सांगीतिक तथा अध्यात्म क्षेत्रमा चम्किला प्रतिभा

0
173

हरेक युवाहरुको मनमा जीवनमा केही गर्ने केही बन्ने सपना, आकांक्षा या उद्देश्य हुन्छन् । अतः आफूले हासिल गरेका ज्ञान, सीप र शिक्षा अनुसारका पेशा, व्यवसाय या सेवा अँगाल्ने गर्दछन् । प्रायले आफूले स्कूल–कलेजमा पढेका बिषय अनुसारका पेशा, व्यवसाय या सेवा शुरु गर्ने गर्दछन् । तर, कतिपयले आफ्नो पढाईभन्दा फरक विधा पनि अँगाल्न पुग्दछन् ।

कतिपय युवाहरु अवसरको पर्खाइमा स्वदेशमै भौंतारिरहेका हुन्छन् त कैयन रोजगारीका लागि विदेश जान्छन् । तर, कतिपय युवाहरु यस्ता पनि हुन्छन् कि उनीहरु आफै नै अवसर सिर्जना गर्दछन् या त अवसर पहिचान गरेर लागी परिहाल्छन् र त्यसैमा रमाएर काम गर्दछन् साथै सन्तुष्टी पनि प्राप्त गर्दछन् । कतिपय युवाहरुले पेशालाई सेवाको रुपमा पनि सँगसँगै लैजान्छन् । त्यस्तै सेवालाई जीवनको लक्ष्यको रुपमा अँगाल्ने युवाहरुमध्ये एक युवा हुन्– बिर्तामोड–१ अतिथिसदन रोड निवासी बिजय दंगाल ।

बिजया दशमीकै दिन जन्मेका हुनाले बिजय नाम रहेको बिजय दंगाल युवा वयमा लम्किँदैछन् । सेवाभाव मनभित्र सँगालेर बिजय सांगीतिक र अध्यात्म क्षेत्रमा अहोरात्र खटिइरहेका पाइन्छन् । उनमा सानैदेखि सांगीतिक रुची रहेको बताउँछन् । सानैदेखि संगीतका सुरताल, कर्ड, रिदम, सरगम तथा यावत कुञ्जीहरु सिक्दै आएका उनले हालसम्म संगीतका धेरै व्याकरणहरु जानिसकेका छन् । उनी बिर्तामोड, धुलाबारी, चारआली, चन्द्रगढी र अर्जुनधाराका विद्यालय, संगीत प्रशिक्षण केन्द्रमा विद्यार्थीहरुलाई शास्त्रीय, लोक र सुगम संगीत प्रशिक्षण गर्दछन् । उनले आफ्नै नवधुन संगीत पाठशाला पनि सञ्चालन गरिरहेका छन् ।

थुप्रै जना सांगीतिक प्रतिभाहरु उत्पादन गरिसकेका छन् । साथै विभिन्न कार्यक्रम तथा अवसरहरुमा आफ्नातर्फबाट संगीत संयोजन तथा प्रस्तुति दिनुका साथै प्रतियोगिताहरुमा जजको भूमिका पनि कुशलतापूर्वक निभाउँदछन् । संगीतको गहिरो ज्ञानका भएका बिजय सुरिलो स्वरका धनी पनि छन् । बिजयले ७५ वटाभन्दा धेरै गीतहरुमा संगीत भरिसकेका छन् र थुप्रै भजन तथा सुगम गीतहरु आफ्नै स्वरमा सजाएका छन् । शास्त्रीय संगीतमा गहन साधना गरेका उनी शास्त्रीय संगीत समेत प्रस्तुति गर्दछन् ।

बिजय दंगालको यी प्रतिभा उनको कडा मेहनतको परिणाम हो । सानैदेखि धेरै संघर्ष गरेर संगीत सिकेको हुनाले अहिले आफै विभिन्न ठाउँमा पुगेर जेहेन्दार विद्यार्थीलाई निःशुल्क संगीत प्रशिक्षण दिन्छन् । पुख्र्यौली थलो भोजपुरमा पाँच छ वर्षको उमेरमा स्कूल पढ्दादेखि नै समाज सुधारका गीत सिर्जना गरी गाउने गरेको बताउँछन् । पाँच वर्षकै उमेरमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन प्रतियोगितामा प्रथम भएका थिए । पछि झापामा आएपछि पनि झापा जिल्लाभरिका स्रोत केन्द्र स्तरीय अन्तर विद्यालय गायन प्रतियोगिता पनि प्रथम भएका थिए । साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांगीतिक प्रतियोगिताहरुमा पुरस्कृत र सम्मानित भएका छन् ।

