब मर्दछन् जगतका त्यै भित्र आफू पनि
बेला, बार म पर्खदैछु मनमा के हुन्छ दुःखी बनी
आमाका गह छन् बलिन्द्र तर यी हेर्दै कहाँ मर्नु र ?
हाँसेकी जननी नहेरी म त खै पैला कहाँ मर्छु र ?
नदी–नाला हाम्रा कति बिकिसके बिक्न कति छन् ?
सिमाना बेचेछन् अब पनि तयारी मिच्न कति छन् ?
युवा सारा बेचे मुलुक अब रित्तो दिनदिनै
गुहार माग्दै रुन्छिन् विकल जननी हा छिनछिनै ।
आफू चैं नमरी मरिन् यदि भने नेपाल आमा यहाँ
बाचौंला कसरी भएर टुहुरो जाने कता हो कहाँ ?
बोकेथेँ शिवले सती अघि यहाँ संसार घुम्दै रुँदै
छर्दै अस्तु घुमौं कि यो भुवनमा विक्षिप्त आफू हुँदै ।
यस्तो भाव–कुभाव खेल्छ मनमा गाह्रो भयो जीवन
मिल्ने भाव भए त देश भरका आऊ न साथी रुन
गर्दा हुन्छ कि औषधी सब मिली के हुन्छ एक्लै जली
आमा मुक्त सक्यौं गराउन भने हाँसी चढौंला बली ।
बिर्तामोड–५, झापा



























