
प्रिय जेनजी पुस्ताका मेरा छोराछोरी एवम् भाइबहिनीहरू,
तपाईहरूले नेपालको इतिहासमा सुनौलो अध्याय कोरिदिनुभएको छ । यसको निमित्त पुरानो पुस्ताको तर्फबाट तपाईहरूलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । आन्दोलनका क्रममा प्रत्यक्ष र परक्षरुपमा सहादत प्राप्त गरेका सम्पूर्ण नेपालीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् शोकमग्न परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
प्रिय नानीबाबुहरू, २०८२ सालको भदौ २३ र २४ गते कसैले नसोचेको एउटा युग हाम्रो अगाडि देखाप¥यो । त्यो युग तपाईहरू मार्फत नेपालले पाएको छ । पाएसम्म जाने बुझेसम्मका सूचनाहरूको आधारमा विश्लेषण गर्ने हो भने तपाईहरुले तपाईहरुकै भाषामा करप्सन तथा नेपोटिजमको बिरुद्धमा सडकमा उत्रिएर लोकतान्त्रिक ढङ्गबाट आफ्नो उपस्थिति देखाउने जमर्को गर्नुभएको थियो । तपाईहरूको एन्टी करप्सन मुभमेन्टलाई म लगायत नजिकबाट हेरिरहनेहरूले मज्जाले समर्थन गरेका थियौं । किनकि यो आवाज संगठित रूपमा उठाउने युवा जमातको कमी देखिएको थियो ।
युवाहरूको ठूलो संख्या देशभित्र नहुनु त्यो भन्दा माथिल्लो पुस्ता कुनै पेशा व्यवसाय या सरकारी नोकरीमा रहेकाहरू हत्तपत्त संगठित भएर बाहिर आउन नसक्नुको कारणले सत्तासीनदलहरू मनपरी तन्त्रमा परिणत भइसकेका थिए । तिनै दलबाट बनेको सरकार अझ क्रुर तानाशाही भएको एवम् भ्रष्टचारमा लिप्त थियो । तिनीहरूका बिरुद्धमा सम्बन्धित दलभित्रका सही र जुझारु युवाहरूको आवाज दबाइएको थियो । उनीहरूले समेत आशातित विद्रोह गरिरहन सकेका थिएनन् । पार्टीको पहिलो र दोस्रो पुस्ता भ्रष्टाचार गर्थे र गर्नेलाई नै संरक्षण गर्दथे ।
आमनेपाली जनता यो देखेर पनि मौन थिए । विद्रोहका स–साना ज्वारभाटा राज्यले बारम्बार दबाउने गर्दथ्यो । पछिल्लो समयमा स्वतन्त्र रूपले प्रयोग गरेर आफ्ना भावनाहरू व्यक्त गर्न सक्ने सामाजिक सञ्जालहरू अंकुश लाउने हेतुले अनेकौं बहाना बनाई सरकारले प्रतिबन्ध लगाउँदै गइरहेको थियो । यस्तो कदमले तपाईहरूलाई थप आक्रमक बन्न प्रेरित ग¥यो । तपाईहरुले अगाडि सारेको भ्रष्टाचार विरोधी आन्दोलनमा सरिक हुन नपाउने स्थिति पैदा भइरहेको थियो । युवाहरूका मनमस्तिष्कलाई एकत्रित गर्ने एउटै मात्र प्लेटफर्म सामाजिक सञ्जाल बनिसकेको थियो ।
अघिल्लो दिन आममानिसले समेत नसोचेका संख्यामा तमाम विद्यार्थीहरू देशका प्रत्येक सहरमा उपस्थित भएर भ्रष्टाचार विरोधी जुलुसमा संलग्न भए । मैरा कयौं विद्यार्थीहरु आफ्नो पोशाक र ब्याग बोकेर झापाका सडकमा निस्केका थिए । उनीहरु राजधानी लगायत देशका सबैजसो पालिका र केन्द्रहरू अगाडि भव्य जुलुस प्रदर्शन गरिरहेका देखिन्थे । निश्चय नै युवा जोश जाँगर र उमङ्ग अद्वितीय थियो । धर्ना, नारा जुलुस, बन्द तथा सामुहिक उपस्थिति लोकतन्त्रका मर्मभित्रै पर्दथे । यस क्रममा धेरै ठाउँमा निषेधित क्षेत्रभित्र तन्नेरीहरूको बाक्लो उपस्थिति बन्न पुग्यो ।
यस्तो परिप्रेक्षमा प्रहरी प्रशासनबाट अन्धाधुन्द ताकी ताकी गोली प्रहार गर्ने कार्य गराइयो । यो जति नै निन्दा गरे पनि कम हुने कदम थियो । यसले युवा वर्ग मात्र होइन आमनेपाली नागरिकलाई उत्तेजित बनायो । हत्याको यो खबर तुरुन्तै देशका कुना–कुनामा पुगिहाल्यो । सामाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवा गरियो । जेन्जीको माग त्यो मात्र थिएन । करप्सन र नेपोटिजम सहनै नसक्ने अवस्थामा थिए । यसलाई घुँडा टेकाउनै पर्ने थियो । अब यो माग एउटा पुस्ताभन्दा बाहिर निस्केर आमनेपालीको मागको रुपमा परिणत भइसकेको थियो ।