बिजयले प्रयागराज संगीत समिति इलाहवादबाट संगीतको प्रारम्भिक शिक्षा लिइ त्यसपछि संगीतमै डिप्लोमा उपाधी भारतकै मुजफरपुरबाट हासिल गरेका छन् । संगीतको ज्ञान महासगर जत्तिकै मान्ने उनी जीवनभर संगीत सिकिरहने र सिकाइरहने बताउँछन् । बिजय अध्यात्म क्षेत्रमा पनि गहिरो लगावका साथ सेवामा सम्बद्ध छन् । श्री सत्य साई सेवा संगठनमा आबद्ध भई अध्यात्म मार्गमा लिन बिजय नेपाल र भारतका विभिन्न आध्यात्मिक स्थानहरुमा आयोजित अन्तर्राष्ट्रिय आध्यात्मिक सांगीतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिने गरेका छन् ।

यसका अवाला अध्यात्मिक केन्द्रहरुमा नेपालबाट जानुहुने विभिन्न व्यक्ति तथा समूहहरुलाई पथप्रदर्शन र सहजीकरण समेत गरिरहेका बिजयले भारतको दर्जनांै आध्यात्मिक केन्द्रहरुको भ्रमण गरि सेवा पु¥याएका छन् । प्रमुख आध्यात्मिक केन्द्रहरुमा ब्याङ्लोरको प्रशान्तिनियलम, पुट्टापर्ती, तिरुपति सिरडी, कन्याकुमारी, रामेश्वरम, विश्वनाथपुरी, अयोध्या, ब्रिन्दावन, बनारस, जगन्नाथपुरी लगायतका आध्यात्मिक तथा धार्मिक केन्द्रहरुमा भ्रमण गरी सेवा पु¥याएका छन् ।

उसो त बिजय विद्यालय, क्याम्पस तथा विश्वविद्यालय तहका शिक्षामा उत्कृष्ट विद्यार्थी हुन् । उनी एसएलसीमा प्रथम डिभिजन, दश जोड दुईमा विद्यालय टप र स्नातकोत्तर तहमा कलेज टप गर्न समक्ष एक अब्बल विद्यार्थी हुन् । बिजय एकाडेमिक शिक्षाका माध्यामबाट लोकसेवा पास गरी अधिकृत तथा माथिल्लो तहमा पदोन्नति भई आफ्नो क्यारियर राम्रो बनाउन सक्दथे । बैंक तथा वित्तिय संस्थामा जागिर गरेर जमिन, घर, जायदात जोडन सक्दथे । सम्पन्नताको शिखर चढ्न सक्दथे, तर उनको लगाव गीत–संगीतमा भयो । विचार गर्दा विरोधाभाषपूर्ण लाग्न सक्छ, तर बिजय सांगीतिक आकाशमै रमाउन र यसैलाई सेवाको रुपमा जीवनभर मेहतन गर्न चाहन्छन् । नेपाली गीत–संगीतलाई देशविदेशमा चिनाउन चाहन्छन् । गीत–संगीत सिक्न चाहने बालबालिकादेखि ज्येष्ठहरुसम्मलाई नेपाली गीत–संगीतका ज्ञान बाड्न चाहन्छन् । यसका अलावा श्री सत्य साई अध्यात्म मार्गमा आबद्ध भएर शुद्ध आचरण तथा मानवीय सेवाको सन्देश फैलाउन चाहन्छन् । यीनै दुई आयमका माध्यमबाट मानवीय तथा देशसेवा गर्न चाहन्छन् ।

पढाइमा अब्बल भएपनि किन सांगीतिक तथा आध्यात्मिक फाँट मन प¥यो भन्ने प्रश्नमा बिजय भन्छन्– संगीत र अध्यात्ममा जुन आनन्द प्राप्त गर्न सकिन्छ त्यो अरु आयामबाट पाउन सकिदैन भन्ने मलाई लाग्यो । यिनले भौतिकताको मात्र कुरा गर्दैन अन्तरआत्माको कुरा गर्दछन् । संगीत मानिसहरुका लागि मात्र होइन सबै प्राणी तथा बनस्पति समेतलाई मन पर्ने कुरा हो । संगीतका माध्यमबाट धेरै सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । अनि अध्यात्म आफैमा एक शिक्षा हो । यसले समाजलाई सभ्य, सुसंस्कृत, अनुशासित, नैतिकवान बनाउन मार्गदर्शन गर्दछ । अध्यात्म औपचारिक अर्थात् एकाडेमिक शिक्षाभन्दा उत्कृष्ट हो भन्ने मलाई लाग्दछ । वर्तमान समयमा मूल्यमा आधारित शिक्षा एकाडेमिक शिक्षामा पनि समावेश गरिने हो भने समस्त समाज सुसंस्कृत लयमा अगाडि बढ्दछ ।

