झापा, सरकारको वर्वदर दमन विरुद्ध झापामा विहानैदेखि जेनजी पुस्ताले आन्दोलन चर्काएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै जेनजी पुस्ताले आन्दोलन चर्काएको हो ।
सरकार दमनका कारण १९ जना जेनजीको मृत्यु भएपछि बिहानैदेखि झापामा आन्दोलन शुरु भएको छ ।
बिहानैदेखि बिर्तामोडको मुक्तिचोकमा आन्दोलनकारीहरुले टायर बालिरहेका छन् । बिर्तामोड ५ मुक्ति चोकमा करिब ३०० जना प्रदर्शनकारीहरुले स्वतस्फूर्त रुपमा भेला भई पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामानहरु, प्रहरी पोष्टहरु , ट्राफिक चिन्हहरु सडकमा ल्याई आगजनी गरिरहेका छन् । हालको अवस्था तनाबग्रस्त रहेको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको छ । उक्त स्थानमा प्रहरी टोली जान सकेको छैन ।
त्यस्तै मेचीनगर –७ इट्टाभट्टास्थित मेचीनगर नगरपालिकाको कार्यालय प्रवेश गर्ने बाटो अगाडि पूर्वपश्चिम राजमार्गमा जेनजीका युवाहरु करिब ३० जनाको उपस्थितिमा राजमार्गमा चल्ने सवारी साधनहरु अवरोध गर्ने प्रयास गरिरहेका छन् ।





