भोलिपल्टको तपाईहरूको जुलुसभित्र विभिन्न स्वार्थ समूहहरूले घुसपैठ गरिदिए । त्यसपछि यो तोडफोड आगजनीमा परिणत भयो । देशका एकदम नै ऐतिहासिक भवनहरू, राष्ट्रिय महत्वका सम्पदाहरू, सर्वोच्च अदालत, नेपाल राष्ट्र बैंक, सिंहदरबार जस्ता सम्पदाहरू जलाइयो । विभिन्न व्यापारिक केन्द्रहरू माथि समेत आगजनी गरियो । हजारौंले रोजगारी गुमाए । अमूक पार्टीका स्थानीय नेताका निजी घरहरू समेत निशानामा परे । आज यो पत्र लेख्दासम्म यो आन्दोलनको क्रममा मृत्यु हुनेहरूको संख्या ७२ पुगिसकेको छ । अब आगामी यात्रा सहज बनाउनु आवश्यक हुन्छ । अबको नेपालको नेतृत्त्व तपाईहरूले नै गर्नु पर्दछ । अब हुने निर्वाचनमा दलको निर्माण गरेर या अग्रगामी चिन्तन बोकेका दलसँग चुनावी तालमेल गरेर आउनुभयो भने तपाईहरुले आशातित परिणाम प्राप्त गर्नुहुनेछ ।
तपाईहरूको पुस्ताको ठूलो समूह यो धर्तीमा आउनु ठिक अघि देशले दश वर्षे गृहयुद्धको सामना गर्नुप¥यो । त्यो विद्रोहले अरबौंको भौतिक क्षति ग¥यो । १७ हजार मानिस मारिए र हजारौं बेपत्ता नै छन् । त्यसपछि विभिन्न जातीय मुद्दा बोकेका समुहका बन्द, हड्तालले देशको अर्थतन्त्र ठप्प पा¥यो । सबैलाई मिलाउने, अटाउने हिसावमा दुई पटकको संविधानसभाको निर्वाचन पछिको ठूलो प्रयासले देशले संविधान पायो । तर, कसैले नसोचेको र नखोजेको कतिपय कुराहरूले त्यहाँ प्रवेश पाए । यस्ता कुरा कसले र किन अनि कुन कुनाबाट छिराउन सक्छन् भन्ने कुरामा धेरै सचेत हुनुपर्ने रहेछ । यसपटक संविधान नै खारेज भएर मुलुक क्रिडाभूमिमा पर्नबाट जोगाउन तपाईहरूको प्रयास प्रशंसनीय छ ।
लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र नै हो । यो संसारको उत्कृष्ठ व्यवस्थाको नेपाललाई अब बदनाम गर्न छुट दिन हुन्न । अन्तरिम सरकार पछिको निर्वाचित सरकारको नेतृत्व तपाईहरूले नै गर्ने गरीको योजना बनाएर अभियान थाल्नुहोला । तपाईहरुलाई थाहा नै छ तपाईहरुकै पुस्ताका व्यक्तिले धेरै देशमा नेतृत्व लिएर देखिने गरीको कार्य सम्पादन गरेका छन् । त्यसको लागि अहिलेको संविधानमा परिमार्जन या संशोधन गरिनु पर्दछ । अहिलेको निर्वाचन प्रणालीले कुनै दलले प्रस्ट बहुमत नल्याउने अवस्था छ ।
सभासद्को संख्या अत्यधिक छ, प्रदेश अर्थहीन देखिन थालेको छ, संघीय संरचना अनुसारका अनेकन कानूनहरूको निर्माण भएकै छैनन् । सत्ता मोहमा अलमलिएका बा पुस्ता र तिनलाई उक्साउने अटेरी दोस्रो पुस्ताले संविधानमै व्यवस्था भएको समयमा यो काम सम्पन्न गर्न सकेनन् । अब कसैलाई दोष लगाएर भन्दा पनि समन्वय गरेर अगाडि बढ्नु आवश्यक छ ।
आजको प्रमुख रोग भ्रष्टाचार हो । यसैको बिरुद्धमा आवाज उठाउँदा यो परिवर्तन आएको छ । तेरा–मेरा मान्छे नभनीकन ‘राइट मेन इन राइट प्लेस’को सिद्धान्तमा टेकेर काम गर्नु होला ।
आवश्यक कानूनहरू निर्माण, भ्रष्टाचारीहरु प्रति शून्य सहनशीलता र निर्मम कारवाही, जवाफदेही, रेड टेपिजम मुक्त निजामती प्रशासनको व्यवस्था, पेशावादीहरुलाई राजनीतिमा भाग लिन नपाउने व्यवस्था, राजनीति मुक्त न्याय प्रशासन, विज्ञान प्रविधि तथा नवप्रवद्र्धनको उच्चतम प्रयोग आदिको क्षेत्रमा तुरुन्त काम शुरु गर्नुपर्छ । आन्दोलनमा मारिएका परिवारको क्षतिपूर्ति, घाइतेको औषधि उपचार, क्षतिग्रस्त भवनहरूको पुनर्निर्माण तत्काल गर्नुपर्ने कामहरू छन् ।
अबका दिनमा भ्रष्टाचारलाई नियन्त्रण गरेर एकजुट भएर काम गर्न सक्नुभयो भने दशदेखि पन्ध्र वर्षभित्र दक्षिण एसियाको उत्कृष्ट, बस्न लायकको देशको रुपमा हामीले हाम्रो देशलाई देख्न पाउनेछौं । आमनेपालीको चाहना नै यही छ कि हाम्रा आगामी पुस्ताले सामान्य रोजगारीको निमित्त विदेशमा गएर लास बनि बाकसमा फर्कनु नपरोस् । सबैको जय होस्, सबैको भलो होस् ।
– उही तपाई माथिको पुस्ताको एक स्वतन्त्र नागरिक ।


























