
विबेक केशरी प्रसाईं,
नेपालको राजनीतिक यात्रामा हरेक आन्दोलनले एउटा ठूलो प्रश्न उठाइरहेको हुन्छ -जसको जवाफ हामीलाई दशकौंसम्म भेटिँदैन । अहिले पनि त्यही प्रश्न उठेको छ : प्रधानमन्त्री भेटियो, तर ५१ जना युवाको हत्यारा कहाँ छन् ?
कुर्सी सजिलै भेटिन्छ, अपराधी भने हराउँछन्
राजनीतिक अस्थिरता, सत्ता-समीकरण र दल-दलालहरूको खेलमा प्रधानमन्त्री बदलिनु अब कुनै ठूलो समाचार रहेन । तर निर्दोष नागरिकमाथि भएको गोलीकाण्ड, दमन र हत्याको न त ठेगाना भेटिन्छ न त न्यायको जवाफ । यो हाम्रो लोकतन्त्रको दीर्घ रोग हो ।
कसले गोली चलायो ? कुन आदेशमा गोली चल्यो ? यस्तो प्रश्न दशकौंसम्म अनुत्तरित रहन्छ । त्यो बीचमा, दोषीहरू सम्माननीय बन्न पुग्छन्, कुर्सीमा विराजमान हुन्छन्, र पीडितका परिवार अझै पनि “न्याय” भन्ने शब्दलाई तारेबारेमा हेरेर बस्छन् ।
समितिको संस्कृतिः न्याय होइन, ढाकछोप
हरेक हत्याकाण्डपछि हामीले एउटै दृश्य देखेका छौं -“उच्चस्तरीय छानबिन समिति” । समितिले फोटो खिच्छ, प्रतिवेदन लेख्छ, त्यही प्रतिवेदन धुलाम्मे तक्ति मा हराउँछ । पीडित परिवारले सोध्छन्: “हत्यारा खोइ ?” समितिले भन्छ: “हामी अझै अध्ययन गरिरहेका छौं ।”
समितिको नतिजा भने सधैं एउटै हुन्छ -“कारबाही गर्न प्रमाण अपुग छ ।” अनि नागरिकलाई बुझाइन्छ: “समय बितेपछि घाउ आफैं निको हुन्छ ।” तर ५१ युवाको आमा-बुबाको घाउ कहिले निको हुन्छ ?

जनताको स्मृतिमा रगत अझै ताजा छ
मृतकहरू केवल नाम होइनन् -तिनीहरू आमा-बुबाको सहारा थिए, दाजुभाइको सपना थिए, समाजको भविष्य थिए । तर राज्यले तिनलाई केवल आँकडाको रूपमा हेर्छ “५१ जना मारिएका छन् ।”
तर त्यो आँकडाभित्र लुकेको पीडा ?
एउटा आमाले छोराको चप्पल अझै सिरानीमुनि राखेकी छिन् । एउटा बुबाले खेतमा हलो जोत्दा छोराले ल्याउने मद्दत अब कहिल्यै नआउने भएको छ ।
भाइबहिनीहरूले स्कुलमा साथीहरूको कुरा सुन्दा आफ्नो दाजु/दिदीलाई सम्झेर आँसु झार्छन् ।
न्याय नआएसम्म आन्दोलन अधुरो
नेपालको इतिहास प्रमाण छ -राजनीतिक पद बाँडफाँड सजिलै हुन्छ, तर न्यायको वितरण कहिल्यै हुँदैन । २०४६ को आन्दोलन, २०६२–६३ को जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन -हरेकमा हजारौं नागरिकको रगत बग्यो । तर त्यस्ता घटनाका वास्तविक दोषी आज पनि सार्वजनिक छैनन् ।
आज पनि प्रधानमन्त्री भेटिन्छन् । हात हल्लाएर, भाषण गरेर, “नयाँ सुरुवात” भनेर आश्वासन दिन्छन् । तर ५१ जना युवाको हत्यारा भने जनताको आँखामा, इतिहासको पानामा, अनि पीडित परिवारको आँसुमा अझै खोजिन बाँकी छन् ।
अन्तिम प्रश्न
प्रधानमन्त्री भेटिनु सजिलो रहेछ । सत्ता बदलिनु सजिलो रहेछ । तर रगत बगाउनेहरूको अनुहार देखाउनु किन गाह्रो हुन्छ ? शायद उत्तर सजिलो छ -किनकि हत्यारा हराउँदैनन्, उनीहरू नै सत्ता-शक्ति र संरचनामा रूपान्तरण भएर हरेक पटक फर्किन्छन् ।


























