अब देश जुरुक्कै उठ्नुपर्छ

0
86

हाम्रो देशमा के मात्र जलेन ? सबै त जल्यो । यसरी जल्यो मानौ खोरिया जल्यो । पाखा पखेराका खोरियामा भएका अनावश्यक झार, पोथ्रा, झिक्रा र झाडीहरु जले जसरी राष्ट्रको भौतिक संरचना दनदनी जले । सन्ठी जलेजस्तै गरी जले । कारण थियो जेन–जीको उर्लंदो जल्लो बल्दो प्रवाह ।

देशको स्पन्दन सरकार बस्ने सिंहदरबार, न्यायको मन्दिर सर्वोच्च अदालत र जनभावना व्यक्त गर्ने संसद जले । अनगिन्ती सरकारी भवन, फर्निचर, फाइल, अभिलेख, सन्धीसर्पन, कम्प्यूटर, प्रिन्टर, फोटोकपी मेसिन लगायत विद्युतीय संशाधनहरु जले र अनगिन्ती सवारी सधानहरु जले । यिनका अलावा राजनीतिक पार्टी कार्यालयहरु, राजतीतिज्ञहरुका घरहरु, राजनीतिज्ञहरुसँग सम्बन्धित तथा चर्चामा आएका संरचनाहरु, राजनीतिज्ञहरुसँग नजिक रहेकाहरुको घरहरु, व्यापारिक, व्यवसायिक संरचनाहरु पनि जले । जनतासँग प्रत्यक्ष सम्पर्क रहने स्थानीय सरकारका भौतिक संरचनाहरु पनि जले । वडा कार्यालयहरुधरी जले । सरकारका तीनै तहका भौतिक संरचना जले । विद्याको मन्दिर विद्यालयहरु र पुस्तकालयहरु पनि जले । अनि जले धेरै कुराहरु ।

प्रश्न अहम् यो छ कि, कसले गरे आगजनी ? के जेन–जीले गरे ? प्रश्न अर्को पनि छ किन जलाए ? यो प्रश्न चाहिँ निकै महत्वपूर्ण छ । आगोको ज्वालामार्फत असन्तुष्टी प्रकट गरे । खासमा सत्ता, सरकार, राजनीतिक पार्टी र राजनीतिज्ञहरुप्रति असन्तुष्टी जनाएका हुन् । जेन–जीसँगै आम युवा तथा नेपाली जनताले पनि असन्तुष्टि जनाए । सलाईको काँटी या अग्निको झिल्कोको माध्यमबाट सरकारप्रति चरम असन्तुष्टि जनाएका हुन् । आम उत्तर यही नै पाइन्छ । यस उत्तरको भाव, अन्तर्य या अर्थ सम्बन्धित पक्षले बुझ्नु बुद्धिमानी हुन्छ ।

अर्को उत्तर पनि छ, घुसपैठिया, उदण्ड, अराजक, देशमा अनिश्चितता पैदा गराउने तत्व र विदेशी गिरोहले आगजनी गरेका हुन् । उनीहरुले जेन–जीको भावनामा फोहोरी खेल खेले । जुनकुनै आन्दोलनहरुमा घुसपैठ हुनेगरेका पाइन्छन् । शुद्ध अर्थात् पियोर आन्दोलन सायदै हुन पाउँछन् । सवाल यो हो कि, आन्दोलनका नाममा विध्वंश मच्चाउने तत्व सक्रिय हुनसक्छन् भनेर जिम्मेवारपक्षले समयमै कदम किन चालेनन् ?

सरकारले सामाजिक सञ्जाल बन्द गर्नु पछिल्लो निहु बने पनि असन्तुष्टीका चाङ उरुङ्ग हुँदै आएका थिए । अभाव, महंगी, गरीबी, बेरोजगारी, अनिश्चित उच्चशिक्षा, अनिश्चित भबिष्य, भ्रष्टाचार, राष्ट्रको ढुकुटीमा अनियमितता, विभेद, नातावाद, कृपावाद, फरियावाद र सूचनाप्रबिधिबाट बन्चित गर्नु प्रमुख कारण हुन् जेन–जीको सरकारबिरुद्धको विष्फोटक आन्दोलन । यति विष्फोटक कि, नेपालको इतिहासमा सर्बाधिक क्षति हुनपुग्यो । थुप्रै नेपालीको सहादत भयो । माओवादी जनयुद्धकालको क्षति बिर्साउने क्षति भयो ।

