अर्जुनधारामा आईई प्रतिवेद तयारी सम्बन्धी सार्वजनिक सुनुवाई

0
56

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकाले सोमबार एक कार्यक्रमकोबीच सार्वजनिक सुनुवाई कार्यक्रम शुरु गरेको छ ।

पालिकाको क्षेत्र भएर बग्ने बिरीङ, टाङटिङ, ठूलो नेते, सुखानीलगायतका नदीहरुबाट नदीजन्य सामग्रीहरु संकलनका लागि प्रारम्भिक वातावरणीय परीक्षण(आईई) प्रतिवेदन तयारी सम्बन्धी वडावासीहरुको सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

अर्जुनधारा नगरपालिका–२ र ३ नं. वडाका वडावासीहरुलाई लक्षित गरि अर्जुनधारा–२ नं. वडा कार्यालयको प्राङ्गणमा भएको कार्यक्रम वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षता र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

परामर्शदाता बिर्तामोड नगरपालिका–१०स्थित इको ग्रीन कन्सल्टेन्सी प्रा.लि.सहजकर्ता ज्ञानेन्द्र चौधरीले सहजिकरण गरेको उक्त कार्यक्रममा सहभागीहरुकोतर्फबाट कमल बुढाथोकी, डिल्लीनारायण श्रेष्ठ, नरेन्द्रदेव इङनाम, भोलानाथ बराल, मुकुन्द भण्डारीलगायतले नदीजन्य सामग्री उत्खनन् प्रक्रिया र उत्खनन्बाट पर्न सक्ने असरसँगै प्रभावको विषयमा जिज्ञासा राखेका थिए ।

त्यसैगरी कार्यक्रममा नदीजन्य सामग्रीको उत्खनन् त्यस क्षेत्रमा परेको जोखिमसँगै उत्खनन्को क्रममा मेसीनको प्रयोग नगर्न र नगराउन भन्दै सहभागी ३७ जनाको हस्ताक्षरसहितको निवेदन पत्र प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि तामाङले सहभागीहरुको जिज्ञासाको जवाफ दिएको सोही कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशवराज ढुंगेलले चालु आर्थिक वर्ष २०८२÷०८३मा अर्जुनधारा नगरपालिकाका विभिन्न क्षेत्रमा विनियोजन भएको योजनाहरु बारे जानकारी गराएका थिए ।

नगर उपप्रमुख खड्गमाया पराजुलीले कार्यक्रमको उद्देश्य बारे जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन प्रशासन शाखाका अधिकृत सौजन कटुवालले गरेका थिए । सो सार्वजनिक सुनवाई कार्यक्रम भोलि(मंगलबार) अर्जुनधारा–१ नं. वडाका वडावासीहरुलाई लक्षित गरि स्थानीय सयपत्री युवा क्लबको सभाहलमा र अर्जुनधारा–४, ५ र ७ नं. वडाका वडावासीहरुलाई लक्षित गरि अर्जुनधारा–७ नं. वडा कार्यालयको सभाहलमा सञ्चालन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here