अनि संगीतले चाहिँ कसरी आकर्षित ग¥यो त भन्ने प्रश्नमा बिजय भन्छन्– सानैदेखि नै म भित्र संगीतको कला लुकेको आभाष विद्यालयका गुरु–गुरुआमाहरुले थाहा पाएर मलाई गीत गाउन प्रेरित गर्नुभयो । ‘जीवनमा पढ्नु राम्रो छ पढ्न पठाइदेऊ विन्ती हाम्रो छ’ बोलको गीत सरहरुले लेख्नुभएको थियो । सोही गीत मैले पाँच वर्षको उमेरमा मेरो जीवनको पहिलो सार्वजनिक गायनको रुपमा प्रस्तुति दिएको थिएँ र मेरो प्रस्तुतिले पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो । सरहरुकै मार्गदर्शन र प्रेरणाले म संगीत प्रति लिन हुन पुगेको हो । खासमा मैले संगीतमा जीवन देखेँ । संगीतका माध्यमबाट जीवनको यथार्थ कहन सकिन्छ भन्ने लाग्यो । संगीतलाई मैले डो¥याएर ल्याएको भन्दा पनि संगीतले नै मलाई बालकालदेखि अहिलेसम्म डो¥याएर ल्यायो । म अनायासै संगीतमा डुबेँछु । संगीतकै माध्यमबाट समाज तथा देशको सेवा गर्न सकिन्छ भन्ने मलाई लाग्यो । अनि नेपाल टेलिभिजनको आफ्नै रियालिटी सो नेपाल स्टार प्रतियोगितामा आफ्नो सहभागिताले आफूलाई देशव्यापीरुपमा चिनायो ।’

बिजय साहित्यमा पनि उत्तिकै रुची राख्दछन् । ‘नफुलेको लाली गुराँस’ कविता संग्रह प्रकाशनको तरखरमा छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित देशव्यापी कविता प्रतियोगितामा बिजयको ‘नेपाल आमालाई चिठी’ शीर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो । उनमा कथा बाचन गर्ने गजबको कला पनि छ । रेडियो कार्यक्रमहरुमा भ्वाईस ओभर गर्ने गर्दछन् ।

बिजय दंगालको सांगीतिक पृष्ठभूमि शास्त्रीय संगीत हो साथै उनी नेपाली लोकगीतप्रति पनि उत्तिकै झुकाव भएका कलाकार हुन् । नेपाली लोकगीतका साथै लोक बाजाहरुको प्रबद्र्धन गर्नुपर्ने विचार राख्ने बिजयले देशभर विभिन्न सांगीतिक कार्यक्रमहरुमा लोक गायन पनि प्रस्तुत गर्ने गरेका छन् । संगीत गाउने बजाउने विषय मात्र नभई एक संस्कार पनि भएको हुँदा संगीतले समाज रुपान्तरण र सभ्य समाज निर्माणमा अहम् भूमिका खेल्ने विचार राख्दछन् बिजय । बिजय जब अभिभावकसहित झापा आए तबदेखि श्री सत्य साई सेवा संगठनमा बालविकास पढ्दा मुल्यमा आधारित शिक्षाबाट प्रेरित भै भजन तथा भक्ति संगीत गाउँदै भारत को ब्यङ्गलर स्थित प्रशान्ती निलयम लगायत अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागी भई आफ्नो प्रस्तुति दिँदै आएका छन् । यस क्रममा उनको गायनकला तथा क्षमताको प्रशंसा भएका छन् । शास्त्रीय, भक्ति तथा सुगम संगीतमा बिजय दंगालको दख्खलप्रति दिग्गज कलाकारहरुबाट समेत प्रशंसित हुनेगरेका छन् ।

माता डम्बरकुमारी दंगाल तथा पिता चेतनाथ दंगालका एकमात्र सुपुत्र, भोजपुरको लेखर्क राउतेमा २०५१ साल असोज २७ गते शुक्रबार बिजय दशमीको दिन जन्मेका बिजयले प्रारम्भिक शिक्षा श्री सिकारी पोखरी प्रावि राउते भोजपुरमा शुरु गरेका थिए । विभिन्न विद्यालय हुँदै स्नातक तथा स्नातकोत्तरसम्मको शिक्षा श्री आस्था कलेज अफ मेनेजमेन्ट दमकमा पुरा गरेका हुन् । पहाडबाट वि.सं. २०६२÷०६३ मा बसाई सराई भई आएका र २०७६ सालदेखि बिर्तामोड–१ अतिथिसदन रोडमा स्थायी बसोबास गरिरहेका संगीत तथा अध्यात्म क्षेत्रका चम्किला प्रतिभा बिजय दंगाल यी दुई विधामा गहन साधना गर्दै मानवीय सेवामा समर्पित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here