हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

0
75
काठमाडौँ, जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये आज राति ८ बजेसम्म एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ ।
  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ । यसरी नियन्त्रणमा लिइएकामा कैदीबन्दी एक हजार ५०९ जना र थुनुवा ५८ जना रहेका छन् । अझै १२ हजार ५३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँले ७९५ जना थुनुवा पनि फरार रहेकाले खोजी जारी रहेको बताउनुभयो ।
आजै प्रहरी प्रधान कार्यालयले यसरी फरार भएकालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुमा सम्पर्कमा आउन सार्वजनिक अनुरोध गरिसकेको छ । उनीहरु सबै आगजनी तोडफोड गरी फरार भएका थिए ।

काठमाण्डौस्थित सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

जेनजी पुस्ताको आन्दोलनका क्रममा काठमाण्डौस्थित सुन्धारा कारागारबाट भागेका दुई जना कैदी बन्दी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गौरीगञ्ज ६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लागूऔषध ओसारपसारमा कसुर ठहरी कैद सजाय भुक्तान गरिरहेकी खातुन गत भदौ २४ गते आन्दोलनका क्रममा भागेकी थिइन् । उनलाई प्रहरीले गएराति भारत भाग्न लागेको समयमा भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन थापाको कमाण्ड र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा रहेको संयुक्त गस्ती टोलीले गौरीगञ्ज –५ मलाहा टोलस्थित सीमा इलाकाबाट खातुनलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ ।

त्यस्तै आन्दोलनका क्रममा फरार भएका अर्का एक युवक सीमावर्ती भारतीय क्षेत्रमा पक्राउ परेका छन् । बुधवार राति भारत–नेपाल सीमामा रहेको पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ विराटनगर ३ का सुरज कामत रहेका छन् । भारतीय प्रहरीले सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको बताइएको छ । कामत नेपाल भारत सिमावर्ती पिलर संख्या १५४ देखि करिव २०० मिटरभित्र पक्राउ परेका हुन् ।

नेपालको आमवारी हुँदै ई–रिक्सा र पैदल मार्फत उनी भारतीय सीमामा प्रवेश गरेका थिए । लागूऔषधको अभियोगमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाएसंगै थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here