विश्वको उत्तरआधुनिक प्रवाह नेपालका सरकारहरुले बुझ्न नसक्नु र देशलाई सोही अनुरुप रुपान्तरण गर्न नसक्नु असन्तुष्टिको कारण बनेको हो । राजनीति र सत्ता नजिककाहरुको अस्वभाविक प्रगति, राज्यको ढुकुटीमा लुट, करोडौँ युवा विदेशिन बाध्य पारिनु, उनीहरुले पठाएका रेमिट्यान्स्मा राजनीतिज्ञ र सरकारमा हुनेहरुको लुट खसोट र मोजमस्ती पनि कारणहरु हुन् ।

पूर्व प्रधानन्यायाधीश शुशीला कार्की नेपालको अन्तरीम सरकारको प्रधानमन्त्री नियुक्त भइसकिन् । तर यहीमात्र समाधानको उपाय होइन । प्रधानमन्त्री र मन्त्रीहरुले जेन–जीको भावनाका साथै आम नेपालीको भावना र आकांक्षा अनुसार काम गर्न सक्छन् सक्दैनन् ? जनअसन्तुष्टिहरु साम्य पार्ने सुधारका कार्यक्रम ल्याई सफल कार्यान्वयन गर्न सक्छन् सक्दैनन् ? अन्तरिम सरकारको सफलता यसैमा निर्भर हुन्छ ।

जेन–जीको चेतना, विचार, आन्दोलन र देशमा आम सुधारको आव्हानको घटनालाई नेपालमा पुनर्जागरणको रुपमा लिनु उपयुक्त हुन्छ । हल्का रुपमा लिइयो भने अझ बिष्फोटक स्थिति आउनसक्छ । सोचनीय विषय यो छ कि, जेन–जीहरु किन यस्तो विष्फोटक मोडमा आइपुगे ? यो प्रश्न अहम् छ । तसर्थः जेन–जीहरुको भावना, आकांक्षा र मागलाई मध्यनजर गर्दै सम्बन्धित पक्षहरुले आफूलाई सुधार गर्दै देशलाई समृद्धिको मार्गमा तीव्ररुपमा दौडाउने प्रतिबद्धता व्यक्त गर्ने मात्र होइन कसम नै खाएर कदम बढाइहाल्नु उपयुक्त हुनेछ । जेन–जीमध्येबाट सरकारमा मन्त्रीहरु नियुक्त हुनु पनि सुधारको एक कदम मान्न सकिन्छ । जेन–जीको माग पनि यही हो ।

देशमा भौतिक क्षति धेरै नै भएको छ । क्षतिलाई सरकारी आर्थिक संशाधनले मात्र पुनःनिर्माण गर्न सम्भव नहुन सक्छ । ऋण लिएर पुनःनिर्माण गर्नु देशलाई आर्थिक भार थपिनु मात्र हो । धरानका मेयर हर्क साङपाङको जनश्रमदान तथा श्रमसंस्कृति शैली अपनाउनु उपयुक्त हुन्छ । यसका लागि सरकारले जनसाधारण र जेन–जीहरुलाई आव्हान गर्नुपर्दछ । दाताहरुलाई आर्थिक तथा भौतिक सहयोगका लागि आव्हान गर्नुपर्दछ । भ्रष्टाचार भएका पैसा खोजेर पुनःनिर्माणमा लगाउनु पर्दछ ।

जसरी हिरोसिमा र नागासाकी त्यहीँका जनताले पुनःनिर्माण गरी आजको विकसित अवस्थामा ल्याइपुर्याए त्यसरी नै हाम्रा जलेका संरचनाहरु बनाउनु पर्दछ । पुनःनिर्माण गर्नुपर्दछ ।
सूचना प्रविधि, सामाजिक सञ्जाल तथा एआइको आजको जमानामा विश्वपरिवेश राम्ररी बुझेका, विश्वको विकास देखेका जेन–जीको सोच क्षमता, सिकाइ क्षमता, कार्य क्षमता र मागलाई तुरुन्तै आत्मसात गर्दै योजनाहरु बनाई अगाडि बढ्नु पर्दछ । आशा गरौँ जेन–जीको माग या आकांक्षा चाँडै पुरा होस्, यसैमा सबैको भलाइ छ ।

तर, बिगतको जस्तो भ्रष्टाचारको दलदलमा देश फस्नु हुन्न । भ्रष्टाचारीहरुलाई कानूनी कारबाही गरिनु पर्दछ । सरकार तथा विभिन्न पदमा रहनेहरुले मोजमस्तीको शैली त्यागेर आचरण सुधारेर देश विकासमा होमिनुपर्दछ । नयाँ तथा विकसित युगमा नेपाल पदार्पण गर्नुपर्दछ । अब देश विकासका लागि जुरुक्कै उठ्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here